काँग्रेस महामन्त्री शर्माको प्रस्तावः दोहोरिएर राष्ट्रपति नबन्ने व्यवस्था गरौं

काँग्रेस महामन्त्री शर्माको प्रस्तावः दोहोरिएर राष्ट्रपति नबन्ने व्यवस्था गरौं


नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । 

राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने महामन्त्री शर्माको भनाई थियो । नेपाल ट्रेड युनियन काँग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्दै उनले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहो-याएर सपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौँ राष्ट्रपति पाईसकेको हुने स्मरण समेत गराए ।  

‘राजनीतिमा रुपान्तरण भन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस् । दुई पटक प्रधानमन्त्रीको सपथग्रहण गरोस् । ३ पटक मन्त्री हुँदैगर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस् । ४ पटकसम्म सांसद बनोस् । पाँचौं पटक उसले आर्थिक रुपान्तरणको काममा हात हालोस् ।’ उनले भने । 

उनले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तराष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरे । मुलुकलाई प्रतिफल दिन सक्ने आयोजनाहरुको छनौट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको पनि उनले बताए । 

महामन्त्री शर्माले राष्ट्रिय उत्पादन वृद्धि गर्ने काममा तीव्रता दिने गरी सरकारले काम गर्नुपर्ने बताए । उनले नयाँ पुस्तालाई वितृष्णा हुने गरी रेलमार्गलगायतका आयोजनाहको छनौट गर्न नहुने पनि पटकपटक दोहो-याए । 

राजनीति जनताको आर्थिक रुपान्तरणमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने महामन्त्री शर्माले स्पष्ट पारे । 

Logo