अनेरास्ववियुले अबदेखि शैक्षिक संस्थामा तालाबन्दी नगर्ने

अनेरास्ववियुले अबदेखि शैक्षिक संस्थामा तालाबन्दी नगर्ने


नेकपा(एमाले) निकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ । 

अनेरास्ववियुले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कुनै पनि कार्यक्रम नगर्ने सङ्गठनका अध्यक्ष समिक बडालले जानकारी दिए । 

“अहिले तालाबन्दीका कारणले विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त भएका छन्”, उनले भने, “अबदेखि अखिलले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी गर्दैन, तल्लो कमिटीलाई तालाबन्दी नगर्न हामीले निर्देशन दिइसक्यौँ ।” अहिले नेपाल संस्कृति विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन् । 

अध्यक्ष बडालले तालाबन्दीका कारण विद्यार्थीको पठनपाठनसहित विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त बन्ने भएकाले तालाबन्दीको विकल्पका रुपमा अन्य आन्दोलन गर्ने बताए । 

पत्रकार भेटघाटमा उनले सामुदायिक विद्यालय सुधार गर्न स्थानीय तहले गरेको कार्यलाई सहयोग गर्ने भनाइ राखे । उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक नभइ ‘बोर्ड अफ ट्रस्ट’का आधारमा गर्न सरकारलाई दबाब दिने बताए । 

दश हजार कमिटी गठन

यसैगरी अखिलले सङ्गठन विस्तारका लागि १० हजार कमिटी गठन गर्ने अभियान थालेको छ । छ महिनाभित्र वडा तह, पालिका तह, क्याम्पस तहसम्म १० हजार कमिटी गठन गर्ने अध्यक्ष बडालले जानकारी दिए । 

अभियानकै क्रममा अहिले क्याम्पस तहमा सदस्यता विवरण गरिरहेको जनाइएको छ । यही साउन १ देखि १० गतेसम्म क्याम्पसमा सङ्गठनका लागि सदस्यता विवरण गरिरहेको उनको भनाइ छ । क्याम्पसपछि कक्षा ११ र १२ मा अध्ययनरत रहेका विद्यार्थीलाई अखिलको सदस्यता विवरण गर्ने जनाइएको छ । 

अध्यक्ष बडालले आफ्नो सङ्गठनले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई अखिलको सदस्य नबनाउने घोषणा गरे ।

Logo