विदेशी खेलाडीले श्रम स्वीकृति नलिँदा कारवाहीको तयारीमा श्रम विभाग

विदेशी खेलाडीले श्रम स्वीकृति नलिँदा कारवाहीको तयारीमा श्रम विभाग


नेपाल टी–ट्वान्टी लिगमा आएका विदेशी खेलाडीहरुले श्रम स्वीकृति नलिँदा श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले कारवाहीको तयारी थाल्ने भएको छ ।

विभागका प्रवक्ता मनिनाथ गोपेले हालसम्म कुनै पनि खेलाडीले विभागबाट श्रम स्वीकृति नलिएकोले अब कानुनी प्रकृया अनुसार अगाडी बढ्ने बताए । श्रम स्वीकृतिका लागि ६ टोलीका ३२ जना विदेशी खेलाडीको माग आएपनि हालसम्म स्वीकृति लिएका छैनन् । ‘अहिलेसम्म कुनै पनि खेलाडीले श्रम स्वीकृति लिएका छैनन् । हामीले बारम्बार ताकेता गरिरहेका छौं । सञ्चारमाध्यममा आएका समाचारप्रति हामी जानकार छौं । अब कानुनी प्रकृयाबाट अघि बढ्छौं,’ प्रवक्ता गोवेले बताए।

पुष आठ गते सम्बन्धित ६ क्लबहरुले श्रम स्वीकृतिका लागि आवेदन दिएका थिए । आवश्यक कागजात पूरा नभएपछि विभागले थप कागजातको माग गरेको थियो । तर, विभागमा हालसम्म कुनै पनि क्लबले थप कागजात पेस गरेका छैनन् । विदेशी खेलाडीको सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँगै गृह मन्त्रालयको समेत सिफारिस आवश्यक पर्छ । श्रम स्वीकृतिका लागि प्रत्यक खेलाडी १५ हजार रुपैया राजश्व बुझाउनु पर्ने हुन्छ ।

‘श्रम स्वीकृतिका लागि प्रत्येक खेलाडीले १५ हजार रुपैया बुझाउनु पर्छ । यदि श्रम स्वीकृति नलिएपछि दुई लाख रुपैया सम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ,’ प्रवक्ता गोवेले बताए। विभागलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोगले पनि गत १८ गते सात दिनसम्म विदेशी खेलाडीले श्रम स्वीकृत लिए नलिएको विषयमा जवाफ पठाउन निर्देशन दिएको थियो ।

Logo