खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार पाएन

खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार पाएन


मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीय तथा सरोकारवालाले खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उहाँहरुको भनाइ छ ।

चेम्बर अफ कमर्स, रुपन्देही उद्योग व्यापार सङ्गठन र उद्योग व्यापार सङ्गठन मर्चवार सम्पर्क कार्यालयले शुक्रबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा आयोजना गरेको स्थानीय बजार प्रवद्र्धनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले स्थानीय बजार प्रवद्र्धनका लागि सम्पूर्ण पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा स्थानीय सन्तराम कोइरीले स्वदेशमा उत्पादन भएका कुखुराले बजार नपाएको गुनासो गरे । उनले भने, “भारतमा सस्तो मूल्यमा कुखुरा पाइने र खुल्ला सीमाका कारण सहजरुपमा चोरी–पैठारी हुने भएकाले सीमा वारिका व्यवसायी मर्कामा छन् ।”

त्यस्तै स्थानीय सूर्यनारायण यादवले खुल्ला सीमाका कारण स्वदेशी बजार सुनसान भएको बताए । उनले स्वदेशमा उत्पादन लागत बढी हुँदा सामानको मूल्यसमेत यहाँ बढी नै रहेको बताए । उनले स्थानीयस्तरमा उत्पादित सामानको बजारीकरणमा समस्या रहेको बताए । कृषक अशोककुमार तिवारीले किसानलाई मल र सिँचाइको व्यवस्था नभएसम्म विकास हुन नसक्ने बताए । उहाँले कृषकले उत्पादन गरेर वस्तुको मूल्य कृषकले नै तोक्न पाउनुपर्ने माग राख्दै भने, “किसानको विकास नभएसम्म मुलुकको विकास हुन सक्दैन ।”

स्थानीय अर्जुन हरिजनले चप्पल उद्योग सञ्चालन गर्दै आएको भए पनि बिक्रीवितरणमा समस्या आएपछि उद्योग नै बन्द गर्नुपरेको बताए । उनले उद्योग बन्द भएपछि ऋणको किस्ता र ब्याज तिर्न समस्या भएको गुनासो गरे । उनले भने, “अनुदान पाउनुपर्ने व्यक्तिसमक्ष पुगेको छ कि छैन अनुगमन गर्नु आवश्यक छ ।” मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताले दर्ता प्रक्रियामा नआएका व्यवसायलाई करको दायरामा ल्याउनुपर्ने बताए । उनले स्थानीय सरकारले स्थानीय उत्पादन भएका सामान खरीद गर्नुपर्ने प्रस्ताव राखे । उनले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। मर्चवार क्षेत्रमा होटल, किरानालगायत व्यवसाय बन्द भएकाले त्यसतर्फ पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले किसानले समयमा मल र बीउ नपाएको बताए । उनले सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसकेको र सीमापारिबाट ल्याउँदा किसानले अनेकौँ हैरानी खेप्नुपरेको बताए । उनले भने, “स्थानीय सरकार र व्यवसायीबीच सहकार्य आवश्यक छ ।” अध्यक्ष ज्ञवालीले किसानको जीवनस्तर माथि उकास्न सके मात्र अर्थतन्त्र मजबुत हुने बताए । कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले कृषिप्रधान क्षेत्र मर्चवारमा आउनुपर्ने मलसमेत घटिरहेको गुनासो गरे ।उनले किसानले समयमै मल नपाएको बताउनुभयो । उहाँले मर्चवार क्षेत्रमा रहेका पालिकाहरुले साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, “साझा एजेन्डा बनाएर अघि बढे मर्चवार क्षेत्रको आवाज एकैपटक सम्बन्धित निकायमा पुग्छ ।” कोटहीमाई–५ का वडाअध्यक्ष सञ्जयकुमार सैनीले कृषिप्रधान देश भनिए पनि किसानको धेरै समस्या रहेको बताए। उनले कृषिका लागि आवश्यक रहेको ट्र्याक्टरको भन्सार शुल्क बढ्दा कृषक मारमा परेको गुनासो गरे । मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले कृषि, शिक्षा र स्वास्थ्यमा आफूले जोड दिएको बताए । उहाँले कृषकलाई गाउँपालिकाबाट सक्दो सहयोग गरिएको बताए। उनले भने, “निजी क्षेत्रलाई जिम्मेवारी दिए कृषकले सहज रुपमा मल पाउन सक्थे ।” उनले किसानलाई सिँचाइको व्यवस्था नहुनु दुःखद भएको बताए ।

कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले भारतबाट ल्याएर सामान बिक्री गर्नुपर्ने व्यवसायीको बाध्यता रहेको बताए । उनले भने, “मर्चवार क्षेत्रको व्यवसाय प्रवद्र्धनका लागि छुट्टै नीति बनाउनुपर्छ ।”  उनले किसानले मल समयमा नपाउँदा उत्पादनमा समेत समस्या आएको बताए । 

Logo