नेपालले पायो १४६ रनको लक्ष्य, नेपाली बलरको उत्कृष्ट कमब्याक

काठमाडौं । ओमानमा जारी पाँच देश सम्मिलित टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आयरल्यान्डले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । ९५ रनमा एक विकेट गुमाएको आयरल्यान्ड त्यसपछि लगातार धरासायी बनेको थियो।

आयरल्यान्डका ओपनर पल स्टर्लिङले ५९ र एन्डी बालबिर्नेले ३८ रन बनाए । स्टुवार्ट थम्पसनले २१ रन जोड्नुबाहेक अन्य दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि सन्दीप लामिछाने र अविनास बोहोराले दुई दुई विकेट लिए तथा करन केसी र ललित राजबंशीले एक एक विकेट लिए । आयरल्यान्ड्सले सात रन जोड्दा आक्रामक ब्याट्सम्यान केभिन ओब्रायन आउट भएका थिए ।

खेलको दोस्रो ओभरको चौथो बलमा सन्दीप लामिछानेले ओब्रायनलाई क्याच आउट गराएका थिए। त्यसपछि स्टर्लिङ र बालबिर्नेबीच दोस्रो विकेटका लागि ८७ रनको साझेदारी भयो। आयरल्यान्डले ११ ओभर २ बलमा केवल एक विकेट गुमाएर ९५ रन जोडेको थियो। दोस्रो विकेटका रुपमा बालिबिर्नीलाई ललितले आउट गरेपछि आईरिस टोली एकाएक दबाबमा प¥यो ।

अन्तिम ओभरमा आयरल्यान्डले करन केसीलाई २ छक्कासहित १८ रन लिएको थियो । सन्दीपले चार ओभरमा २१ रन दिए । ललितले चार ओभरमा २३ रन दिए । अविनासले चार ओभरमा २२ रन खर्चिए। ४७ बलमा दुई छक्का र ६ चौका हिर्काएका स्टर्लिङलाई करन केसीले आउट गरेका थिए। करन र दीपेन्द्र सिंह ऐरीले एक एक रनआउट समेत गराए।

नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । तालिकामा ओमान २ खेलबाट चार अंक जोडेर शीर्षस्थानमा छ। आयरल्यान्डको ३ खेल र नेपालको दुई खेलबाट पनि समान ४ अंक छ।