यी मानिस र ती कुकुर

एक वर्षीया बालिका बलात्कृत, ८० वर्षीया वृद्धा बलात्कृत, सामूहिक बलात्कारपछि हत्या, आफन्तबाटै बलात्कृत, परिवारै मिलेर हत्या, सपरिवारको हत्या, माया नगरेको भन्दै एसिड प्रहार, आफ्नै जीवनसाथीको हत्या, आफ्नै  अभिभावक–छोराछोरीको हत्या, गाडी ब्याक गरेर हत्या, झाँक्रीले रगत चुस्दा बिरामीको मृत्यु, बोक्सी भन्दै मलमुत्र खुवाइयो, कान्छी लिएर श्रीमान् बेपत्ता, सम्पत्ति कुम्ल्याएर अर्कैसँग सुइँकुच्चा, अपहरण गरी फिरौती, आफ्नै चेलिबेटी बेचबिखन आदि इत्यादि ।

न्यूज डेस्कमा हरेक दिन कुनै न कुनै रूपमा यस्ता मन नै क्षतविक्षत पार्ने खालका समाचारहरू आइरहन्छन् । कहिलेकाहीँ यस्ता समाचार र दृश्यहरू पनि आइपुग्छन् जसले कयौं दिनसम्म झस्काइरहन्छ । तारन्तर यस्ता समाचारहरू पढिरहनुपर्दा मानसिकतामै असर पर्दाे रहेछ । कहिलेकाहीँ त लाग्छ, यो समाचार सम्पादनको जिम्मेवारी नै पन्छाइदिऊँ । ता कि यस्ता समाचारहरू पढ्न नपरोस् ।

तर यहाँ छोडेर कहाँ जानु अपराध नहुने ठाउँ हुँदैन । पछिल्लो समय यहाँ मानवता हराउन थालेका छन् । मान्छेमा माया, दया, करुणा, सद्भाव, सहयोग, इमान्दारिता, सकारात्मक सोच, प्रेम, सत्यताभन्दा पनि लोभ, लालच, स्वार्थ, घमण्ड बढेको छ । परिणामतः समाजमा आपराधिक मनोवृत्ति हावी हुँदै गएको छ । जसले ‘इमोसनल ब्ल्याकमेल’ गरेर ठग्नेदेखि हत्यासम्मका घटनाहरूको ग्राफ बढ्दै गएको प्रहरीको तथ्यांकले देखाउँछ ।

सबैभन्दा सचेत प्राणी भएर पनि होला हामी सचेत तरिकाले नै एकले अर्काेलाई ढाँट्न, छल्न, ठग्न, दमन गर्न, शोषण गर्न, अन्याय अत्याचार गर्न सिपालु छौं ।

हरेक समाजमा केही न केहीको रूपमा यस्ता पात्रहरू जन्मिरहेका हुन्छन् । जसलाई समाजले न निल्न सक्छ, न थुक्न सक्छ । सिंगो समाजलाई मुठीमा पार्न अनेक त्रास देखाउनु यिनीहरूको धर्म नै हो ।

कुरा हाम्रो घरपरिवारबाटै शुरु गरौं । कतिपय परिवारमा सासूबुहारीबीचको सम्बन्ध, जेठानी देउरानीबीचको सम्बन्ध, दाजुभाइबीचको सम्बन्ध, नन्दभाउजू र आमाजूबीचको सम्बन्ध नै कुकुर-बिरालाका भन्दा खत्तम देखिन्छन् । छोराले बुहारीलाई नियन्त्रणमा राख्दा खुसी हुने सासूहरू ज्वाइँले आफ्नी छोरीलाई नियन्त्रणमा राखेको देख्न सक्दैनन्, विडम्बना । एउटी बुहारी कसैको छोरी हुन् भने एउटी छोरी कसैको बुहारी हुन् ।

एउटै दुध पिएर सँगै हुर्केका दाजुभाइबीच पैतृक सम्पत्तिकै कारण पानी बाराबारको अवस्था हुन्छ । टाठाबाठाले अरूलाई लोभलालचमा पारेर पैतृक सम्पत्ति आफ्नो नाममा राख्ने र वर्षाैसम्म अरू दाजुभाइलाई नदिने समस्या बग्रेल्ती भेटिन्छन् ।

कतिपय समाजमा दाजुभाइलाई पास गरिदिइसकेको जग्गा जमिनसमेत कमाउन नदिने, ‘जे गर्न सक्छस् गर्’ भन्दै दाजुभाइसँग नै दादागिरी गर्नेहरू पनि देखिन्छन् । अचेल धेरैतिर एउटै प्रकारको समस्या देखिएको छ । शुरुमा अंशबण्डा गर्दा अन्न बढी फल्ने जग्गा जमिन आफ्नो नाममा राख्ने र भीरपाखा बगर अरूलाई दिने । पछि त्यही भीरपाखा बगरको जग्गामा सडक पुगेपछि फेरि त्यही जग्गामा आँखा लगाउने । यस्तो स्वार्थ र संकुचित सोचले नै दाजुभाइबीच पानी बाराबारको अवस्था सिर्जना भएको देखिन्छ ।

विवाहको आश देखाएर छोरीचेलीको अस्मितामाथि खेल्ने पुरुष र आफ्नो सुन्दरतालाई च्याँखे थापेर पुरुषमाथि ‘ब्ल्याकमेल’ गरी असुली धन्दा चलाउने महिलाका कारण पनि धोका, विश्वासघात, बलात्कार, हत्या, हिंसा, एसिड आतंकजस्ता आपराधिक घटना मौलाउँदै गएका छन् ।

सुन्दर रूपभित्र लुकेको कुरूप मनहरूको जालोमा फसेर कैयौं पुरुषहरू छट्पटिरहेका छन् । हामी आफ्नो गर्लफ्रेन्डलाई आफूले चाहेजस्तो गर्न चाहन्छौँ तर आफ्ना दिदीबहिनीलाई उसको ब्वाइफ्रेण्डसँग देख्दा भने मुर्मुरिन्छौँ । कसैका छोरीचेली नभई कसैका गर्लफ्रेण्ड हुन कसरी सम्भव होला र ?

समाजमा अर्काथरी मानिसहरू पनि हुन्छन् जो सकारात्मक कुरा पचाउनै सक्दैनन् । समाज सुधार्न खोजेमा यिनीहरू आफ्नै थालको भात खोसेको झैं ठान्छन् । उनीहरूको मानसिकतामै ‘मै खाऊँ मै लाऊँ, सुख सयल वा मोज म गरूँ’ भन्ने भावनाले भरिएको हुन्छ । आफ्ना विरोधीलाई सिध्याउनका लागि यिनीहरू साम, दाम, दण्ड, भेद प्रयोग गर्छन् । यिनै शस्त्रअस्त्र प्रयोग गरी यिनीहरूले समाजलाई आफ्नो मुठ्ठीमा पारेका हुन्छन् । पद, पैसा, पावर र परम्पराका नाममा यस्ता प्रवृत्तिहरू मौलाइरहेका हुन्छन् ।

 गुन्डागर्दी होस् अथवा धामीझाँक्री दुवैले समाजमा खतरनाक भिलेनको रोल खेलिरहेका छन् ।

हालै धादिङमा एकजना झाँक्रीले जण्डिस निको पारिदिने भन्दै मोटो रकम असुलेर विरामीको पेटमा ब्लेडले चिरेर रगत चुस्दा ती बिरामीको ज्यान गयो । ती झाँक्रीले त्यो गाउँमा पटक पटक यस्तो हर्कत गरेका रहेछन् तर विचरा सामान्य गाउँलेहरू उनीविरुद्ध उजुरी गर्न डराउँछन् । तन्त्रमन्त्र गरेर आफूलाई मारिदेलान् कि भन्ने उनीहरूलाई ठूलो डर छ । यस्ता झाँक्रीहरू हाम्रो गाउँटोलमा छ्याप्छयाप्ती छन् जो आफूले भनेजस्तो नभए तन्त्रमन्त्र गरी मारिदिने भन्दै हाकाहाकी धम्क्याउँछन् । निःसन्तान दम्पत्तीलाई सन्तान दिने भन्दै बलात्कार गर्नेमा उनीहरू नै पर्छन् ।

यति मात्रै कहाँ हो र, अचेलका मान्छेहरू आफ्नै छोरीचेलीलाई कोठीमा बेच्न पनि तयार हुन्छन् । आफ्नै जन्मदातालाई घरबाट निकाल्न पनि पछि पर्दैनन् । जोसमा होस गुमाएर पाएको आफ्नै सन्तानलाई जिउँदै जंगलमा मिल्काउने, श्रीमान श्रीमतीको निजी बेडमा अरूसँग हनिमुन मनाउनेजस्ता मनोवृत्तिहरू पनि झाँगिदै गएको छ ।

यी कुराहरू गरिरहँदा अब अलिकति ती प्राणीको कुरा गर्न मन लाग्यो । जसप्रति मान्छेले एकदमै निम्नस्तरको सोच राख्छन् । कुनै मान्छेलाई निम्नस्तरको गाली गर्नुपर्यो भने कुकुरसँग तुलना गरेर आक्षेप लगाइन्छ । आफूलाई मन नपरेका अझ भनौं आफ्नो नजरबाट गिरेकालाई कुकुर शब्दले गाली गर्ने चलन छ ।

आखिर मान्छेले किन कुकुरलाई यति तल्लोस्तरको प्राणीका रूपमा सोच्छ ? आखिर कुकुरले मान्छेको केचाहिँ बिगार गर्छ ? फोहोर खाने भएकैले कुकुरलाई यस्तो व्यवहार गरिएको हो भने यो पनि एउटा इकोसिष्टम हो । कुकुरले फोहोर नखाइदिए ‘इको-सिष्टम’ मै असर पर्छ । फोहोर खाएकैले कुकुरलाई हेपेको हो भने यो त फोहोरसम्बन्धी काम गरेकै आधारमा जातीय विभेद गरिएजस्तो भयो नि होइन र ? कामको आधारमा जातीय विभेद गर्न हुँदैन भने ‘इको-सिष्टम’ चलाएकै कारण मान्छेले एउटा कुकुरमाथि यति निम्नस्तरको व्यवहार गर्न सुहाउँछ र ?

म यी कुकुर (खैरे) सँग केही महिनादेखि नजिक छु (हेर्नुहोस् फोटो) । खैरे हरेक बिहान र बेलुका मलाई भेट्न आउँछ । म जताबाट गए पनि गेटमा पुग्नासाथ ऊ टुप्लुक्क प्रकट हुन्छ । मलाई देख्नासाथ ऊ निकै हर्षविभोर हुन्छ । देख्नेबित्तिकै खुरुर्र दौडेर मलाई अँगाल्न खोज्छ । भूँइमा लम्पसार परेर हात जोड्छ । हात मिलाउँछ । के के न गोप्य कुरा भन्न लागेको जसरी आँखा चल्मलाउँछ, मुख चलाउँछ र कुइँकुइँ गर्छ । यस्तै व्यवहार अन्य कुकुरहरूले पनि देखाउँछन् । उनीहरूको हातजोडाइलाई म नमस्ते गरेको भनेर बुझ्छु । भलै उनीहरूले आफ्नो  भोक मेट्न मसँग बिन्ती चढाएका किन नहोऊन् । हरेक भेटमा यिनीहरूले मलाई गर्ने व्यवहार देखेर मन निकै पग्लिन्छ । र, सोचमग्न हुन्छु ।

कुकुरले मान्छे चिन्छन् भन्ने त धेरैलाई थाहा छ । तर यहाँ मान्छेले कुकुरलाई नचिनेर समस्या आएको हो ।

मान्छेको मनमा कुकुर भन्नासाथ बिनाकारण नराम्रो सोच पलाउँछ । भलै कुकुरले उसलाई केही नगरेको किन नहोस् । हामीलाई जन्मिँदै कुकुर शब्द सबैभन्दा तल्लोस्तरको शब्द भनेर चिनाइन्छ । त्यसपछि हामी हुर्कन्छौँ , बढ्छौँ, विद्वान् हुन्छौँ तर सानैदेखि मनमष्तिस्कमा पसेको कुकुरको भूत मन्छाउन सक्दैनौँ । कुकुरको बारेमा अलिकति पनि राम्रो सोच्नसम्म सक्दैनौँ ।

वास्तवमा कुकुर निकै राम्रा जनावर हुन् । जसले आफ्नो  र पराइ मान्छे मज्जाले चिन्छन् । सफासुग्घर र फोहोरी मान्छे मज्जाले छुट्याउँछन् । कुनै अप्रिय घटना हुन लाग्यो भने भुकेर संकेत दिन्छन् । अनजान मान्छे देख्यो भने भुकेर सूचना दिन्छन् । उनीहरू समूहमा आफ्नै इलाकामा मात्रै बस्छन् । उनीहरू आफ्नो इलाका नाघेर हत्तपत्त अरूको इलाकामा जाँदैनन् । छिमेकी इलाकामा नराम्रो गतिविधि भएको चाल पाए भने सबै मिलेर प्रतिकार गर्छन् । आफ्नो इलाकामा कोही प्रवेश गर्यो भने लखेटेर इलाका कटाउँछन् । आफूले  प्रतिकार गर्न नसक्ने अवस्था भयो भने छिमेकी कुकुरलाई बोलाउँछन् र मिलेर लखेट्छन् । एउटा कुकुरलाई गाडीले छोयो अथवा केही गरी ज्यान गुमायो भने आफ्नो र छिमेकी इलाकाका सबै कुकुर जम्मा भएर रुन्छन् ।

कुकुरको स्वभावबारे अर्काे कुनै लेखमा लेखौंला अहिले भने कुकुरलाई किन माया गर्नुपर्छ भन्ने विषयमा केही कुरा भन्न चाहेँ ।
धर्तीका हरेक प्राणीले आफ्नो जीवनरक्षाका निम्ति संघर्ष गर्नुपर्छ/गर्छन् ।

कतिपय प्राणीको जीवन भने आफ्नो संघर्षभन्दा पनि मान्छेमा निर्भर रहन्छ । यसरी मान्छेमा निर्भर रहने प्राणीहरूमध्ये अग्रपंक्तिमा पर्छ कुकुर ।

कुकुरको आहार मान्छेमा निर्भर रहन्छ । उसले बिरालो, न्याउरीमुसो, सर्पले जसरी सिकार गरेर खाँदैन  । कतिपय कुकुरले सिकार गरिहाले पनि त्यसको मासु खाँदैन  (अपबाद) । चराचुरुंगी जताततै गएर आहारा जुटाउनसक्छ । गाइ भैँसी, बाख्रा, (घरपालुवा कुकुर पनि) जस्ता जनावरसँग मान्छेको प्रत्यक्ष स्वार्थ रहने भएकाले मान्छेले खुशीसाथ आहार जुटाइदिन्छन् । तर बाटोको कुकुर ? हो, सबैभन्दा हेपिने र पेलिने प्राणी हो बाटोको कुकुर । हालै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा भएको घटनाले पनि यो कुराको थप पुष्टि हुन्छ ।

बाटोको कुकुरलाई तपाईं हामीले आहारा दिएनौँ भने ऊ कसरी बाँच्छ ? उनीहरू न चराचुरुंगी जसरी उडेर टाढा टाढा पुगेर आहार खोज्न सक्छन् । मान्छेले बरु झ्याल लगाउँदैनन् तर ढोका लगाउँछन् ।

चराचुरुंगीले त प्वाल र झ्यालबाट गएर चोरीचोरी खाएर भए पनि आहार जुटाउँछ तर कुकुर त चोर्न पनि ढोकाबाट पस्नुपर्छ जुन मान्छेले सधै बन्द गर्छ । चोरेर समेत खान नसक्ने प्राणी हो कुकुर ।

गाउँका कुकुरलाई भन्दा सहरका कुकुरहरूको जीवन कष्टप्रद देखिन्छ । गाउँमा त बढी भएको खानेकुरा कुकुरलाई पनि दिइन्छ, त्यसैले उनीहरूको आहारा सहजै जुट्छ तर सहरमा त्यसो गरिँदैन । भान्छाबाट निस्केको फोहोर सीधै गाडीमा लोड भएर जान्छ । त्यसैले पनि सहरका कुकुरहरूको आहार मानिसको दयामायामा नै निर्भर रहन्छ ।

अर्काेतिरबाट पनि सौचौं । कुकुरलाई हामीले किन यतिधेरै घृणा गर्छौं ? आखिर उसले हाम्रो केचाँहि बिगारिदिएको छ र ? तपाइँलाई नचिनेसम्म भुक्ने हो । एकदिन एक पुरिया बिस्कुट खुवाएर हेर्नुहोस् त, भोलिबाट तपाइँलाई अँगालेर ‘नमस्ते’ गर्न थाल्छ । अचेल १० रुपैयाँले एक कप चिया पनि आउँदैन तर ती कुकुरका लागि ‘थिन आरारोट’ विस्कुट त आउँछ नि ।

दुई तीन मिनेट डाटा अफ गर्न अथवा दिनभरि फोन गर्नेहरूमध्येबाट एक-एक मिनेट कम कुरा गरेर दिनको १० रुपैयाँ जोगाउन सहजै सकिन्छ । कुनै धार्मिकस्थलमा १० रूपैंया चढाउनुका सट्टा एक दुई रुपैयाँको सिक्का चढाएर पैसा जोगाइ कुकुरको भोजन जोहो गर्न सकिन्छ । मोजमस्तीमा खर्च हुने पैसाबाट १० रुपैयाँ बचाएर कुकुरको खाली पेट पूजा गर्ने व्यवस्था मिलाए कसो धर्म नहोला !

कुनै पनि प्राणी आफैंमा घृणित हुँदैनन् । घृणित त तब हुन्छ जब उसले अरूसामु घृणित व्यवहार प्रदर्शन गर्छ, चाहे त्यो कुकुर होस् अथवा मान्छे । चेतनशील मानिसहरू समेत अज्ञानी कुकुरले भन्दा निकृष्ट व्यवहार प्रदर्शन गरिरहेका हुन्छन् ।

कुकुर घृणित पात्र हुन् भने जो कुकुरभन्दा पनि गिरेर व्यवहार गर्दछन् उनीहरू के हुन् त ? त्यस्ता कुकुर र ती मानिसहरूबीच एउटा कुराको भने समानता हुन्छ । त्यो के हो भने उनीहरू जताजता खान पायो उतै उतै पल्किन्छन् र पुरानाले लगाएका गुणहरू विस्तारै बिर्सन्छन् ।

ख्याल गर्नुपर्ने कुरा के हो भने कुकुरले मान्छेलाई टोक्यो भन्दैमा मान्छेले कुकुरलाई टोक्नु हुँदैन । बरु रेविजको सुईले आफैं घोप्नुपर्छ । बहुला कुकुरलाई त झन् टोक्न जाने कुरै भएन । त्यसैले त भनिन्छ नि, मूर्खलाई उपदेश दिनुभन्दा सज्जनलाई गाली गर्नु उत्तम !

अन्त्यमा, कुकुरलाई हामीले कुकुर भनेर दुर्व्यबहार गरिहँदा हामी आफू मान्छेचाहिँ कत्तिको मानवीय व्यवहार गरिरहेका छौं त ?

यी मानिस र ती कुकुर