सम्पूर्ण माओवादी घटकहरु एक ठाउँमा केन्द्रीत हुने समय आयाे -प्रधानमन्त्री प्रचण्ड

सम्पूर्ण माओवादी घटकहरु एक ठाउँमा केन्द्रीत हुने समय आयाे -प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गरेका छन् । 

आईतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरुलाई एकताबद्ध हुन आग्रह गरेका हुन् । उनले सबै माओवादीहरु एक ठाउँमा केन्द्रित हुने समय आएको बताए । 

प्रधानमन्त्री प्रचण्डले विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरु समेटेको भन्दै एकअर्काको अनुभवहरुलाई आफ्नै अनुभवको रुपमा लिएर एकतावद्ध हुनुपर्ने बताए । उनले आफुले एकताका लागि सबै सँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको बताए । 

उनले आफूमाथि जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न दबाब र घेराबन्दी बिरुद्ध लडिरहेको बताए । उनले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरु पनि विभिन्न घेराबन्दीकाबिरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने बताए । आफूहरु एक हुनु नै शहीद र बेपत्ता योद्धाहरुप्रति इमान्दार भएको ठहरिनु हुने उनको भनाई छ । 
 
प्रधानमन्त्री प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री भएसँगै जनयुद्धका शहीदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने लगायतका निर्णयहरु गराउन सफल भएको पनि बताए  ।

Logo