देशभर बाढी, पहिरो र डुबानको खतरा : यस्तो छ सरकारी तयारी (भिडियोसहित)

देशभर बाढी, पहिरो र डुबानको खतरा : यस्तो छ सरकारी तयारी (भिडियोसहित)


काठमाडौं ।

नेपालमा पछिल्लो तीन महिनामा विपद्जन्य घटनामा परेर १५५ जनाको मृत्यु भएको छ । नेपालमा गत जेठ ३० देखि मनसुन भित्रिएको थियो । त्यसयता मात्रै मनसुनजन्य विपद्का घटनाबाट १ सय १० जनाको मृत्यु भएको छ ।

विभिन्न ठाउँमा गएको बाढी, पहिरो, चट्याङ सर्पदंश लगायतका मनसुनजन्य घटनाबाट ३० दिनको अवधिमा १ सय १० जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । अझै ३२ जना बेपत्ता रहेका छन् भने १ सय ३२ जना घाइते छन् । विपदबाट ४ सय १८ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । पहिरोका कारण मात्रै ८१ जनाको मृत्यु भएको छ । देशका विभिन्न ३३ जिल्लामा विपदबाट मानविय क्षति भएको छ भने ६० जिल्लामा विपद्का घटना घटेका छन् ।

सोमबारदेखि फेरि ५ दिन देशभरी भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू—भाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ ।

साउनको ५ देखि ८ गतेसम्म प्रदेश नं १, २, बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, नारायणी, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछ ।

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भइ बग्ने स–साना नदीनालामा साउन ९ गतेसम्म नै आकस्मिक बहावको सम्भावना छ । साउनको ५ देखि ७ गतेसम्म प्रदेश नं ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा समेत बहाव बढ्नेछ । केही नदी सतर्कता तह आसपास पुग्नेछन् । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना रहेको विभागका महानिर्देशक सरजु कुमार वैद्यले बताएका छन् । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उनको भनाई छ । मनसुन सुरु हुनु भन्दा पहिले देखि नै औषतभन्दा बढी वर्षा भइरहेको उनी बताउँछन् । हेरौं यो भिडियोमा :

 

Logo