कोरोना बीमा कसरी गर्ने ? यस्तो छ प्रक्रिया

कोरोना बीमा कसरी गर्ने ? यस्तो छ प्रक्रिया


काठमाडौं ।

नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएपछि बीमा समितिले लघुबीमा अन्र्तगत कोरोना बीमा योजना सुरु गरेको हो । समितिले नेपाली जनतालाई समाज सेवाको भावले राहत प्रदान गर्ने उद्देश्यले कोरोना बीमा सुरु गरेको हो । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बीमा समितिले औपचारिक रुपमा कोरोना बीमाको सुरुवात गरेको थियो ।

समितिले निर्जीवन बीमा कम्पनीहरुलाई सूचना प्रकाशन गरेरै कोरोना बीमा पोलिसी जारी गर्ने निर्देशन दिएको थियो । सरकारले गत चैत ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको छ । सो अवधीभर बीमा कम्पनीहरुले धमाधम कोरोना बीमा गरे । जब कोरोना भाइरसका संक्रमितहरु बढ्दै गए तब कम्पनीले धान्न नसक्ने भन्दै बन्द गरियो । समितिले पनि बन्द गर्न अनुमति दिएको थियो । तर पछि सरकारले जिम्मा लिने भएपछि कोरोना बीमा पुनः सुरु भयो । अहिले नेपालमा बीमा कारोबार गर्न अनुमति प्राप्त १८ वटा नेपाली निर्जीवन बीमा कम्पनी र दुई वटा विदेशी कम्पनीको नेपालस्थित शाखा कार्यालयले कोरोना बीमा पोलिसी बिक्री गरिरहेका छन् । कोरोना बीमा पुलमार्फत जीवन बीमक संघले व्यवस्थापन गर्दै आएको छ । कोरोना बीमाको जोखिम एउटा मात्रै कम्पनीले मुनाफा वा जोखिम बहन गर्दैनन् । त्यसकारण नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत र बाँकी ८० प्रतिशत २० वटा कम्पनीले आम्दानी र जोखिम वहन गर्ने व्यवस्था गरिएको छ ।

कतिमा गर्न सकिन्छ कोरोना बीमा ?

बीमा कम्पनीहरुले संचालन गरेको कोरोना बीमाका दुईवटा योजना छन् । जसमा १ लाख र ५० हजार रुपैयाँ बीमाङ्कको रहेको छ । १ लाख बीमाङ्कको बीमा गर्न चाहेमा प्रतिव्यक्ति १ हजार रुपैयाँ तिर्नुपर्छ भने परिवारको बीमा गर्दा ६०० रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । त्यस्तै, ५० हजारको बीमा शुल्कको आधा बीमा शुल्क तिरेर गर्न पाइने व्यवस्था छ ।

यस्तो छ कोरोना बीमा गर्ने प्रक्रिया

कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नीर्जिवन बीमा कम्पनीहरुले धमाधम कोरोना बीमा गरिरहेका छन् । लकडाउन अवधीभरि बीमा कम्पनीहरुले अनलाईनको माध्यमबाट यस्तो बीमा गरिरहेका थिए । पछिल्लो समय बीमा कम्पनीहरु खुलिसकेका छन् । त्यसकारण बीमा कम्पनीमा स्वयं गएर पनि यस्तो बीमा गर्न सकिन्छ । बीमा कम्पनीहरुले अनलाईन एप्स नै संचालन गरेका छन् । संचालनमा रहेका कुल २० वटा नीर्जिवन बीमा कम्पनीहरुबाट घरमै बसी बसी पनि यस्तो बीमा गर्न सकिन्छ । बीमक संघका अनुसार कोरोना बीमा पोलिसी बिक्रि हालसम्मकै सजिलो व्यवस्था भएको छ ।

कोरोना बीमा के हो ?

कोरोना भाइरसको जोखिम बढेपछि सबै बीमा कम्पनीहरु मिलेर सामूहिक रुपमा जोखिम बहन गर्ने गरी सामाजिक सेवाको उद्देश्यका साथ बीमा समितिले सुरु गरेको एक प्रकारको लघु बीमा योजना हो । यो बीमा योजना स्वास्थ्य उपचार बीमा होइन । यो महामारीमा न्यूनतम शुल्कमा जनतालाई राहत दिन ल्याइएको बीमा योजना हो । जन्मेको तीन महिनादेखि ९९ वर्षसम्मका मानिसको कोरोना बीमा गर्न सकिन्छ । कोरोना बीमाको अण्डरराईटिङ हुँदैन । अण्डरराईटिङ आवश्यक नपर्ने भएकाले यस्तो बीमा पोलिसी अनलाईनबाट सिधैं भुक्तानी गरी खरिद गर्न मिल्छ ।

यसरी हुन्छ कोरोना बीमाको भुक्तानी

कोरोना बीमाको भुक्तानी प्राप्त गर्न नेपाल सरकारको मान्यता प्राप्त कुनै पनि जनस्वास्थ्य ल्याबमा कोरोना भाइरसको वैज्ञानिक परिक्षण पिसिआर (पोलिमर चेन रियाक्सन) विधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखियो भने त्यो व्यक्ति कोरोना बीमाको भुक्तानीका लागि योग्य हुन्छ । कोरोना पोजेटिभ भएको मितिले १५ दिनभित्र यस्तो भुक्तानी प्राप्त गर्न सकिन्छ । सिधैं कम्पनीमा सम्पर्क गरेर दावी भुक्तानी लिन सकिन्छ भने बीमा गरिएको व्यक्तिको पिसिआर रिपोर्ट इमेलमार्फत पठाए पनि बीमा कम्पनीले निजको बैंक खातामा सिधैँ रकम पठाउने व्यवस्था गरिएको हुन्छ ।

Logo