मनमोहन अस्पतालका फार्मेसी प्रमुखका आफन्त न्याय माग्दै धर्नामा

मनमोहन अस्पतालका फार्मेसी प्रमुखका आफन्त न्याय माग्दै धर्नामा


मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जका फार्मेसी प्रमुख स्व. अमृत पोखरेलका आफन्त न्याय माग्दै धर्नामा बसेका छन् । 

गत असार २९ गते विहान अस्पतालमा नै झुण्डिएको अवस्थामा फेला परेका पोखरेलको बारेमा अहिले छानविन जारी छ । पोखरेलले लेखेको सुसाइड नोटमा औषधि खरिदमा भएको अनियमिततामा आफूलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको उल्लेख गरेका थिए। त्यसलगत्तै मृतकका आफन्तको जाहेरी परेपछि मृत्युबारे अनुसन्धान गर्न प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

आत्महत्या दुरुत्साहनको कसूरमा परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले सेन्टरका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई प्रहरीको नियन्त्रणमा छन् । 

छानविन जारी रहदा पोखरेलका आफन्तले सोमबारदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । मृतककी जेठी सासु मञ्जु पराजुली आफ्नो ज्वाई अन्यायमा परेको बताइन् । उनले भनिन्, ‘उहाँ धेरै नै सालिन व्यक्ति हुनुहुन्थ्यो । कसैले पनि यसरी अन्यायमा पारेर उहाँको भावनासंग खेल्न पाउँदैन् । यसमा हस्पिटल प्रशासन जिम्मेवार हुनुपर्छ ।’ 

यस्तै, मृतकको मामा ससुरा घनश्याम बस्यालले प्रशासनिक दबाब सहन नसकेर आत्महत्या गरेको दावी गरेका छन् ।  
उनले भने, ‘टिचिङ हस्पिटलको मनमोहन कार्डियो स्टोरमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई दुई महिना सम्मको प्रशासनिक दवाव सहन नसकेर प्रशासनको स्टोर भित्रै आत्महत्या गर्नु भयो । सोही अनुसारको कारवाही हुनुप-र्यो । पीडितलाई उचित क्षतिपूर्ति दिनुप-र्यो ।’ 

धर्नामा बसेकी मृतककी भाउजु रिमा आचार्य पोखरेल छानविन निष्पक्ष होस् भन्ने माग गर्दै आफूहरु धर्नामा बसेको बताइन् । उनले भनिन्, ‘प्रतिवेदन आएको छ तर के छ भनेर हामीलाई थाहा छैन् । हाम्रो पक्षमा छ कि विपक्षमा छ । यसमा निष्पक्ष छानविन हुनुप-र्यो । त्यो छानविनमा कतै त्रृटि नहोस भनेर हामी यहाँ छौं । जो दोषी छ त्यसलाई कारवाही होस् ।’ 

घटना अनुसार फार्मेसीमा औषधि बिक्रीको हिसाबमा भएको गडबडी पछि यो अवस्था उत्पन्न भएको थियो । फार्मेसी पढाइमा गोल्ड मेडलिस्ट पोखरेललाई आत्महत्या जस्तो कठोर कदम चाल्न बाध्य बनाएको भन्दै दोषीलाई हदैसम्मको कारबाहीको माग चर्किएको छ। नेपाल फार्मेसी एसोसिएसनले पनि एक विज्ञप्ति निकाल्दै फर्मासिष्ट अमृत पोख्रेललाई आत्महत्या गर्न बाध्य बनाउने दोषीहरुलाई कडा कारबाहीको माग गरेको थियो । 

Logo