बलात्कार रोक्न बालबालिकालाई शिक्षित बनाउनुपर्छः भावना राउत

काठमाडौं । हाम्रो समाजमा बलात्कार, एसिड आक्रमण, यौन दुव्यर्वहारजस्ता घटना दिनप्रति बढ्दो क्रममा छ । यस्ता घटनामा सिकार हुनेमा बालिकाहरू बढी छन् । यसले नेपाल बालिकाहरूका लागि असुरक्षित बन्दै त छैन भन्ने अहं प्रश्न उठान गरेको छ भने यस्ता घटनाका बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने माग पनि उठिरहेको छ । यो त भयो बलात्कारजन्य घटनापछि चालिने कदमहरू । घटना हुनुभन्दा पहिला नै जनचेतना फैलाउनु पनि महत्वपूर्ण काम हो । जुन न्यून मात्रामा भएको छ ।

धेरैको जोड अपराधीलाई कडाभन्दा कडा सजाय होस् भन्नेतिर गएको पाइन्छ । तर, घटना नै हुन नदिने वातावरण बनाउनतर्फ भने कमैको मात्र ध्यान गएको देखिन्छ । बलात्कार, एसिड आक्रमण तथा यौन दुव्यर्वहार हुनुपुर्व नै जनचेतना फैलाउने उद्देश्यले सक्रिय संस्था हो ‘निर्मलाहरू बचाऊ’ अभियान । यो अभियानले घटनापछि कारवाही हुनुपर्छ भन्ने माग राख्दैन । यसले घटना हुनै नदिन जनचेतना फैलाउने काम गर्छ । यस अभियानका अभियन्ता हुन्, अभिनेत्री ऋचा शर्मा र अभियानकर्मी भावना राउत ।

अभियानअन्तर्गत बाल यौन दुराचार र यौनहिंसा भनेको के हो भन्ने विषयमा बालबालिकाहरूसम्म पुगेर चेतना फैलाइन्छ । यो अभियान के हो ? यसबाट के कस्ता कार्यहरू भइरहेका छन् ? र किन यो अभियानको आवश्यकता पर्‍यो ? भन्नेजस्ता विषयमा अभियानकर्मी भावना राउतसँग केन्द्रबिन्दुकर्मी कृष्णसिंह धामीले कुराकानी गरेका छन्:

‘निर्मलाहरू बचाऊ’ अभियान के हो ?

हामीले जहिले पनि रेप भएपछि नाराबाजी गर्ने, अपराधीलाई कारवाही गर भन्दै विरोध प्रदर्शन गर्ने गरेका छौं । तर रेप नै हुन नदिन केही गर्न सकिन्छ कि भन्ने सोच आयो । रेप मात्र हाम्रो विषय होइन, यसमा यौन हिंसा, बालिकामाथि हुने गरेका यौनहिंसा लगायतका विषय हुन्छन् । मैले व्यक्तिगत रूपमा यो अभियान सुरुवात गर्नुको पछाडि एउटा गतिलो कारण छ ।

हाम्रै गाउँकी एक बहिनी सामूहिक बलात्कारको शिकार भइन् । बलात्कार गर्नेहरूमध्ये एकजना भाइ सानै थियो । त्यो पनि मेरै गाउँको । त्यो भाइलाई सुधार केन्द्रमा राखिएको थियो । भेट्न जाँदा ऊ मलाई मज्जाले हग गरेर रोयो । उसले ‘यस्तो गर्‍यो भने कानुनी कारवाही हुन्छ भन्ने मलाई थाहा नै थिएन दिदी’ भन्यो । २० वर्ष पूरा गरेका अन्य तीन जनाको लहैलहैमा लागेर ऊ घटनामा सामेल भएको रहेछ ।

त्यो बेला मलाई के लाग्यो भने हाम्रो एजुकेशन सिस्टम, समाज र स्वयं मेरो पनि हात छ जस्तो लाग्यो । यस्तो गर्नुहुन्न, यो क्राइम हो भनेर सिकाइएको पनि छैन । यो सही हो, यो गलत हो भनेर सिकाइएको छैन भन्ने फिल भयो । यस्ता घटनामा ससाना बालबच्चाहरू पर्न थालेपछि मेरो मनमा अबचाहिँ केही गर्नुपर्छ भन्ने भयो र यो अभियानको थालनी गर्‍यौं ।

यो अभियानका लागि तपाईंहरूले स्कूल मात्र किन रोज्नुभयो ?

यौन हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता जघन्य अपराधमा कारवाहीभन्दा पहिला जनचेतना फैलाउनुपर्ने हुन्छ । यस्तो कार्य भने कतैबाट पनि भएको पाइँदैन । अब यो जनचेतना कहाँ र कसरी फैलाउने भन्दा हामीले सबैभन्दा पहिला ससाना बालबालिकाबाट सुरु गर्नुपर्छ भन्ने भयो । र त्यसका लागि स्कूल नै उपयुक्त थलो हुन्छ भन्ने ठहर भयो । त्यही बीचमा नायिका ऋचा शर्मासँग भेट भयो । उहाँले पनि ल हुन्छ गरौं न त भन्नुभयो । अनि हामीले सहकार्य गर्‍यौँ ।

यो अभियानमा के के हुन्छ र के के सिकाइन्छ ?

हाम्रो एजुकेशन सिस्टम नै फेर्नुपर्ने हुन्छ । किताबमा भएको सामान्य कुरा पनि पढाउन नमान्ने र यो त तिमीहरूले आफैं घरमा पढ्नु भन्ने शिक्षकका कारण पनि समस्या छ । अनि विद्यार्थीहरूलाई गुड टच, ब्याड टचका बारेमा पनि जानकारी दिइँदैन ।
मलाई कसैले सानोमा गलत तरिकाले छोएको थियो भने त्यो ठूलो र बुझ्ने भएपछि मात्र रियलाइज गरिन्छ । सानोमा त्यो ब्याड टच हो भनेर कसैले भनिदिएकै थिएन । मैले पनि यो कुरा ठूलो भएपछि मात्र थाहा पाएँ ।

यो अभियानमा घटनापूर्वको मात्र कुराहरू सिकाइन्छ कि घटनापछि कारवाहीको लागि पनि आवाज उठाइन्छ ?

सबैभन्दा पहिला घटनापूर्व नै समाधान हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । घटना नै भएन भने केको आवाज उठाउने ? त्यसैले हामी घटनापछि कारवाहीको आवाज उठाउनुभन्दा पहिला घटना नै हुन नदिनेतर्फ केन्द्रित भएका हौँ । घटनापछि कारवाही हुनुपर्छ भनेर आवाज उठाउन त थुप्रै संघ–संस्थाहरू क्रियाशली छन् ।

घटनापूर्वको चरणमा नै अर्थात् रेप, यौनहिंसाजस्ता गलत कुरा हुनै नदिन के गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान छ । यसमा हामीले सडक नाटकहरू गर्ने, घटनाका बारेमा जानकारी गराउने, यस्तो कार्य गरेमा के हुन्छ ? भनेर जानकारी दिनेजस्ता चेतनामूलक कार्यक्रम गर्छौं ।

स्कूलमा गएर के–के गर्नुहुन्छ ?

स्कूलका बालबालिकालाई सचेतनाका लागि पाठ्यक्रम नै विकास गरेका छौं । जसमा १ देखि ३ कक्षासम्मका बच्चाहरूलाई सामान्य जानकारी दिन्छौं । धेरै सेक्सुअल कुराहरू गर्दा उनीहरूमा समस्या पर्न सक्नेतर्फ सचेत हुँदै त्यस्तै खालको पाठ्यक्रमको विकास गरिएको छ । उनीहरूलाई गुड टच भनेको के हो ? ब्याड टच भनेको के हो ? कसैले यस्तो गरेमा के गर्ने भन्ने कुराहरू सिकाइन्छ । कसैले ब्याड टच ग¥यो भने ‘नो’ भनेर भाग्नुपर्छ भनेर सिकाइन्छ ।

४ देखि ६ कक्षासम्मका विद्यार्थीहरूलाई बाल यौन दुव्र्यवहार भनेको के हो ? यौन दुव्यर्वहार भनेको के हो ? भन्ने सिकाइन्छ । अनि केटाहरूलाई किन यस्तो गर्नुहुँदैन ? भन्नेबारे नैतिक शिक्षा पनि दिने गरेका छौं । ८ कक्षादेखि १० कक्षाका विद्यार्थीहरूलाई यसका साथै संविधान नै पढाइरहेका छौं । तिम्रो मौलिक अधिकार यो हो, योभन्दा बाहिर गएमा यस्तो कारवाही हुनसक्छ, तिमिले पाउनुपर्ने अधिकारी यो हो, तिम्रो कर्तव्य यो हो भन्ने कुरा सिकाउँछौँ ।

विद्यार्थीहरूलाई कानुन सिकाउँदा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

पहिला संविधान भनेको देशको मूल कानुन हो भनेर मात्र सिकाइन्थ्यो । अहिले उनीहरूलाई फन्डामेन्टल राइट सिकाउँदा रिस्पोन्सबिलिटी बढेको छ । आफ्नो हक प्रयोग गर्दा अरूको हक हनन गर्नुहुदैन भन्ने जानकारी दिँदा केही परिवर्तन त भइरहेको छ । अहिलेको शिक्षा स्लो पोइजनजस्तो लाग्छ । महिलाहरूका लागि यो शिक्षाले शिक्षा दिन सक्दैन ।

हाम्रो अभियानले पूरै परिवर्तन नभए पनि उनीहरू खुल्न थालेका छन् । आफूलाई के समस्या भइरहेको छ ? त्यसको कसरी प्रतिवाद गर्ने ? जस्ता विषयमा केही सतर्क भएका त छन् तर एकैचोटि सबै कुरा पूरा हुँदैन ।

एकजना सानी बच्चीले आफूले भोगेको समस्या खुलेरै भनिन् । ‘एउटा दाइ छ उहाँले नराम्रो तरिकाले मलाई छुनुहुन्छ ।’ भनेर उनी बोल्नसक्ने भएकी छन् । जुन हाम्रो लागि ठूलो कुरा हो ।

एजुकेशन सिस्टम चेन्ज गर्नुपर्छ भन्नुभयो त्यसको कुन पार्ट चेन्ज गर्ने भन्नुभएको हो र ?

विद्यालय शिक्षाको पाठ्यक्रममा यससम्बन्धी शिक्षा दिने कुनै पनि विषय नै समावेश छैन । हाम्रो माग नैतिक शिक्षामा यस्ता विषयहरू समेटिनुपर्छ भन्ने हो । गुड टच, ब्याड टचका बारेमा सिकाउनु, पाठ्यक्रममा राखिनु ठूलो कुरा होइन । शिक्षा नीतिमा यस्तो कुरा समावेश गर्नु सामान्य हो । तर राज्यले यसलाई किन गर्न सकिरहेको छैन ?

आज नो भन्न नसक्ने बच्चाले भोलि गएर भोग्नुपर्ने घरेलु हिंसालाई पनि नियन्त्रण गर्न मद्दत पुग्छ । सरकारी स्कूलहरूमा पढाउनुपर्ने कुराहरू पनि पढाइँदैन । स्वास्थ्य सम्बन्धीका चित्रहरू समेत नपढाएर ‘ल कितावमा छ, त्यो घरमा गएर हेर है’ भन्ने परिपाटी छ । जबसम्म यस्ता कुरा बुझाएर, हिंसाको स्वरूप बुझाएर त्यसको प्रतिवाद गर्नुपर्छ भनेर सिकाइँदेन तबसम्म यसको समाधान हुँदैन ।
रेपको सन्दर्भमा धेरै केसमा सुरुमा के छ भनेर जिस्काउँदै सुरु हुन्छ । त्यहाँ नै स्टप गर्न सक्यो वा नो भन्न सक्यो भने धेरै निर्मलाहरू बच्न सक्छन् ।

एस र नो भन्दा नै बलात्कारजस्ता घटना रोकिन सक्छन र ?

सबै त रोकिन सक्दैन । हामीले केटीहरूको क्षेत्रबाट मात्र काम गरिरहेका छैनौं । केटाहरूलाई पनि विभिन्न तरिकाले जनचेतना फैलाउने काम गरिरहेका छौं । केटाहरूमा एक खालको इगो हुन्छ । किशोर उमेरका केटाहरू आफूलाई संसारकै सर्वश्रेष्ठ ठान्छन् । त्यो उमेरको प्रभाव हो । उनीहरूको त्यो मेन्टालिटी नै चेन्ज गर्न हामी काम गर्छौं ।

बलात्कारी मनसाय छ भने त्यो कहिल्यै पनि चेन्ज गर्न सकिदैन तर इगोलाई भने कम गर्न सकिन्छ । कसैले नो भनेमा त्यस्तो गर्नुहुन्न भन्ने केटाहरूलाई सिकाइन्छ ।

जस्तैः मुस्कान खातुनको केसमा एसिड प्रहार गर्ने केटालाई त्यस्तो गर्नुहुन्न भन्ने सिकाइएको भए त्यो घटना नहुन पनि सक्थ्यो । त्यो केटालाई एसिड प्रहार गर्दा मुस्कानको जीवनमा कस्तो होला भन्ने चेतनाको विकास गराउन सकिएको भए केही फरक त अवश्य पथ्र्यो । यस्ता घटनालाई पूरै नियन्त्रण त गर्न सकिँदैन तर ४० प्रतिशत मात्रै पनि कम गर्न सकियो भने त्यो धेरै ठूलो उपलब्धि हो ।

यस विषयमा केही अनुभव छन् ?

पक्कै । एकदिन म पोखराको लेकसाइडमा थिएँ । दुई तीनजना केटी साथीहरू थियौं । एकजना आएर जिस्काउन थाल्यो । अन्य साथीहरू त ह्या छोडिदिऊँ जेसुकै गरून् भन्न थाले । जिस्क्याउन नछाडेपछि मैले फर्किएर हेरेँ । उसले ‘जाने हो’ भन्यो अनि मैले ‘अँ, जाने हो पुलिसकोमा जान्छस् भन्दा ऊ बाइक कुदाएर गयो ।’ त्यो दिन हामी चुप लागेर बसेका थियौं भने केही ठूलो घटना घट्न सक्थ्यो । केटीहरूको जुन मौनता छ नि त्यो ठूलो कमजोरी हो ।

यस्ता घटनामा सामाजिक संरचना कत्तिको जिम्मेवार हुन्छ ?

धेरै बलात्कारका घटना बाहिर आउँदैनन् । कति धेरै केसहरू गुम्सिएर पनि बसेका हुन्छन् । सामाजिक संरचनाले महिलालाई त्यस्तै बनाइदिएको छ । तिमीले यो समाजमा बस्दा धेरै कुरा गर्नुहुन्न । कुनै पुरुषसँग खुलेर कुरा गर्नुहुन्न भन्ने सिकाइन्छ । ओपन भएर कुरा गर्न घरबाटै प्रतिबन्ध लगाइएको हुन्छ । जसले गर्दा पनि महिलाहरू पीडित बनिरहेका हुन्छन् ।

अभियानको प्रभाव कतिको परेको छ ?

हामीले गरिरहेको कामको प्रतिफल देखा पर्न थालेको छ । हामीले जुन जुन ठाउँमा अभियान गरेका छौं, त्यहाँमा बालबालिकाहरू केही मात्रामा सतर्क देखिएका छन् । हामीले एकजना सानी नानीलाई नो भन्न सिकाएका थियौं । त्यसपछि उनले जुन कुरामा पनि नो भन्दिने रहिछन् । उनको बुबाले हामीलाई धन्यवाद दिनुभयो । उहाँ कमसेकम मेरी छोरीले नो भन्न त सिकेकी छ भन्दै खुशी हुनुभएको थियो । यसरी नो भन्न, प्रतिवाद गर्न मात्र सिक्दा पनि ठूलो घटना हुनबाट जोगिन सकिन्छ ।

तथ्यांक हेर्दा यस्ता घटना सबैभन्दा बढी हुने क्षेत्र प्रदेश २ हो । ‘निर्मलाहरू बचाऊ’ अभियान प्रदेश ३ मा ?

प्रदेश ३ मा सयजना व्यक्तिले कुनै विल लिएर जान्छन् भने सदनमा त्यसको सम्बोधन हुन्छ । शिक्षा नीति त प्रदेशले चाहेको खण्डमा उसले पनि परिवर्तन गर्न सक्छ । एउटा प्रदेशमा नमुना स्कूलहरू स्थापना गर्न सक्यौं भने अन्य क्षेत्रमा पनि लागू गराउन सहज हुन्छ । ती नमुना स्कूलहरूका आधारमा सरकारलाई अन्य क्षेत्रमा लागू गराउन आग्रह गर्न सकिन्छ ।

प्रदेश सरकारलाई यसबारे आग्रह गर्न सहज हुन्छ । तर प्रदेश २ मा यो कुरा सजिलो छैन । सबैभन्दा बढी आवश्यकता भनेकै प्रदेश २ लाई हो तर त्यहाँ तत्काल सम्भव हुँदैन । प्रदेश ३ मा मात्र पनि यो कुरा स्थापित गराउन सकियो भने अन्य प्रदेशले पनि सिक्न सक्छन् ।

अभियानका लागि आर्थिक व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

अहिलेसम्म हामीलाई कार्यक्रम गर्न डिआईसीसीले सहयोग गर्दै आएको छ । १० दिनको वर्कसपको लागी डिआईसीसीले निःशुल्क तालिम दिएको थियो । त्यही तालिमको आधारमा स्वयंसेवीहरूले काम गर्दै आउनुभएको छ । स्थानीय तहले पनि सहयोग गरिरहेका छन् । साथीभाइहरूबाट पनि सहयोग भइरहेको छ ।

राष्ट्रप्रमुख महिला हुनुहुन्छ । राज्यका निर्णायक तहमा पनि महिलाहरू पुगेका छन् । तर पनि महिलामाथि हुने हिंसामा कमी आएको छैन त ?

राज्यका निर्णायक तहमा पुगेका महिलाहरूले काम गरिरहेको छ कि छैन भन्ने प्रमुख प्रश्न हो । राष्ट्रपति महिला त हुनुहुन्छ तर अहिलेसम्म महिलाका लागि कुन–कुन ठाउँमा बोल्नुभयो ? प्रश्न उठाउन सकिन्छ । अर्को कुरा, महिलाको लडाइँ महिलाले मात्रै लड्नु पर्छ भन्ने होइन । बलात्कारपछि छोरीको हत्या हुन्छ भने त्यसको पीडा आमालाई मात्र पक्कै हुँदैन, बुबालाई पनि त हुन्छ ।

त्यही भएर महिलाको हकअधिकारका बारेमा महिलाले मात्र बोल्नुपर्छ भन्ने सोच राख्नु एकदम गलत हो । हाम्रो अभियानमा थुप्रै पुरुष साथीहरूको सहयोग छ । हामीले काम गरिरहेको क्षेत्रमा पनि महिलाभन्दा पुरुषको बढी सहयोग छ । महिलाहरू घरको काममा बढी व्यस्त हुने भएकाले पुरुषले बढी सहयोग गरेका छन् । महिला उत्पीडनका कुराहरूमा महिलाले मात्र बोल्नुपर्छ भन्ने छैन ।