#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1450249834761057415309358
नेपाल9081

सरोज खनालको अविष्मरणीय यात्रा: चीनको वुहानदेखि खरिपाटीको क्वारेन्टाइनसम्म

म पढाइकालागि डेढ बर्षअघि चीन गएको हुँ । त्यहाँ म पीएचडी इन बायोकेमेस्ट्री एण्ड मोलेकुलर बायोलोजी पढिरहेको छु ।

म विगत ४ दिनदेखि भक्तपुरस्थित खरिपाटीको क्वारेन्टाइनमा छु । वास्तवमा म कोरोना लागेको बिरामी होइन । म चीनमा पनि र यहाँ पनि सुरक्षित बसिरहेको छु । चीनबाट कोरोनाको बिरामीहरुलाई नेपाल ल्याईयो भनेर धेरैलाई भ्रम छ । हामीलाई नेपाल ल्याउन लागिएकोमा धेरै विरोध पनि भएको थियो तर चीनबाट आएका कुनैपनि नेपालीहरुलाई कोरोना लागेको पुष्टि भएको छैन । त्यसैले हामीलाई नेपाल ल्याउन हुँदैन भन्नेहरुलाई के भन्न चाहान्छु भने भाइरस भएकाहरु ल्याईएको होइन नभएकाहरुलाई संक्रमण नहोस भनेर ल्याईएको हो ।

तर यदि भईहालेको भएपनि उनीहरुको विशेष हेरचाह गर्न नै क्वारेन्टाईन बनाईएको हो । डराउनुपर्ने र विरोध गर्नुपर्ने कुनै कुरा छैन । किनभने स्वास्थ्य मन्त्रालय नै हामीलाई कोरोनाको संक्रमण नभएको पुष्टि गरिसकेको अवस्था छ ।

हामी एक सय ७५ जना नेपालीहरु फर्किएका छौँ । नेपाल आउन लाग्दा त्यहाँ हिउँ परेकाले ६ जना साथीहरुलाई चीनले पठाएन । खासगरी  एक्कासी चिसो बढेकाले उनीहरुको तापक्रम बढेको हो । उनीहरुको टेस्ट गर्दा नेगेटिभ आएको छ । आफुहरु सुरक्षित नै भएको उनीहरुले हामीलाई फोनमा बताएका छन् ।

कोरोना लाग्दाखेरीका लक्षणहरु मैले मिडियाबाट नै थाहा पाएको हुँ । यो भाइरसले संक्रमण गरेपछि रुघा लाग्ने, सुख्खा खोकी लाग्ने, ज्वरो आउने, स्वास फेर्न गार्हो हुने र निमोनिया हुने गर्दोरहेछ । स्वासप्रश्वासबाट र संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कबाट मात्र सर्ने भाइरस भएका कारण हामी संक्रमित भएनौँ ।

युनिभर्सिटीबाट त्यति बाहिर ननिस्किने र भित्रै बस्ने भएकाले संक्रमितसँग हाम्रो सम्पर्क हुन पाएन । मिडियामा कोरोनाको सूचना आएपछि त झन् कलेजले नै बाहिर जान दिएन । हामीलाई चाहिने अत्यावश्यक समानहरु कलेज आँफैले उपलब्ध गराईदियो ।

विशेष गरि ४० वर्ष भन्दामाथि उमेर समुहकाहरुलाई यो भाईरसले बढी संक्रमण गर्दोरहेछ । त्यसमाथि पनि जो पहिले नै अन्य रोगहरु जस्तै मधुमेह तथा उच्च रक्तचापबाट ग्रसित छन् । अथवा भनौँ रोगप्रतिरोधक क्षमता कम भएकाहरु छन् उनीहरु बढी ग्रसित हुने भएकाले सुरुमा यस भाइरसले यस्तो विशाल रुप लिदैन होला जस्तो लागेको थियो । डब्लुएचओले पनि त्यति डराउनुपर्ने अवस्था छैन भनेको थियो तर एक्कासी सरकारले वुहान लगायत चीनका अन्य प्रान्तमा आउन जान रोक लगाएपछि अलि त्रास भयो ।

त्यस लगत्तै भारत, बंगलादेश, श्रीलंका, अमेरिका, बेलायत लगायतका देशहरुले आफ्ना नागरिक ल्याउनुपर्छ भनेर पहल गर्‍यो । नेपाल सरकारले पनि नेपाली नागरिकको उद्धार गर्न कदम चाल्यो । त्यसपछि चिनियाँ सरकार र नेपाल सरकारको पहलमा म लगायत अन्य १७५ जनालाई नेपाल ल्याईयो ।

यहाँ आउनेबेला नै परिवारसँग भेट्न नपाईने भनेर सर्तनाम गरेको थिएँ त्यसैले परिवार भेट्न पाएको छैन । तर फोनमा भने दिनको ४–५ चोटीसम्म सम्पर्क गरिरहेको हुन्छु । नेपाल सरकारले डब्लुएचओले दिएको मापदण्ड अनुसार नै क्वारेन्टाइनको निर्माण गरेको रहेछ ।

कोठाभित्र, भान्छादेखि बाहिर मैदानमा पनि स्वच्छतालाई हेलचेक्र्याई गरिएको छैन । स्वास्थ्य परिक्षण गर्ने कार्यालय पनि यसैभित्र छ । नेपाल प्रहरी र नेपाली सेनाका दाजुभाईहरुले राम्रो हेरचाह गर्नुका साथै सुरक्षा पनि गरिरहनुभएको छ । मनोरञ्जनका लागि भलिबल, बास्केटबल, क्यारमबोर्ड, ब्याडमिन्टनको आदिको पनि व्यवस्था गरिएको छ ।

सबैभन्दा राम्रो चाँहि चीनमा हुँदा म जुन साथीसँग बस्थेँ यहाँ पनि तिनै साथीसँग बस्न दिईएको छ । जसले गर्दा कुनै असजिलो महसुस भएको छैन । खानेकुराहरुमा पनि निकै ध्यान दिईएको छ । बिहान, बेलुका, दिउँसो समय मिलाएर खाना खाजाको व्यवस्था गरिएको छ । भेज खानेहरुलाई भेज र ननभेज खानेलाई समय समयमा माछामासु दिईन्छ ।

म लगायत चीनमा रहेका अन्य नेपालीहरुलाई नेपाल ल्याएर उद्धार गर्नुभएकोमा नेपाल सरकारलाई धेरै धेरै धन्यवाद । साथै दिनरात नभनि हाम्रालागि क्वारेन्टाइनको सरसफाई र बस्न योग्य बनाइ अहिले पनि हाम्रो स्वास्थ्य र सुरक्षामा खटिनु भएकोमा नेपाल प्रहरी र नेपाली सेनाप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

प्रस्तुती: सिम्रन स्याङ्गबो तामाङ

सम्बन्धित समाचारहरु

ताजा समाचार