काठमाडौं उपत्यकामा आज ३ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३ संक्रमित थपिए


काठमाडौं ।

आज काठमाडौं उपत्यकामा ३ जना संक्रमित थपिएका छन् । आज काठमाडौंकै मात्र ३ जना थपिएका हुन् भने ललितपुर र भक्तपुरमा संक्रमित थपिएका छैनन् ।

अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कूल संख्या ३८३ पुगेको छ । जसमा काठमाडौंमा २५८ जना, ललितपुरमा ७८ र भक्तपुरमा ४७ जना रहेका छन् ।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षिय पुरुष र ४९ वर्षिय चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका ६० वर्षिय पुरुषको साउन ६ गते निधन भएको हो । खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनी साउन २ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए । सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।

यस्तै पोखरामा काम गर्दै आएकी एक ४९ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि थप उपचारका लागि टिचिङ लगिएकोमा बुधबार निधन भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

बुधबार देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । जसमा १ सय जनामा पोजेटिभ देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । अहिले संक्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको प्रवक्ता डा. गौतमले बताए ।

अहिले विभिन्न अस्पतलाका आइसोलेसनमा ५ हजार ३ सय ७० जना उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय १९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७८, बागमती प्रदेशमा ४ सय २० र गण्डकी प्रदेशमा ३ सय ८९ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ४५, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय २७ जना संक्रमित उपचाररत रहेका छन् ।

बुधबार २ सय ७ जना डिस्चार्ज भएका छन् । आजसम्म १२ हजार ६ सय ८४ जना संक्रमित निको भएर डिस्चार्ज भएकोमा प्रदेश नम्बर १ मा ७ सय ५२, प्रदेश नम्बर २ मा २ हजार ८ सय ३५, बागमती प्रदेशमा ४ सय ५६ र गण्डकी प्रदेशमा १ हजार २४ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ४८, कर्णाली प्रदेशमा १ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा २ हजार २ सय २ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

बुधबार २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ५ सय ५८, प्रदेश नम्बर २ मा २ हजार ३ सय ९७, बागमती प्रदेशमा १ हजार ४ सय ८४ र गण्डकी प्रदेशमा ३ हजार ३ सय ९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार २ सय २४, कर्णाली प्रदेशमा १ हजार ३ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् ।

Logo