पितृ पक्षसम्बन्धी १० महत्त्वपूर्ण कुरा

हिन्दूहरूको प्रमुख १० नियमहरूमध्ये एक हो श्राद्ध गर्नु । यी १० नियम हुन्– ईश्वर प्रणिधान, सन्ध्या वन्दन, श्रावण महिनाको व्रत, तीर्थ, दान, मकर संक्रान्ति–कुम्भ पर्व, पञ्च यज्ञ, सेवा कार्य, १६ संस्कार र धर्म प्रचार । श्राद्ध पर्व भाद्र महिनाको पूर्णिमादेखि सुरु भएर आश्विन महिनाको औंसीसम्म जम्मा १६ दिन रहन्छ । यो अवधिलाई पितृपक्ष भनिन्छ ।

१. श्राद्धको उल्लेख – श्राद्धको महिमा एवं विधिको वर्णन ब्रह्म, गरुड, विष्णु, वायु, वराह, मत्स्य, मार्कण्डेय आदि पुराणहरू तथा कठोपनिषद, महाभारत, मनुस्मृति आदि शास्त्रहरूमा गरिएको पाइन्छ । वेदमा बताइएको पाँच यज्ञमध्ये एक पितृयज्ञ नै श्राद्ध हो ।

२. गीता पाठ – श्राद्धका दिन भगवद्गीताको सातौं अध्यायको महात्म्य पढेर पूरै अध्यायको पाठ गर्नुपर्छ र त्यसको फल मृतात्माप्रति अर्पण गर्नुपर्छ । यसका अतिरिक्त नियमित मार्कण्डेय पुराणअन्तर्गतको ‘पितृ स्तुति’ पाठ गर्ने वा गजेन्द्र मोक्षको पाठ गर्नाले पितृ प्रसन्न एवं तृप्त भएर आफ्नो आशीर्वाद प्रदान गर्दछन् ।

३. पितृदेव अर्यमा – श्राद्धका दौरान पितृलोकका चार देवता कव्यवाडनल, सोम, अर्यमा र यमको आह्वान गरिन्छ । यीमध्ये अर्यमा पितृहरूका अधिपति हुन् । गीतामा भगवान् कृष्णले भनेका छन्– ‘म पितृहरूमा प्रधान अर्यमा हुँ ।’

४. दिव्य पितर – अग्निष्वात्त, बर्हिषद, आज्यप, सोमपा, रश्मिप, उपदूत, आयान्तुन, श्राद्धभुक एवं नान्दीमुख यी नौलाई दिव्य पितर बताइएको छ । दिव्य पितृहरू ब्रह्माका पुत्र मनुबाट उत्पन्न भएका ऋषि हुन् ।

५.श्राद्धको समय – श्राद्ध गर्ने समयलाई कुतप काल भनिएको छ । यो समय हो – मध्याह्न १२ बाट ३ बजेका बीच । बिहान र बेलुकाको समय श्राद्धका लागि निषेध गरिएको छ । सुनिश्चित कुतप कालमा धूप, तर्पण एवं पिण्ड दानादि कर्म गरेर पितृहरूलाई खुसी पार्न सकिन्छ ।

६.श्राद्ध भोजन – श्राद्धको भोजन ४ जीवलाई खुवाइन्छ– ब्राह्मण, गाई, कुकुर र काग । श्राद्धको भोजनमा बेसनको प्रयोग वर्जित छ । सूतक परेको छ भने ब्राह्मण भोजन गराउनु हुँदैन, गाईलाई रोटी खुवाउनु पर्छ ।

७. श्राद्ध र तर्पण – पितृहरूका लागि गरिने मुक्ति कर्मलाई श्राद्ध र जौ, तिल, अक्षता र कुश मिश्रित जल अर्पण गर्ने क्रियालाई तर्पण भनिन्छ । तर्पणपछि पिण्डदान गरिन्छ । श्राद्ध १२ प्रकारका छन्– नित्य, नैमित्तिक, काम्य, वृद्धि, पार्वण, सपिण्डी, गोष्ठ, शुद्धि, कर्मांग, दैविक, यात्रा एवं पुष्टि । त्यसैगरी तर्पण ६ प्रकारका छन्– देव तर्पण, ऋषित र्पण, दिव्य मानव तर्पण, दिव्य पितृ तर्पण, यम तर्पण र मनुष्य पितृ तर्पण ।

८. श्राद्धमा वर्जित – पितृ पक्षमा व्यसन एवं मांसाहार पूरै वर्जित मानिएको छ । पूर्ण रूपले पवित्र रहेर मात्र श्राद्ध गरिन्छ । पितृ पक्षमा शुभ कर्म वर्जित मानिएको छ । श्राद्धमा फलाम र स्टिलका भाँडाकुँडाको प्रयोग पनि पूर्णतः वर्जित छ ।

९. आमान्न (सिदा) दान – श्राद्धमा भोजन गराउन असमर्थ मानिसले आमान्न दान गर्नसक्छन् । आमान्न दानमा अन्न, घिउ, सख्खर, नुन, काँचा तरकारी, फलफूल आदि भोजनमा प्रयोग हुने वस्तुहरू इच्छाअनुसार मात्रामा प्रदान गरिन्छ ।

१०. पितृदोष शान्ति – उचित विधिपूर्वक श्राद्ध गर्नाले पितृदोष निवारण हुन्छ । पितृदोश शान्त भएपछि स्वास्थ्य बाधा, पारिवारिक बाधा एवं अर्थ बाधा हट्छन् । अतः निष्ठा एवं नियमपूर्वक शास्त्रले बताएअनुसार श्राद्ध गर्नुपर्छ ।