निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा

निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा


सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ ।  

गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रवन्ध मिलाइएको जनाएको हो । बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै गृह सचिव विनोदप्रकाश सिंहले भयरहीत वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे ।
 
गृहसचिव सिंहले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रवन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरु निर्वाचन केन्द्रमा पुगिसकेको बताए । 

उनले भने, ‘सबै क्षेत्रबाट सुरक्षाको प्रत्याभुति गर्न सकिने स्थिति रहेको छ । निर्धक्क भएर मतदान गर्नसक्ने वातावरण तयार भएको देखिन्छ । हामीसँग १० हजार ८ सय ९२ वटा मतदान स्थलहरु रहेका छन् । त्यसमा २२ हजार २ सय २७ वटा मतदान केन्द्रहरु रहेका छन् । हामीले हरेक मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी सुरक्षा प्रयोजनलाई वर्गीकरण गरेका छौँ । तदनुरुप नै सुरक्षाकर्मीहरु सम्पूर्ण मतदान स्थलहरुमा र मतदान केन्द्रहरुमा सुरक्षाका लागि खटिसकेका छन् । निर्वाचनको दिन र निर्वाचन भन्दा अघिको मौन अवधिमा पनि सम्पूर्ण रुपमा सुरक्षा प्रवन्धहरु गरेका छौँ । त्यसले आसन्न निर्वाचनमा भयरहीत र शातिन्पूर्ण निर्वाचन गराउन सक्षम हुनेछाैं । भयरहीत वातावरणमा मतदाताले मतदान गर्न पाउने कुरा सुनिश्चित गरिएकाले निर्धक्क भइ मताधिकारको प्रयोग गर्न आग्रह गर्दछु ।’

Logo