रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेबिरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ ।  उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो । 

उम्मेदवार लामिछानेको बिरुद्ध राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । सो उजुरीपछि कानूनी व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको पनि उनले बताए ।  
 
उनले भने, ‘अहिलेसम्म निर्वाचन विवाद निरुपण सम्बन्धमा ६ वटा उजुरीहरु प्राप्त भएका छन् । त्यसमा दुईवटा फस्र्यौट भइसकेका छन् । जसमध्ये संगीता बटाजूले प्रतिनिधि सभा सदस्य ललितपुर ३ की उम्मेदवार तोषिमा कार्की अयोग्य हुनुहुन्छ भनेर उजुरी गर्नुभयो । त्यो आयोगबाट फस्र्यौट भएर निर्णय भइसकेको छ र त्यो सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्था छ । पुष्कर अधिकारीले प्रतिनिधि सभा सदस्य दोलखाका उम्मेदवार बालकृष्ण शिवाकोटी अयोग्य भएको कारणले उहाँको उम्मेदवारी खारेज गरी पाउँ भनेर निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्नुभयो, त्यसमा पनि आयोगले फस्र्यौट गरिसकेको अवस्था छ । उहाँको उम्मेदवारी कायम रहनेगरी आयोगले निर्णय गरेको छ । आज पनि राजकुमार पाण्डेले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनका उम्मेदवार रवि लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम नरहने हुँदा उहाँले त्यो नागरिकता त्याग्नुभएको छैन । उहाँको उम्मेदवारी खारेज गरीपाउँ भनेर उजुरी प्राप्त भएकोमा हामीले कानूनी व्यवस्था अनुसार उक्त उजुरीमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेका छौँ । त्यसपछि उहाँले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा आइसकेपछि थप प्रक्रिया अघि बढ्छ ।’

उपन्यायाधिवक्ता वाग्लेले आचारसंहीता उल्लंघनका उजुरीमा मुलतः मतदातालाई आर्थिक प्रलोभन देखाएको, स्थानीय तहका निर्वाचित कार्यपालिकाका पदाधिकारीहरुले आफ्नो कार्यपालिका भित्र प्रचारप्रसार गरेको उजुरी धेरै आएको बताए । त्यस्तै सरकारी कर्मचारीहरु राजनीतिक दलको प्रचारप्रसारमा सहभागी बनेको, आचारसंहीता विपरितका सामग्री प्रयोग गरेर प्रचारप्रसार गरेको उजुरीहरु पनि धेरै आएको छ । 
 
आचारसंहीता लागू गरेपछि आयोगमा हालसम्म निर्वाचन आचारसंहीता उल्लंघनका १२१ वटा उजुरी परेका छन् । जसमध्ये ११ वटा उजुरी फस्र्यौट भइसकेका छन् भने ११० वटा उजुरी फस्र्यौट गर्न बाँकी रहेका छन् । 

Logo