हरेक हप्ता २ पत्रकारको हत्या – युनेस्को

हालै संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन अर्थात् युनेस्कोले ‘इन्टेन्सिफाइड एट्याक्स, न्यु डिफेन्स’ शीर्षकको एक रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्ट संसारभरिका पत्रकारहरूको जीवन कत्तिको जोखिममा छ भन्नेबारे रहेको छ ।

सार्वजनिक रिपोर्टअनुसार २०१४ देखि २०१८ सम्म संसारभरि करिब ५ सय पत्रकारको हत्या गरिएको छ । २००९ देखि २०१३ सम्मको तथ्यांक हेर्ने हो भने यस्तो खालका घटनामा १८ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

मारिएकामध्ये १ सय ४९ जना अरबी राज्यमा मारिएका छन् । तसर्थ उक्त क्षेत्रलाई मिडियाका लागि सबैभन्दा घातक क्षेत्र भनेर पनि सूचीकृत गरिएको छ । त्यसैगरी ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा १ सय २७, एसिया र प्रशान्त क्षेत्रमा १ सय २० पत्रकार मारिएका छन् । त्यस्तै अफ्रिकामा ५१ र पश्चिमी युरोप एवं उत्तरी अमेरिकामा २८ जना तथा मध्य र पूर्वी युरोपमा २० जना पत्रकार मारिएका छन् ।

संसारभरिको पत्रकारहरूका लागि यो तथ्यांकले ठूलो झट्का दिएको छ । पत्रकारको ज्यान हरेका ठाउँमा जोखिमपूर्ण छ भनेर तथ्यांकले प्रमाणित गर्दछ । उक्त रिपोर्टका अनुसार यसले पत्रकारहरूको मनोबल तथा काम गर्ने उत्साहमा समेत नकारात्मक असर गरेको छ । मारिनेमा ९१ प्रतिशत स्थानीय पत्रकार रहेका छन् ।

यो रिपोर्टले एउटा अर्को नयाँ कुरालाई पनि सार्वजनिक गरेको छ । २०१४ देखि २०१५ को रिपोर्टअनुसार द्वन्द्वग्रस्त क्षेत्रमा मारिनेको संख्या धेरै थियो भने २०१७ र २०१८मा द्वन्द्वग्रस्त क्षेत्रबाहिर मारिने पत्रकारको संख्या धेरै रहेको छ । यो विषयले पनि पत्रकारहरूमाथि ठूलो किसिमको डर पैदा भएको छ । रिपोर्टअनुसार यस्तो घट्नाको कारणले भ्रष्टाचार, अपराध एवं राजनीतिक विषयमा समाचार लेख्ने पत्रकारको संख्या घटेको छ ।

मारिनेमा महिला र पुरुष पत्रकारको संख्यामा पनि ठूलो अन्तर रहेको छ । मृत्यु हुनेमा पुरुष पत्रकारको संख्या बढी छ । ४ सय ४९ जना पुरुष पत्रकार मारिएका छन् भने महिला पत्रकारको संख्या ४६ छ । २००९ देखि २०१३ सम्मको रिपोर्टसँग तुलना गर्ने हो भने मारिने महिला पत्रकारको संख्या अहिले दोब्बर बढेको छ । २००९ देखि २०१३ को अवधिमा २४ जना महिला पत्रकारले ज्यान गुमाएका थिए ।

उक्त रिपोर्टले कुन प्रकारको मिडियामा काम गर्नेहरू धेरै मारिएको छन भन्ने तथ्यांक पनि पेश गरेको छ । तथ्यांकले टेलिभिजनमा काम गर्ने पत्रकारहरूको ज्यान बढी जोखिममा छ भन्ने देखाउँछ । तथ्यांकअनुसार टेलिभिजनमा कार्यरत ३२ प्रतिशत, प्रिन्ट मिडियामा २६ प्रतिशत, रेडियोका १९ प्रतिशत, अनलाइनका १५ प्रतिशत र क्रसओभर प्लेटफर्मका ७ प्रतिशत पत्रकारहरू मारिएका छन् ।

२०१४ देखि २०१८ को अन्तरालमा सबैभन्दा धेरै पत्रकार सिरियामा मारिएका छन् । सिरियामा ५४ जना पत्रकारको मृत्यु भएको छ । त्यसपछि मेक्सिकोमा ५३ जना, अफगानिस्तानमा ४६ जना, इराकमा ३६ जना, यमनमा ३१ जना, ब्राजिलमा २३ जना, भारतमा २२ जना र पाकिस्तानमा २१ जना पत्रकारहरूले ज्यान गुमाएका छन् ।

रिपोर्टले अर्को एउटा गम्भीर विषयका बारेमा पनि खुलासा गरेको छ । मारिएका पत्रकारहरूमध्ये ८८ प्रतिशतको मुद्दाको समाधान भएको छैन । १२ प्रतिशतको मुद्दा मात्र समाधान भएको छ । ३४ प्रतिशतका बारेमा कुनै जानकारी आएको छैन भने ५४ प्रतिशतको मुद्दामा छानबिन भइरहेको छ ।

घातक आक्रमणहरूदेखि बाहेक पत्रकारहरू डिजीटल थ्रेटको पनि सिकार हुन थालेका छन् भनेर उक्त रिपोर्टमा बताइएको छ । महिला पत्रकारहरू आफ्ना पुरुष सहकर्मीहरूहरूबाट भन्दा पनि अनलाइन एब्युज र उत्पीडनबाट बढी पीडित हुन्छन् भनेर रिपोर्टले देखाउँछ ।
उक्त रिपोर्ट संसारभरिका पत्रकारहरूको नाजुक अवस्था देखाउँछ । पत्रकारहरूलाई स्वतन्त्रताको साथ काम गर्ने वातावरण मिल्न नसकेको कुरा उक्त रिपोर्टले खुलासा गर्छ । पत्रकारहरू हकहितको लागि लड्न संघ संस्था वा अरू कुनै सम्बन्धित निकायहरूले प्रभावकारी कदम चाल्नु पर्ने अवस्था देखिएको छ ।