रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा

रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा


चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालसँगै यो समूहमा हङकङ चाइना र फिलिपिन्स पनि रहेका छन्। हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउँदैछ।

पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्। सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ। समूह ‘बी’ मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ, समूह ‘सी’ मा जापान, सिंगापुर र थाइल्यान्ड तथा समूह ‘डि’ मा युएइ, चीन र अफ्गानिस्तान छन्।

रग्बीका खेलहरु सेप्टेम्बर २४ तारिखदेखि सुरु हुनेछ। विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले त्यसै दिन आफ्नो समूह चरणको दुवै खेल खेल्ने छ। नेपालले पहिलो खेल फिलिपिन्स तथा दोश्रो खेल हङकङ चाइनाविरुद्ध खेल्ने छ। हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ।

सियाली खेलकुदमा नेपालले पहिलो पटक रग्बीमा सहभागिता जनाउन लागेको हो। नेपालको सहभागिता पुरुषमा मात्र रहेको छ। १२ सदस्यीय खेलाडी टोलीलाई श्रीलंकाका सन विजेसिंघेले प्रशिक्षण दिइरहेका छन्।

नेपाली टोलीः विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी।

Logo