‘अपेक्षित सिट ल्याउन नसके पनि राष्ट्रिय राजनीतिमा हामी नै निर्णायक’ -अध्यक्ष प्रचण्ड

‘अपेक्षित सिट ल्याउन नसके पनि राष्ट्रिय राजनीतिमा हामी नै निर्णायक’ -अध्यक्ष प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा अपेक्षित सिट ल्याउन नसके पनि राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका निर्णायक रहेको दावी गरेका छन् । 

राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका कसैले खोस्न सक्ने अवस्थामा नरहेकोे जिकीर गर्दै अध्यक्ष प्रचण्डले निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् । पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले स्थापित गरेको सिष्टम केन्द्रिय रुपमा अघि बढेको उल्लेख गर्दै पार्टीलाई पुनर्गठित गर्दै अघि बढाउने दृढता समेत व्यक्त गरे  । 

उनले भने ‘राष्ट्रिय राजनीतिमा अहिले पनि हाम्रो भूमिका केन्द्रिय नै छ । त्यसलाई कसैले पनि खोस्न सक्ने स्थिति देखिएको छैन । त्यसकारण हामीले निराशा बाँड्नुपर्ने, हामी चिन्तित हुनुपर्ने छैन । तर गम्भिर समिक्षा गरेर आउने दिनका निम्ति आफूलाई रुपान्तरण गर्ने एउटा प्रतिवद्धता गर्नैपर्छ । हामी जित्छौं । जितेपछि अलि बढि मनोगत हुन्छौं । अलि आफैं भित्र एकले अर्कालाई दोषारोपण गर्न थाल्छौं । हारेपछि फेरी यो के भयो भनेर गम्भिर रुपमा छातीमा हात राखेर समिक्षा गर्न थाल्छौं । जितपछि हार, हारपछि जित यो सर्कल चलि नै रहन्छ । तर यतिबेला राष्ट्रिय राजनीतिमा हामी किन निराश हुनुपर्ने अवस्था होइन भन्छु भने म एउटा त एजेण्डाहरुको हिसावले राजनीतिक धारा हामीद्धारा स्थापित सिष्टम नै नेपालमा अहिले पनि केन्द्रिय रुपमा कायमै छ । र, शक्तिको हिसावले पनि हामीले थोरै समिक्षा गरेर मेहनत गर्ने हो भने शक्तिको हिसावले पनि हामी फेरी पुर्नसंगठित हुन सक्ने र आन्दोलित हुन सक्ने शक्ति हामीसँग छ ।’

अध्यक्ष प्रचण्डले सूचना र प्रविधिको सदूपयोग गरेर अघि बढन नसक्दा निर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरे अनुसार नतिजा ल्याउन नसकेको पनि स्पष्ट पारे । आगामी दिनमा पार्टीलाई विचारको दृष्टिले तथा सुचना र प्रविधिको सदूपयोग गर्ने दृष्टिले अगाडि बढाउनुपर्ने उनको भनाई थियो ।  

उनले भने, ‘आइटी सेक्टरलाई, डिजिटलाईजेशनको जमानालाई हामीले सदूपयोग गर्न सकेनौं । हार्मीले पनि आइटी आर्मी तयार पारेर धमाका दिन सकेनौं भने विकास मात्रै गरिएछ । दुःख मात्रै गरिएछ भन्दैमा चुनावमा जितिन्छ भन्ने पनि रहेनछ । त्यसकारण एकातिर हामीले आईडियोलोजी र पोलिटिक्सलाई पनि समयसापेक्ष विकसित गर्नुनै छ । अर्कोतिर साईन्स टेक्नोलोजीको डेभलोपमेन्टलाई सदुपयोग पनि गर्नु नै छ ।’

Logo