मजदुरले मालिक हुने दुस्साहस गर्नुहुँदैन

कविका रूपमा उदाएका रमेश सायनको ‘भागेर भूगोलभरि‘ पुस्तक निस्कँदा उनको परिचयको घेरो निकै सानो थियो । जसै संस्मरणात्मक कृति ‘छुटेका अनुहार‘ प्रकाशन भयो, उनी एकाएक साहित्य जगतमा स्थापित भए । काठमाडौंको साहित्यिक वृत्तभन्दा निकै पर रहेका रमेशको यो पुस्तकको बिक्रीले धेरैलाई आश्चर्यमा पार्‍यो । यो पुस्तकलाई वर्ष २०७५ को उत्कृष्ट कृतिका रूपमा दुई लाख रुपैयाँ  राशिको पद्मश्री पुरस्कार पनि दिइयो ।

मोरङ उर्लाबारीका रमेश पोखरेल नै रमेश सायन हुन् र उनी लेखकीय संसारमा चर्चित भएका छन् भन्ने कुरा आज पनि उनको गाउँ र उनले काम गर्ने अफिसमा थाहा छैन । सञ्चारमाध्यममा पनि कमै देखिने रमेश पद्मश्री पुरकारका लागि काठमाडौं आएका बखत हामीले उनलाई भेट्यौं र लुक्नुको कारण बारे सोध्यौं ।

तपाईंले फेसबुकको परिचयमा आफूलाई किसान र मजदुर लेख्नुभएको छ । अब तपाईं लेखक हुनुभएन र ?

आजको दिन पनि म मजदुरी नै गर्छु । मजदुरी गरेरै आफ्नो र परिवारको पेट पाल्नु परेको छ । अलिकति बाको खेती छ, त्यहाँ किसानी पनि गर्छु । यी दुई बाहेक मेरो अरू परिचय छ जस्तो लाग्दैन । जहाँसम्म अब लेखक भएँ भन्ने प्रश्न छ, लेखेर मेरो कति गर्जो टरेको छ ? मजदुरी गरेजत्तिकै वा किसानी गरे जत्तिकै पैसा पाएको भए म लेखक पनि हुन्थेँ हुँला । तर अहिलेसम्म लेखक हुँ भन्ने अवस्था छैन ।

दुई लाखको पुरकार पाउनुभयो । गएको वर्ष धेरै बिक्री हुने पुस्तकमा ‘छुटेका अनुहार‘ पनि थियो…।

यो चाहिँ चिठ्ठा परेजस्तो अथवा कुनै अचानक भएको अतिरिक्त आम्दानी जस्तो मात्र हो । भोलि घर फर्केपछि मैले मजदुरी गर्नु परेन वा खेती नगरे पनि हुने अवस्था आयो भने पो म लेखक भएँ । कुनै पनि कोणबाट म लेखक भएको छैन । लेखक हुनुका धेरै पूर्वशर्त छन्, जुन पूरा भएको छैन ।

पुस्तकको बिक्री, लेखनको चर्चा, प्रतिष्ठित पुरस्कार । यी कुराहरू लेखक बन्नका लागि पर्याप्त होइनन् ?

होइनन् । अन्यथा अर्थ नलागोस्, मैंले आफूलाई लेखक ठान्नु भनेको ‘मुतको न्यानो’ जस्तो मात्र हो । आज पनि मलाई मेरो अफिसमा म दुई पुस्तक लेखिसकेको व्यक्ति हुँ भन्ने चिन्दैनन् । मेरा बा र दाजुहरूलाई पनि केही अघिसम्म म लेख्छु भन्ने थाहा थिएन । श्रीमती पनि लेखिका हुन्नथिइन् भने उनलाई पनि थाहा हुने थिएन । मेरा गाउँले साथीहरू, बाटामा भेटिने यात्रुहरू मलाई चिन्छन् तर मेरो लेखनलाई चिन्दैनन्, पढेका छैनन् । अनि के को लेखक ? गाउँ फर्किएपछि मैले मालिकको फ्याक्ट्रीमा काम गर्नै पर्छ । एक दिन काममा गइन भने मेरो ज्याला कट्छ । अनि के को फूर्ती लगाउनु, म लेखक भनेर ।

मोरङको पथरीजस्तो सानो बजारमा पनि तपाईं लेखक भनेर नचिन्ने कुरा हुन्छ ? अलि अपत्यारिलो कुरा भनेँ भन्ने लाग्दैन ?

लेखक कुनै सेलिब्रेटी हो र चिन्नलाई ? खासमा यो देशमा पढ्नेहरू निकै कम छन् । तपाईंका छिमेकी, नजिकैको चोक, तपाईंको अफिस, चिया खाने ठाउँमा भेटिने मानिसहरूमध्ये कतिले तपाईंलाई पढेका छन् ? उनीहरूले तपाईंलाई चिनेका होलान् तर तपाईंको लेखनलाई होइन । तपाईं आफैंले म लेखक हुँ भनेर परिचय दिएकै कारण उनीहरूले लेखक भनेर चिनेका हुन् ।

मेरो हकमा पनि भएको त्यही हो । गाउँमा म रमेश पोखरेल हुँ । किसानको छोरो र एउटा मजदुर हुँ । कुनै एउटा व्यक्तिले मलाई पढेर चिने भने, त्यो कुराले उसलाई छोयो भने म उनका लागि लेखक हुँ । त्यस्ता व्यक्ति बल्ल एकादुई हुन थाले । गाउँघरमा, मेरो मजदुरी गर्ने ठाउँमा मैले आफूलाई लेख्छु भनेर परिचय दिएको पनि छैन । अनावश्यक परिचय थोपर्न आवश्यक पनि छैन ।

किन ? लेखकका रूपमा परिचय दिनु गलत हो र ?

तपाईंलाई कसैले पढेको छ र उसलाई प्रभावित बनाएको छ भने उसको आँखा हेर्नुस्, उसले दिएको प्रतिक्रिया सुन्नुहोस्, उसको हाउभाउ हेर्नुस्, साँच्चिकै मन्त्रमुग्ध पार्ने खालको हुन्छ । खासमा लेखकले कसैबाट पाएको यस्तै प्रतिक्रियाका कारण ऊ आफू लेखक भएको कुरा सुनाउँदै हिँड्छ । आफै आफ्नो विज्ञापन गरेर लेखक भएको आत्मरतिमा रमाउँदै समाजमा परिचित हुन खोज्छ । त्यो त कुनै परिचय नै भएन । त्यो थोपरिएको परिचय हो । म चाहन्छु, पढेर लेखक चिनियोस् ।

आफूलाई लेखकका रूपमा परिचय गराउने रहर कहिल्यै जागेन ?

एकपल्ट विराटनगरबाट छापिने एउटा पत्रिकामा मेरो कविता छापियो । केही रहरे पत्रकार साथीहरूले म रहरे कविलाई नव प्रतिभाका रूपमा त्यहाँ ठाउँ दिएका थिए । पत्रिका छापिएपछि हौसिएर मैंले मेरो मालिकलाई बडो फूर्तिका साथ पत्रिका लगेर दिएँ र आफू कवि भएको घोषणा गरेँ । बदलामा उनले ‘यो लेख्ने व्यक्ति तैं होस् भन्ने के छ ? यो छापिएर के हुन्छ, तैंले गरिरहेको काम यो कविताले गर्छ’ भनेर अपहेलनाका साथ पत्रिका फ्याँकिदिए । अनि पो थाहा पाएँ, कविताको मूल्य नबुझ्ने ठाउँमा गएर कवि हुन खोजेछु । त्यस दिनदेखि आफूले लेखे पनि कसैलाई भनिन । लेखेका कुरा सञ्चारमाध्यममा छाप्न पनि पठाइन । केवल ब्लगमा लेखें । जसले खोज्यो, त्यहीँ खोज्यो । त्यही मान्छे मेरो सामाजिक सञ्जालमा जोडियो । नचिन्नेलाई, नखोज्नेलाई म लेख्छु भनेर भन्दै हिडिँन । आजसम्म पनि त्यसरी नै चलेको छु ।

अहिले केही परिवर्तन भएको छ कि ?

आज पनि नेपालमा मजदुर र मालिकबीच ठूलो विभेद छ । तपाईंले कुनै ड्राइभरले आफ्नो मालिकसँग बसेर एउटै टेबल सेयर गरेर खाना खाएको देख्नुभएको छ ? म एउटा चेतनशील मजदुर भएका कारण मजदुरहरूका यस्ता कुरा ध्यान दिएर उनीहरूसँगै बसेर अनुभव गर्न पाउँछु । बाहिर महान र चिप्ला कुरा गर्नेहरू आफ्ना अफिसभित्र कस्तो अवतारमा प्रकट हुन्छन् भन्ने थाहा पाउँछु । राजनीतिले ठूलो फड्को मारेको जुन कुरा गरिन्छ नि, फिल्डमा गएर हेर्दा थाहा हुन्छ, असलियत । यो असलियत बुझ्न पनि म आफ्नो परिचय लुकाउँछु ।

मालिक हुने रहर लागेन ?

मजदुरले मालिक हुने रहर गर्दा न ऊ मजदुर हुन सक्ने रहेछ, न मालिक नै । मजदुर कहिल्यै मालिक हुन सक्दैन भन्ने मेरो ठहर छ । केही समयअघि मैंले इटहरीमा कफी सप खोलेर मालिक हुने रहर गरेँ । आफूसँग भएको अलिकति पैसा लगाएँ । तर चलेन । मालिक हुनसक्नु क्षमता मात्र होइन, कला पनि हो । मेरा लागि मजदुर हुन धेरै सजिलो, मालिक हुन एकदमै गारो । खासमा म सजिलो जीवन बाँच्न पनि मजदुर भएको हुँ ।

तपाईंका लेखनमा यस्तै कुरा पढ्न पाइन्छ । कतिपयले तपाईंको लेखन बौद्धिक भएन पनि भन्ने गरेका छन् । के भन्नुहुन्छ ?

लेखक आफू जहाँ छ, त्यही कुरा लेख्ने हो । त्योभन्दा बाहिरका कुरा कसैले लेख्छ भने त्यो कृत्रिम हुन्छ । लेखक सुरुमा आफू रमाउन लेख्ने हो, त्यसैले मेरो लेखन बौद्धिक भयो भएन, राम्रो भयो भएन भनेर मैले चिन्ता गर्दिन । म खुसी भएँ कि भइन । मलाई सन्तोष प्राप्त भयो कि भएन भनेर लेख्ने हो । त्यसैले बाहिरी प्रतिक्रियाले धेरै फरक पार्दैन ।

‘छुटेका अनुहार’ मा पाएको सबैभन्दा राम्रो र खराब प्रतिक्रिया कुन हो ?

राम्रो भन्दिन तर खराब भन्छु । एक जना युवाले भने, ‘तपाईंको किताब पढेपछि मलाई हस्तमैथुन गरेजस्तै लाग्यो ।’ अर्कोले पनि फरक तरिकाले त्यस्तै कुरा भने, ‘तपाईंको बुक पढ्दा सेक्स गरेझैँ लाग्छ ।’ सुन्दा यो खराब प्रतिक्रिया हो तर मैले अनुभव गरेँ, उनीहरूलाई  सेक्स वा हस्तमैथुन गर्नुभन्दा माथिको आनन्द थाहा छैन । पढ्दा पनि आनन्द आउँछ भन्ने कुरा उनीहरूले अनुभव गरे । जुन खराब शैलीमा पुस्तकको प्रशंसा गरेको भन्ने लाग्छ ।

तपाईंलाई यस्ता प्रतिक्रिया सुन्दा कस्तो लाग्छ ?

मलाई कसैले प्रत्यक्ष प्रशंसा गरेको भन्दा लुकेर गरेको गाली प्यारो लाग्छ । एकपल्टको कुरा हो, म ट्याम्पुको अगाडिको ड्राइभरसँगैको सिटमा थिएँ । पछाडि यात्रुहरूमध्ये दुई तीनजनाले ‘छुटेको अनुहार’को कुरा गरे । उनीहरूबीच यो पुस्तक राम्रो कि नराम्र्रो भन्ने कुरामा केही क्षण बहस चलिरह्यो । त्यो बेला मलाई अपूर्व आनन्द आइरहेको थियो । मैले लेखेका साना साना कुरामा उनीहरू पक्ष र विपक्षमा बाँडिएका थिए । लेखकले लेखेपछि त्यो उसको निजी कुरा रहदैन भन्ने अनुभव भइरहको थियो ।

केही वर्षका लागि तपाईं कोरिया पनि जानुभयो ? यस विषयमा तपाईंलाई केही भन्न मन लागेको छ ?

एउटा मजदुर कहिले स्वदेशमा मदजुरी गर्छ, कहिले विदेशमा । यो नयाँ कुरा पनि होइन । नयाँ कुरा के हो भने कोरियाजस्ता देशमा मजदुर र मालिकले एउटै टेवलमा खाना खान्छन् । सँगै एकै किसिमका काम गर्छन् । नेपालमा त्यो सौभाग्य जुर्दैन ।

तपाईंकी श्रीमती पनि लेखिका हुनुहुन्छ । कसरी भेट भयो ? लेखनमा एक अर्काको सहयोग हुन्छ कि हुन्न ?

हामीजस्ता अल्लारेहरूलाई मनपर्ने भनेको साहित्यिक कार्यक्रमहरू हुन् । यस्तै कार्यक्रममा उनीसँग भेट भयो । कुरा मिल्यो र बिहे पनि भयो । जहाँसम्म लेखनमा एक अर्काको सहयोगको कुरा छ, उनी मेरी पाठक, सुझाव पाउने सहयोगी र जीवनसाथी सबै हुन् । उनको र मेरो फरक के छ भने म अब के लेख्दै छु, कस्तो लेख्दै छु सबै कुरा उनीसँग सेयर गर्छु । तर उनी लेखेपछि फाइनल ड्राफ्ट मात्र देखाउँछिन् । खासमा उनी मभन्दा राम्री लेखिका हुन् । तर उनी पनि लेख्छिन् भन्ने हाम्रो लेखक समूहबाहेक अरूलाई थाहा छैन । अरूलाई त्यसको महत्व थाहा हुने कुरा पनि भएन ।

तपाईं कुन बेला लेख्नुहुन्छ ? लेख्नुअघिको बेचैनी, र अप्ठ्याराहरू के हुने गरेका छन् ?

विषयहरू आएपछि स्वभाविक रूपमा छटपटी हुन्छ । कहिलेकाहीँ श्रीमतीलाई सुनाउँछु वा एक प्यारा लेखेर भए पनि देखाउँछु । तर मेरो मुख्य लेखन भनेको पैदल यात्रामा हुन्छ । विषय मनमा आउने बित्तिकै म पैदल यात्रामा निस्कन्छु । एक्लै दुई चार किलोमिटरको यात्रा गर्दा दिमागमा शब्द शब्द फुराउँछु र मस्तिष्कमा पूरा ड्राफ्ट तयार पार्छु । त्यसपछि त्यसलाई सररर्र उतार्छु ।

आजभोलि तपाईंले ब्लग लेख्न छाड्नुभयो, किन ?

त्यो बेला आजको जस्तो सोसल मिडिया एक्टिभ थिएन । सञ्चारमाध्यम पनि थिएनन् । हिजो कुरा मनका कुरा लेख्न ब्लगको प्रयोग गरिन्थ्यो । त्यस्ता धेरै साथीहरू थिए । आज तिनै साथी मिडियामा छन् । उनीहरूले लेख रचना मागिरहेका हुन्छन् । अहिले ब्लगमा पोस्ट गर्नुभन्दा सञ्चारमाध्यममा पठाउन सजिलो भएको छ । ब्लगको कुरा आइहाल्यो, यसमा चाहिँ एउटा कुरा भन्छु, त्यो बेला ब्लगमा नलेखेर सञ्चारमाध्यममा छाप्ने लोभ गरेको भए म यस्तो हुने थिइन । साथीहरू भन्छन्, मेरो लेखाइमा एकप्रकारको अर्गानिकपन छ । त्यो अर्गानिकपन ब्लगले दिएको हो । नत्र कुन पत्रिकामा पठाउने हो, त्यो सम्पादकको रुचि हेरेर लेखिन्थ्यो होला । त्यसमा सम्पादकले आफ्नै शैलीले सम्पादन गर्थे । त्यसपछि त्यो रमेश शायनको होइन, सम्पादकको शैलीको बन्दथ्यो । धन्न, मेरा कोही गुरु वा सम्पादक भइदिएनन् ।

तपाईंलाई सबैभन्दा सजिलो लाग्ने काम ?

माफी । म कुनै गल्ती बोकेर बाँच्न सक्तिन । सानैदेखि आफूले गरेको गल्तीको प्रायश्चित्त गर्ने अवसर पाएँ । एकपल्ट दसैंका लागि भनेर राखेको हर्पेको घिउ मज्जाले खाइदिएँ । पछि थाहा भयो, त्यो त दसैंका लागि राखिएको थियो । मलाई लज्जाबोध भयो र रोएँ । मेरो प्रायश्चित्त देखेर आमाले खीर खुवाउनुभयो । पश्चात्तापको परिणाम राम्रो हुन्छ भन्ने त्यही बेला थाहा पाएँ । त्यसबेलादेखि आजपर्यन्त मैले माफी माग्दै आएको छु । कतिपय सम्बन्ध त मेरो एकतर्फी माफीकै कारण टिकेका छन् । आज म ठाडो शिर पारेर किन हिँड्छु भने म गल्तीका बेला शिर निहुराउन सक्छु ।

जीवनमा सबैभन्दा नराम्रो आदत अथवा दुर्व्यसन ?

पुस्तक पढ्ने । कतिसम्म भने पाठ्यपुस्तकका बीचमा राखेर पुस्तकहरू पढ्थेँ । उमेर नहुँदै मैले नेपालका सबैजसो राम्रा भनिएका पुस्तकहरू पढिसकेको रहेछु । पारिजात, बीपी कोइराला, मनदमणि दीक्षित, सरुभक्त, दौलतविक्रम विष्ट, गोविन्द मल्लजस्ता अनेक साहित्यकारहरूको पुस्तक पढेको रहेछु । जब कि कति बुझेँ हुँला, त्यो आफ्नो ठाउँमा छ । तर अरू बाहिर खेल्न जाँदा म खुुब मेहेनत गरेर ती पुस्तकहरू पढिरहेको हुन्थेँ । शिक्षकहरूले पनि पाठ्यपुस्तक नपढे पनि राम्रा पुस्तक पढ्छ भनेर छुट दिनुहुन्थ्यो । आज पनि त्यो व्यसन जारी छ । यसले गर्दा अन्य व्यसनमा फस्न दिएन ।