पर्वतको महाशिलामा फलामखानी उत्खनन् सुरु

पर्वत ।
झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशिला गाउँपालिका–६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी उत्खनन प्रक्रिया सुरु भएको छ ।

खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौं आफैँले खानीको उत्खनन् प्रक्रिया सुरु गरेको हो । विभागले चालू आर्थिक वर्षमा फलामखानीको विस्तृत सर्वेक्षण थालेको छ । त्यसका लागि विभागका वरिष्ठ भूगर्भविद् ठाकुर कँडेल, भूगर्गविद् प्रकाश पोखरेलसहितको टोलीले एक सातादेखि अध्ययन गरिरहेको छ । टोलीले सम्भावित ठाउँहरुमा फलामको मात्रा र गुणस्तर के–कति छ भनेर अध्ययन गरिरहेको भूगर्भविद् पोखरलेले जानकारी दिए।

उनका अनुसार इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी) को माध्यमबाट अध्ययन अनुसन्धानकोे काम भइरहेको छ । अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमीनमुनि भएको पाइएको छ । दुईदेखि आठ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ । टोलीले नमूना सङ्कलन पनि गरिरहेको पोखरेलले बताए । उनले भने, “यहाँको परिमाण र गुणस्तरका बारेमा विस्तृत अध्ययनको प्रतिवेदनपछि अगाडिको काम शुरु हुन्छ ।”

यहाँ दुई किलोमिटर लम्बाइमा खानी फैलिएको देखिन्छ । उनका अनुसार अध्ययनकै क्रममा रहेकाले विस्तृत विवरण आइसकेको छैन । विभागको मानदण्ड अनुसारको प्रतिवेदन आएमा फलामखानी उत्खनन् प्रक्रिया शुरु हुन्छ । “यस वर्ष विस्तृत सर्वे गर्छौँ, सबै प्रतिवेदन सकारात्मक आएमा अर्को आर्थिक वर्षदेखि उत्खननको काम शुरु हुन्छ”, पोखरेलले भने ।

नेपाल सरकारले बन्द रहेका फलामखानीको उत्खननमा तदारुकता देखाएसँगै कँडेल नेतृत्वको टोलीले सम्भावित क्षेत्रहरुमा अध्ययनलाई तीव्रता दिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिए । धुँवाकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच वि.सं. ०६७ पुस ८ मा सम्झौता पनि भएको थियो । उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागले नै काम शुरु गरेको पोखरेलले बताए ।

उक्त फलामखानी सदरमुकाम कुश्माबजारबाट झण्डै ४० किलोमिटरको दूरीमा रहेको छ । महाशिलाको लुङ्खु र फलामखानी क्षेत्रमा फैलिएको उक्त खानीको विस्तृत सर्वेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयवासीले माग गर्दै आएका थिए ।

पछिल्लो समय गाउँपालिकाले पनि खानी सञ्चालनका लागि चासो देखाएको थियो । सत्तरी वर्ष अघिदेखि यहाँ स्थानीयवासीले फलाम उत्खनन् गर्दै आएका थिए । यहाँको फलाम अन्यत्रजस्तो प्रशोधन गर्नुपर्ने नभएको पाकापुस्ताको भनाइ छ । खानीबाट निकालेको फलाम सिधै तताएर आवश्यक सामग्री बनाउन सकिन्छ ।

उतिबेला यहाँको फलामबाट बनेका घरेलु हतियार बागलुङ, पाल्पा, स्याङ्जाका विभिन्न गाउँमा बिक्री हुन्थ्यो । आधुनिक मेसिन र सडकको यात्रा नहुने भएकाले पर्वत आसपासका खोलामा निर्माण भएका पुलमा समेत यहीँको फलामबाट बनेका लठ्ठाको प्रयोग गरिएको थियो । मोदीवेणी र जैमिनीघाटका पुलमा अझै पनि फलामखानीको फलामले बनेका लठ्ठाका पुल देख्न सकिन्छ ।

यहीँको फलाम निकालेर बिक्री गरेर अहिलेभन्दा पाँच दशकअघिसम्म फलामखानीका करीब ४०० परिवारको रोजीरोटी चलेको थियो । गाउँभरि फलामको खानी भएकैले उतिबेला यो गाउँको नामै फलामखानी राखिएको वडाध्यक्ष सुनारले बताए । फलामखानीमा बसोबास गर्ने विक र दर्जी परिवारबाट कम्तीमा एक जना उतिबेला फलामको खानीमै बास बस्ने गर्दथे । स्थानीय अगुवा गोविन्दबहादुर विश्वकर्माका अनुसार तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० को दशकमा केन्द्र सरकार र विभिन्न खानी तथा भूगर्भशास्त्रीहरूसँग यहाँको खानी उत्खनन् गर्न विभिन्न प्रयासहरू गरेको भए पनि सम्भव भएको थिएन ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार