कप्तानको निर्णय छिट्टै हुन्छ : क्यान

काठमाडौं,
नेपाली क्रिकेट टिमको कप्तानको निर्णय छिट्टै नै हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

पारसले कप्तानीबाट राजीनामा दिएपछि उनलाई नै कप्तानीमा फर्काउने वा नयाँ व्यक्तिको खोजी गर्ने भन्ने विषयलाई क्यानले टुंग्याउने जनाएको हो । यसअघि पारसको आधिकारिक भनाइ क्यानमा नआएको भन्दै नेपाल क्रिकेट संघले राजीनामाका बारेमा प्रस्ट पार्न उनलाई पत्र पठाएको महासचिव अशोकनाथ प्याकुरेलले बताउनुभयो । जवाफमा पारसले इमेलमार्फत क्यानलाई आफ्नो राजीनामाका बारेमा सामाजिक सञ्जालमा आएको कुरा सही भएको बताएका छन् ।

पारसले क्यानलाई लिखित जवाफ पठाएपछि अब उनी कप्तानमा फर्कने सम्भावना लगभग न्यून भएको पनि महासचिव प्याकुरेलको भनाइ छ । पारसले आफ्नो चाहना अनुसार कप्तानी पदबाट राजीनामा दिएको पहिले नै बताउँदै आएका थिए । अबको कप्तान को भन्ने धेरै प्रश्नहरु उठिरहेका बेला अहिलेको विकल्पका रुपमा ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको नाम अघि आएको छ ।