वर्गीय चित्रणको खरो प्रस्तुति : महाभोज
  • दिवाकर विष्ट –

अनुप बरालद्वारा निर्देशित नाटक महाभोजको मञ्चन आजबाट सकिँदै छ । नेपाली रङ्गमञ्चमा आफ्नो बेग्लै पहिचान बनाएका अनुप बरालले यस नाटकमा सदियौँदेखि पिछडिएको वर्गलाई राज्यका हरेक संयन्त्रहरूले आपसमा मिलेर कसरी शोषण गर्दछन् भनेर देखाइएको छ । सामान्यतया नाटक एकदेखि साढे एक घण्टासम्मको हुने भए पनि यो नाटक दुई घण्टाको छ । नाटक सुरु भएपछि दुई घण्टाको समय पनि  छोटो लाग्छ । कथासँगै बज्ने संगीत, पात्रहरूले गाउने क्रान्ति, रोदन र व्यङ्ग्य झल्कने गीत, प्रकाशको कलात्मक प्रयोग र क्यान्भासमा कोरिने चित्रजस्तै सेट डिजाइनले दर्शकको मन तानिन्छ ।

मुकुण्डोसँग अब्सेस्ड बरालले यस नाटकमा पनि नाटकको सूत्रधारलाई रङ्गले पोतिएको अनुहार र मुकुण्डोभित्र राखेका छन् । सामाजिक परिवर्तनमा अग्रसर विशुको मृत्युबाट नाटक सुरु हुन्छ र विशुको आत्माले नै रङ्ग र आफूपछाडि मुकुण्डो लगाएको पात्रको आवरणमा सूत्रधारको रूपमा नाटकलाई अघि बढाउँछ । उनको आत्माले आफ्नो लासमा कसरी महाभोज हुनेछ भन्दै विस्तारले सुनाउँदै जान्छन् । उनको पछाडि उस्तै मार्मिक सङ्गीत बज्छ । क्यान्भासको चित्र कोरिएजस्तै सेट सुन्दर ढङ्गले परिवर्तन हुँदै जान्छ । र पात्रहरूले गर्छन् आफ्नो सङ्घर्ष ।

गीताको मन्त्र , राजनीतिक आदर्शको उपदेश र आफ्नो शालीनतालाई अस्त्र बनाई बडो चलाखीपूर्ण ढंगले राजनीतिक चक्रव्यूह रच्न अब्बल हुन्छन्- राजनीतिका शीर्ष नेता, रमेशविक्रम उर्फ ‘दादा’ । उनले आफ्नो पार्टीलाई चुवाव जिताउन मिडिया, कानुनी प्रशासन र गाउँमा रवाफ जमाउने व्यक्तिलाई यसरी आफ्नो वशमा बनाउँछन् कि ती सबले विशुको सुनियोजित हत्यालाई आत्महत्यामा परिवर्तन गर्दछन् ।

नाम सुन्दै क्रान्तिकारी मसाल नामक पत्रिका विज्ञापन र बजेटमा बिक्दै चुनावी माहोल रमेश विक्रमको पक्षमा पार्न प्रोपोगान्डा रच्न सुरु गर्छ । यता पुलिस प्रशासन पनि रमेश विक्रमको पार्टीकै कार्यकर्ताद्वारा रचित विशुको हत्याको तथ्य बङ्ग्याउन हर प्रयास गर्छन् । अन्त्यमा विशुको साथी विनोद जो न्यायका लागि लड्दै थियो उसैलाई दोषी पुष्टि गर्दछन् । सास र साहस जुटाइरहेको विनोदले राजनीतिक षडयन्त्रको कोठाभित्र उकुसमुकुस हुँदै आफ्नो अन्तिम सास फेर्दछ । उता प्रतिपक्षी दलको उम्मेदवार अटलबहादुरको खतरा रमेश विक्रमलाई टर्छ । विशुको लासमा महाभोज सुरु हुन्छ । रमेशविक्रम, मसाल , पुलिस प्रशासनले गाउँछन् महाभोजमा आफ्नो गान ।

यसरी नाटकले शोषक वर्ग कसरी शोषित वर्गलाई प्रयोग गरी सत्ताशक्तिमा आउँछ र शोषण गर्छ भनेर चित्रण गरेको छ । २७ जना पात्र रहेको यस नाटकमा पात्रको कलाशैलीमा पनि विविधता छ । एकातिर पात्रले आफ्नो मार्मिक कथा सुनाउँदै कारुणिकतामा डुबाउँछन् भने अर्कोतिर अब्बल कमिक टाइमिङ र संवादले गर्दा दुःखपूर्ण दृश्यमा पनि हास्यरस सिर्जना गर्दछन् । नाटकको मुख्य विशेषता प्राविधिक पक्षका अतिरिक्त पात्रहरूको विविधतामा छ ।

नाटकको सेट डिजाइन निकै नै कलात्मक छ । २७ जना पात्र भएका कारणले पनि सेटमा विविधता देखाइनु ब्याल्कबक्समा चुनौतीपूर्ण नै हुन्छ । तर यस नाटकमा सेट पनि सरल रूपमा कथाअनुरूप परिवर्तन हुँदै जान्छ । सेटमा प्रयोग भएको प्रकाशले पनि हरेक घटनाको सिम्बोलीक अर्थ झल्काउँछ । पात्रहरूले गाउने गीतले पनि उसैगरी मन तान्छ । ‘आआफ्नै डम्फु बजाउँछन् सबैले’ भन्दै डम्फुको तालमा महाभोजका पात्रहरू गीत गाउँछन्, जुन गीतले हाम्रो समाजको चित्र छर्लङ्ग उतार्छ । विशेष गरी शोषित वर्गको लासमाथि सामन्ती वर्गको वाइनको चियर्स निकै नै शक्तिशाली विम्ब बनेर हरेक दर्शकको मनमा रहिरहन्छ । नाटक सकिएपछि पनि यसले दर्शकलाई सोचमग्न हुन वाध्य पार्छ, जुन महाभोजको सफलता हो ।

महाभोजको भोजमा नाटकका पारखी रमाउँछन् । र, नाटकको पारखीभित्रको आम नेपालीलाई भने कता कता दुःख लाग्छ ।