युवाका समस्या: पहिला डिप्रेशन, त्यसपछि जीवन नै त्याग

सांकेतिक तस्बिर । parhlo.com
  • कृष्णसिंह धामी ।

काठमाडौं । जुलाई पहिलो साता झापाका स्वदेश सेढाईंले अस्ट्रेलियामा आत्महत्या गरे । उच्च शिक्षा अध्ययन तथा उज्ज्वल भविष्यका लागि अस्ट्रेलिया पुगेका सेढाईंले के कति कारणले आत्महत्या गरे भन्ने कुरा कतै पनि अनुसन्धान भएन । केवल नेपाली सञ्चारमाध्यमहरूले उनको आत्महत्याको समाचार प्राथमिकताका साथ सम्प्रेषण गरे ।

*****

कैलालीको गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले ३ वर्षीया छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरे । श्रीमतीको आत्महत्या दुरुत्साहन मुद्दामा मुछिएका कलेलले छोरीलाई पनि सेल्फास नामक विषादी सेवन गराएर आफूले समेत आत्महत्या गरेका थिए ।

पत्नी वियोगको पीडा सहन नसकेर ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका २२ वर्षीय नवीन परियारले पनि आफ्नो देह त्याग गरे । जेठ अन्तिममा विवाह बन्धनमा बाँधिएका नवीनकी श्रीमती २१ वर्षीया गंगाले गत भदौ ४ गते माइतमा गई झुण्डिएर आत्महत्या गरेकी थिइन् । पत्नी विछोडको पीडा बेहोरेका नवीनले पनि अन्ततः पत्नीकै बाटो रोजे ।

*****

पाल्पा तानसेनका २५ वर्षीय रमेश मगर १७ वर्षकै उमेरमा एक युवतीको मायाजालमा परे । एक वर्षको प्रेम सम्बन्धलाई उनीहरूले वैवाहिक बन्धनमा परिणत गरे । विवाह भएको सुरुको वर्ष राम्रैसँग बित्यो । दोस्रो वर्ष उनीहरूका पहिलो सन्तानको रूपमा छोराको जन्म भयो । छोरा जन्मिएपछि रमेश दम्पतीलाई आर्थिक समस्या पर्न थाल्यो ।

गाउँघरमै ज्याला मजदुरी गर्दै आएका रमेशको कमाइले परिवार पाल्न मुस्किल हुन थाल्यो । श्रीमतीले पनि कमाउन नसकेको भन्दै दवाव दिन थालिन् । रमेशले वैदेशिक रोजगारीमा जाने योजना श्रीमती सरितालाई सुनाए । सरिताले पनि स्वीकृति दिइन् ।

रमेश मलेसिया हानिए । रमेशको सुरुमा कमाइ राम्रै थियो । घरमा श्रीमती र छोरा पनि खुसीसाथ बसिरहेका थिए । एकाएक रमेश बिरामी परे । उनी तीन महिना वेड रेस्टमा गए । त्यो बेला घरमा एक पैसा पनि पठाउन पाएनन् । उल्टै घरबाट उनको उपचारका लागि पैसा पठाउनुप¥यो । त्यसपछि श्रीमतीको मनमा अनेकन कुरा खेल्न थाले । तीन महिनाको बेड रेष्टपछि रमेश काममा फर्किए तर पहिलाको जस्तो कमाइ भएन ।

जेजस्तो दुःख गरेर भए पनि रमेशले प्रत्येक महिना घरमा पैसा पठाउन थाले । तर घरमा श्रीमतीले बढी पैसा खर्च गर्न थालिन् । पैसा कसरी बढी खर्च हुन थाल्यो भन्दै रमेशले प्रश्न उठाउँदा श्रीमती झगडा गर्न थाल्थिन् । गाउँकै एक जना केटासँग उनी प्रेम सम्बन्धमा परेकी रहिछन् । जुन कुरा रमेशले पनि थाहा पाए । श्रीमतीलाई त्यो बाटोमा नलाग्न आग्रह गरे । गाली गरे । तर सरितालाई केही लागेन । श्रीमान विदेश गएको डेढ वर्षमा सरिता त्यही केटासँग पोइल गइन् ।

श्रीमती पोइल गएपछि रमेशलाई निकै पीडा भयो । एकातिर श्रीमतीले धोका दिएको पीडा थियो भने अर्कोतिर उनी डेढ वर्षमा कमाएको सबै सम्पत्ति समेत लिएर गएकी थिइन् । जसले गर्दा रमेश एकदमै मानसिक तनावमा परे । त्यही पीडामा उनी अत्यधिक रक्सी सेवन गर्न थाले । मलेसियामै रहेको बेला उनले पासो लगाएर आत्महत्या गरे ।

*****

यी त केवल केही प्रनिनिधि घटना मात्रै हुन् । नेपालमा दैनिक १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरे । ती मध्ये ७० प्रतिशतभन्दा बढी युवावस्थाका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष आठ लाख मानिसले आत्महत्या गर्छन् । अर्थात् हरेक ४० सेकेन्डमा एकजनाले आफ्नै ज्यान लिन्छ । यद्यपि, आत्महत्या कति डरलाग्दो छ, यो संख्याले मात्रै हामीलाई बताउन सक्दैन । किनभने, संगठनका अनुसार आत्महत्याबाट एकजनाले ज्यान गुमाउँदा अरू २० जनाले यसको प्रयास गरिरहेका हुन्छन् ।

प्रयास गर्नेजति सबैले ज्यान गुमाउने हो भने प्रतिवर्ष दुई करोडको मृत्यु हुन्छ । तर, गएका केही दशकमा आत्महत्या दर घटाउन केही उल्लेखनीय सफलता हात परेको छ । सन् २००० यता विश्वमा आत्महत्या दर २९ प्रतिशतले घटेको छ । अर्थात्, यो अवधिमा २ करोड ८० लाख मानिसको ज्यान बचेको छ । यो संख्या त्यही अवधिमा युद्धमा मारिएका भन्दा तीन गुणा बढी हो ।

विश्वभर आत्महत्या दर घटिरहेको बेला नेपालमा भने बढेको देखिन्छ । प्रहरीको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०६१/०६२ देखि आर्थिक वर्ष २०७१/०७२ सम्ममा २९ हजार नौ सय पाँच जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७३–०७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गर्दा २०७४/०७५ मा ५ हजार ३ सय ४७ जनाले आत्महत्या गरेको देखिन्छ ।

मनोविद् गोपाल ढकालका अनुसार युवामा आत्महत्या गर्ने क्रम बढ्नु निकै चिन्ताजनक छ । घरपरिवारको तनाव, करियरको तनाव, वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता, वैवाहिक जीवन, बेरोजगारी, तीव्र प्रतिस्पर्धा, सोसल मिडियाको प्रभाव, राजनीतिक प्रयोगजस्ता कारणले गर्दा युवाहरूले आत्महत्याको बाटो रोजिरहेको ढकालको भनाइ छ ।

तनावको सबैभन्दा बढी जोखिममा युवाहरू पर्ने गरेको भन्दै उनी भन्छन्, ‘आत्महत्याको कारण भनेको मानसिक रोग नै हो । डिप्रेशन, मानसिक समस्या, कुलतजस्ता कारणले युवाहरूले आत्महत्या गर्ने गरेको पाइन्छ । कुलतमा फसेका युवाहरू बढी डिप्रेशनमा जाने गरेका छन् ।’

आत्महत्या न्यूनीकरण गर्नका लागि युवामा देखिने समस्याको समाधान गरिनुपर्ने उनको तर्क छ । ‘कुलतबाट जोगाउनुप¥यो, मानसिक समस्याको उपचार गर्नुपर्‍यो, वैदेशिक रोजगारीमा जाने युवाहरूमा आत्महत्याको बढी डर छ । त्यसैले विदेश जानुअघि मानसिक रोगको जाँच गराउनुपर्‍यो । युवाहरूलाई विभिन्न प्रकारको सीप सिकाउनुपर्‍यो । साथै जीवनशैलीका कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ ।’ ढकालले भने ।

त्यस्तै प्रजनन उमेर समूह १५ देखि २९ वर्षसम्मका युवतीहरू बढी आत्हत्या गर्ने गरेको ढकालको भनाइ छ । प्रजनन उमेर समूह १५ देखि २९ वर्षसम्मका युवाहहरूमा विश्वमै मृत्युको दोस्रो कारण आत्महत्या रहेको छ ।

‘युवा उमेर भनेको एकदमै जोखिमपूर्ण उमेर हो । विभिन्न कारणले मानसिक समस्यामा पर्न सक्छन् । त्यसको उपचार भएन भने आत्महत्याको बाटो रोज्ने गरेका छन् ।’ ढकालको भनाइ छ । प्रजनन उमेरका युवतीहरू बच्चा जन्माइसकेपछि बढी डिप्रेशनमा जाने गर्छन् । जसले गर्दा उनीहरू पनि आफ्नो जीवन नै सकिएको आभास गर्दै आत्महत्याको बाटो रोज्ने गरेको मनोविद्हरूको तर्क छ ।

वर्षेनी झण्डै तीन हजार बढी युवाले आत्महत्याको बाटो रोज्दा पनि राज्यबाट ठोस कार्यक्रम भएको देखिँदैन । युवाहरूको सवालमा काम गर्ने सरकारी निकाय हो, राष्ट्रिय युवा परिषद् । परिषद्ले यो वर्षदेखि आत्महत्याको विषयमा अध्ययन गर्दै छ । आत्महत्या गर्नुको कारण, त्यसको समाधान लगायतका विषयमा परिषद् अध्ययनमै छ । राष्ट्रिय युवा परिषद् कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले आत्महत्या गर्नुको प्रमुख कारण सामाजिक सञ्जाल देखिएको बताए ।

यसको सदुपयोग र व्यवस्थापन गर्न यो वर्षदेखि युवा परिचालन वर्ष २०७६ सञ्चालनमा रहेको ढुंगेलको भनाइ छ । युवाले आत्महत्या गर्नुको कारण पत्ता लगाउनेदेखि त्यसलाई नियन्त्रण गर्न कसरी गर्न सकिन्छ भन्ने ढंगबाट अगाडि बढ्ने उनको भनाइ छ । ‘सामाजिक सञ्जालको प्रयोगका कारण सानै उमेरमा वैवाहिक सम्बन्धमा बाँधिने र पारिवारिक जिम्मेवारी थपिने गरेको छ । सानै उमेरमा परिवारको जिम्मेवारी थपिएपछि उनीहरूले थेग्न सक्दैनन् । जसका कारण डिप्रेशनमा जाने र अन्तिम बाटो आत्महत्यालाई नै रोज्ने गरेको पाइन्छ । आत्महत्या गर्नुका विभिन्न कारण हुने गरे पनि सामाजिक सञ्जालको प्रयोगबाट बढी समस्या छ ।’ कार्यकारी उपाध्यक्ष ढुंगेलले भने ।

त्यस्तै युवाहरूमा अवैध सम्बन्धका कारण पनि आत्महत्या गर्ने गरेको उनको भनाइ छ । ‘अवैध सम्बन्ध राख्ने, पछि विवाह गर्न नमान्ने वा विवाह गरे पनि पारिवारिक सम्बन्धमा आउने उतारचढावका कारण यो बाटो रोज्ने गरेका छन् ।’ उनले भने । यस्ता समस्याको पहिचान गर्दै समस्याको समाधानका लागि विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा काम भइरहेको उनको भनाइ छ ।

युवा लक्षित विभिन्न स्वरोजगार कार्यक्रम ल्याएर बेरोजगारी समस्या कम गर्ने सरकार योजना छ । बेरोजगार युवाहरूलाई प्रयोग गरेमा आत्महत्या गर्ने पाटोतिर ध्यान कम जान्छ । आत्महत्या रोकथामकै लागि सीधै कुनै कार्यक्रम नगरिए पनि परिषद्ले गर्ने हरेक कार्यक्रम युवा लक्षित नै भएको ढुंगेलको भनाइ छ । नेपालका थुप्रै संख्यामा रहेका एनजीओ तथा आएनजीओले युवा लक्षित विभिन्न खाले कार्यक्रम गरे पनि आत्महत्या रोकथामका विषयमा कुनै कदम चालेको देखिँदैन ।

युवाका समस्या: पहिला डिप्रेशन, त्यसपछि जीवन नै त्याग