भीमदत्तलाई यसरी बनाइदैंछ उज्यालो नगर

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले उज्यालो भीमदत्त कार्यक्रम अन्तर्गत यस वर्ष नगर क्षेत्रमा एक सय बढी सौर्य बत्ती जडान गरिने भएका छन् । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको चुनावी प्रतिबद्धता अनुसार गत वर्षदेखि भीमदत्त उज्यालो कार्यक्रम सुरु गरिएको हो ।

चालु आर्थिक वर्ष २०७६/०७७ मा नगर क्षेत्रमा एक सय १० सौर्य बत्ती जडान गरिने भएका छन् । चालु आर्थिक वर्षमा ९४ सौर्य बत्ती बत्ती जडान गरिएको छ ।

गत वर्ष महेन्द्रनगर बजारको भानुचोकदेखि पुरानो बसपार्कसम्म सौर्य बत्ती जडान गरिएका थिए । कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा. दिपक प्रकाश भट्टको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र नगरपालिकाको साझेदारीमा सौर्य बत्ती जडान गरिएका हुन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले उज्यालो नगर बनाउने चुनावी प्रतिवद्धता अनुसार विभिन्न निकायसित सहकार्य र समन्वय गरी उज्यालो भीमदत्त कार्यक्रम सञ्चालन गरिएको बताए । ‘गाउँ सहर उज्यालो झिलमिली बनाउने उद्देश्य लिएर कार्यक्रम सुरु गरिएको छ’ नगर प्रमुख विष्टले भने, ‘यो कार्यक्रमबाट बिजुली नपुगेका दुरदराजका क्षेत्रमा उज्यालो पुगाउने लक्ष्य पनि हो ।’

भानुचोक महेन्द्रनगर बजार प्रवेशको मुख्य नाका भएकाले गत वर्ष पूरानो बसपार्कसम्म बत्ती जडान गरिएको थियो । भीमदत्त नगरपालिका र क्षेत्रीय सहरी विकास आयोजना संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीको साझेदारीमा यस वर्ष एक सय १० सौर्य बत्ती जडान गरिने कार्यक्रम छ ।

महाकाली नदीको झोलुङ्ग पुलमा सौर्य बत्ती जडान गरिएका छन् । पुलको सौन्दर्यकरण र उज्यालोका लागि सौर्य बत्ती जडान गरिएको हो । यसका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरिएको छ । उज्यालो भीमदत्त कार्यक्रमका लागि नगरपालिकाले यस वर्ष बजेट समेत बढाएको छ । गत वर्ष २० लाख बजेट विनियोजन गरिएको यो कार्यक्रमका लागि ५० लाख छुट्याइएको छ ।

भीमदत्त नगरपालिका वडा नं. ९ मा पर्ने खल्ला, टुँडीखेल र मसेट्टीमा विद्युत पुर्याउने तयारी गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले ती वस्तीमा विद्युतीकरण कार्य सुरु गर्ने तयारी गरिएको बताए । खल्ला मसेट्टीलाई बिद्युतिकरणमा जोड्नका लागि विद्युत विभागले सर्भे गरिएको नगर प्रमुख बिष्टको भनाइ छ ।