सन्तुलित स्विट्जरल्यान्डलाई जित्न रोनाल्डोलाई सहज होला ?

सन्तुलित स्विट्जरल्यान्डलाई जित्न रोनाल्डोलाई सहज होला ?


फिफा विश्वकप अन्तर्गत आज बेलुकी अन्तिम १६ का दुई खेल हुनेछन् । आज बेलुकीको खेलपश्चात अन्तिम १६ को खेल समीकरण पूरा हुनेछ । यसअघि ६ टिमले अन्तिम आठमा स्थान पक्का गरिसकेका छन् । जसमा क्रोएसियाले ब्राजिलको, अर्जेन्टिनाले नेदरल्यान्ड्सको र इंङ्ल्यान्डले फ्रान्ससँग अन्तिम आठमा भिड्नुपर्ने पक्का भइसकेको छ । 

आज बेलुकी पहिलो खेल राति ८ः४५ बजे स्पेन र मोरक्कोबीच र दोस्रो खेल मध्यरात १२ः४५ बजे पोर्चुगल र स्विट्जरल्यान्डबीच हुनेछ । समूहचरणको खेलमा पोर्चुगल आफ्नो समूहको शीर्ष स्थानमा रहँदा स्विट्जरल्याण्ड भने आफ्नो समूहको उपविजेता बन्दै नकआउट चरण पुगेको हो ।

स्विट्जरल्याण्ड समूह चरणमा ब्राजिलसँग १–० ले पराजित भएको थियो भने क्यामरुन र सर्वियालाई भने पराजित गरेको थियो । यस्तै बलियो पोर्चुगलले सुरुका दुई खेलमा घाना र उरुग्वेलाई पराजित गरेपनि अन्तिम खेलमा दक्षिण कोरियासँग २–१ गोलले पराजित भएको थियो । विश्वकप फुटबलमा पोर्चुगलका लागि स्विट्जरल्याण्ड चिरप्रतिद्वन्द्वी हो । यी दुई टोली पटक–पटक भिडेका छन् । अहिलेसम्म २६ पटक भिड्दा ९ पटक पोर्चुगल विजयी हुदाँ ११ पटक भने स्विट्जरल्याण्डको पक्षमा नतिजा आएको छ । यस्तै यी दुई बिचका ६ खेल बराबरीमा टुंगिएका छन् । 

विश्वकप फुटबलमा यी दुवै टोली फाइनलमा भने पुग्न सकेका छैनन् । स्विट्जरल्याण्ड क्वाटरफाइनलभन्दा माथि जान सकेको छैन भने पोर्चुगलले भने दुई पटक सेमिफाइनल खेलिसकेको छ । पोर्चुगल सन् १९६६ मा पहिलो र सन् २००६ मा दोस्रो पटक सेमिफाइनलसम्मको यात्रा तय गरेपनि दुबै पटक पराजित भएको थियो ।  

स्विट्जरल्याण्ड ६८ वर्षदेखि नकआउटचरणभन्दा माथि जान सकेको छैन । स्वीस टोली सन् १९५४ मा पछिल्लो पटक क्वाटरफाइनलमा पुगेको थियो । त्यसपछि ८ पटक विश्वकपमा सहभागिता जनाएपनि नकआउटभन्दा माथि जान सकेको छैन । 

यस्तै पोर्चुगल चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले डेब्यु गरेको वर्ष अर्थात सन् २००६ मा पछिल्लोपटक विश्वकपको क्वाटरफाइनल पुगेको थियो । त्यसपछिका ४ संस्करणमा पोर्चुगल नकआउटभन्दा अगाडि बढ्न सकेन । 

फुटबल जगतका सफल व्यावसायिक खेलाडी ३७ वर्षीय रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुने पक्का हो । एक खेलाडीका रुपमा उनले विश्वकप बाहेक सम्पूर्ण ट्रफी जितिसकेका छन् । सोही कारण उनी आफ्नो करिअरबाट बिदा लिनु अघि पोर्चुगलका लागि विश्वकप जिताउन चाहन्छन् । सोही लक्ष्यलाई पूरा गर्न आज उनको खेल कौशल महत्वपूर्ण एवं ऐतिहासिक हुनेछ । 

स्विट्जरल्याण्डका लागि मुख्य खेलाडी १‍‍.ग्रानिट जाका
पछिल्ला वर्षहरूमा स्वीट्जरल्याण्डले ठूला प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्दै आएको छ । गत वर्षको यूरोकपमा स्वीट्जरल्याण्ड क्वार्टरफाइनलसम्म पुगेको थियो । यसक्रममा विश्वविजेता फ्रान्सलाई हराएको स्वीटजरल्याण्ड स्पेनसँग पेनाल्टी सुटआउटको निर्णायक बिन्दुमा पराजित भएको थियो । आजको खेल जित्न विपक्षी क्रिस्टियानो रोनाल्डो मुख्य अवरोध भएपनि स्वीट्जरल्याण्ड आफ्ना मुख्य खेलाडी ग्रानिट जाकाको खेल कौशलमा निर्धक्क प्रस्तुत हुनेछ ।  

जाकाले सन् २०११ मा स्वीट्जरल्याण्डका लागि डेब्यू गरेका थिए । उनले स्वीट्जरल्याण्डका लागि ११० खेल खेल्दै १२ गोल गरिसकेका छन् । जाकालाई मैदानमा निकै आक्रामक खेलाडी मानिन्छ । विश्वकप छनोटमा चोटका कारण दुई खेल मात्र खेल्न पाएका जाका जारी प्रतियोगितामा सबै खेल खेल्दै छन् । बुन्डेस लिगामा १ सयभन्दा बढी र प्रिमियर लिगमा २ सयभन्दा बढी खेल खेलिसकेका जाकाको अनुभव आजको खेलमा निकै महत्वपूर्ण रहनेछ । हाल आर्सनलबाट व्यावसायिक फुटबल खेल्दै आएका जाका टोलीका कप्तानसँगै सहकर्मीहरुको दर्बिलो भरोसा पनि हुन् ।

पोर्चुगलका लागि मुख्य खेलाडी 2. ब्रुनो फर्नान्डेज
पछिल्लो चार वर्षमा युरोपियन फुटबलमा निरन्तर राम्रो प्रदर्शन गर्ने मिडफिल्डरमा पर्छन्, ब्रुनो फर्नान्डेज । पोर्चुगलको घरेलु क्लब स्पोर्टिङबाट म्यानचेस्टर युनाइटेड आइपुगेका फर्नान्डेजले प्रिमियर लिगमा आफूलाई महत्वपूर्ण खेलाडीका रुपमा स्थापित गरिसकेका छन् ।

फर्नान्डेजलाई विपक्षी टोलीको बक्स छेउछाउमा सधैँ चुनौतीका रूपमा हेरिन्छ । उनको बल प्रहार गर्ने क्षमता र सहकर्मीलाई सटिक पास निकाल्ने क्षमताले गर्दा उनी डिफेन्डरका लागि टाउने दुखाई बन्ने गर्छन् । डेड–बलको अवस्था होस् या पेनाल्टी, फर्नान्डेज त्यसमा पनि भरोसायोग्य खेलाडी हुन् ।
सन् २०१७ मा पोर्चुगलका लागि डेब्यू गरेका फर्नान्डेजले हालसम्म देशका लागि ५१ खेलमा १३ गोल गरिसकेका छन् । जारी विश्वकपमा पनि उनले पोर्चुगलका लागि २ गोल गरिसकेका छन् ।

 

Logo