धनकुटा महोत्सवमा झडप हुँदा दर्जनभन्दा बढी घाइते

धनकुटा महोत्सवमा झडप हुँदा दर्जनभन्दा बढी घाइते


धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरुको भीडमा झडप हुँदा दर्जनभन्दा बढी घाइते भएका छन्।

आयोजकले टिकट नकाटी दर्शकलाई कार्यक्रम स्थलभित्र छिर्न नदिँदा भएको झडपपछि भागाभाग हुँदा दर्जनभन्दा बढी घाइते भएका हुन्। घाइते भएकामध्ये अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। अत्यधिक मात्रामा आएका दर्शकलाई आयोजकले टिकट नकाटी भित्र पस्न नदिएपछि गेटमा भीड हुँदा चेपिएर धेरैजसो घाइते भएका हुन्।

अहिलेसम्म महोत्सवमा भएको घटनामा कसैको पनि मृत्यु भएको सूचना नआएको प्रहरीले जनाएको छ। च्यापिएर ३ जनाभन्दा बढी गम्भीर घाइते भएको सूचना आएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाकी निमित्त प्रमुख ममता सुवेदीले घटनाको विस्तृत विवरण आइनसकेको बताइन्। उनले दर्जनभन्दा बढी घाइते भएको भन्ने सूचना आएको बताइन्।

सांगीतिक कार्यक्रम सकिएपछि हाउजी खेलमा भने निःशुल्क रूपमा प्रवेश पाउने आशामा कार्यक्रम स्थलको गेटमा सर्वसाधारण बसेका कारण भीड भएको हो। भीड बढी भएपछि पनि महोत्सव आयोजकले कार्यक्रम स्थलमा पस्ने गेट नखोलेपछि झडप भएको थियो। झडपपछि भागाभाग मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन्। झडपपछि धनकुटा महोत्सवको शनिबारको सबै कार्यक्रम स्थगन भएको छ ।

Logo