रूसी राजदूतको निमन्त्रणा रद्द गर्ने सोचमा नोबेल फाउन्डेसन

रूसी राजदूतको निमन्त्रणा रद्द गर्ने सोचमा नोबेल फाउन्डेसन


नोबेल फाउन्डेसनले यस वर्षको नोबेल पुरस्कार समारोहमा रूस र बेलारूसका राजदूतलाई आमन्त्रण गर्ने आफ्नो निर्णय फिर्ता लिन लागेको शनिबार जनाएको छ ।

सन् २०२२ मा, स्टकहोममा वार्षिक नोबेल पुरस्कार समारोह र भोजको आयोजना गर्ने नोबेल फाउन्डेसनले युक्रेनमा युद्धको कारण स्टकहोम पुरस्कार कार्यक्रममा रूसी र बेलारूसी राजदूतहरूलाई निमन्त्रणा नगर्ने निर्णय गरेको थियो ।

विरोध प्रदर्शनको लहरमाथि इरानी सेनाले गरेको दमनलाई लिएर उनीहरूले इरानी राजदूतका सम्बन्धमा पनि यस्तै निर्णय लिएका थिए । 

यद्यपि स्वीडेनको फाउन्डेसनले स्वीडेनमा प्रतिनिधित्व गर्ने सबै देशका राजदूतहरूलाई आमन्त्रण गर्ने आफ्नो पुरानो अभ्यासमा फर्कन लागेको बिहीबार बताएको थियो । फाउन्डेसनले शनिबार भनेको छ, “नोबेल पुरस्कारका मूल्य र सन्देशका साथ सकेसम्म व्यापक रूपमा पुग्नु महत्वपूर्ण र सही हो भन्ने मान्यतामा आधारित भएर यो निर्णय गरिएको हो ।”

यद्यपि कडा प्रतिक्रियाहरूले ‘यो सन्देशलाई पूर्ण रूपमा ओझेलमा पारेको’ उल्लेख गरिएको छ ।

फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसैले हामी गत वर्षको अपवादलाई नियमित अभ्यासका लागि दोहोर्‍याउन चाहन्छौं अर्थात् स्टकहोममा हुने नोबेल पुरस्कार समारोहमा रूस, बेलारूस र इरानका राजदूतलाई आमन्त्रण गर्दैनौँ ।” 

यसअघि, नर्वेली नोबेल इन्स्टिच्युटले ओस्लोमा आयोजना हुने शान्ति पुरस्कार समारोहमा सबै राजदूतलाई निमन्त्रणा गर्ने गरेको पुरानो परम्परालाई निरन्तरता दिँदै फेरि पनि यस्तै हुने बताएको थियो । राजदूतहरूलाई निमन्त्रणा गर्ने अघिल्लो निर्णयबारे जानकारी गराइएको विज्ञप्तिमा भनिएको छ, “पहिलेजस्तै ओस्लोमा हुने समारोहमा सबै राजदूतलाई निमन्त्रणा गरिनेछ ।” 

रूस र बेलारूसका प्रतिनिधिहरूलाई फेरि एकपटक आमन्त्रण गर्ने निर्णयले स्वीडेन र विदेशमा आक्रोश पैदा गरेकोले यसबारे सोच्न बाध्य पारेको छ ।

युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले फेसबुकमा लेख्नुभएको छ, “फाउन्डेसनले रूस र बेलारूसलाई एक्ल्याउने प्रयासलाई समर्थन गर्नुपर्छ किनभने लाखौं युक्रेनीहरू बिना उक्साहट युद्धबाट पीडित छन् र रूसी शासनलाई उसको अपराधका लागि दण्डित गरिएको छैन ।”

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले पनि फाउन्डेसनको निर्णयप्रति आफू असहमत रहेको बताएका छन् । 

एएफपीसँगको एक लिखित पत्रमा उनले भनेका छन्, “यदि मैले पुरस्कार समारोहमा निमन्त्रणा पाएको भए मैले त्यसो गर्ने थिइनँ र मैले बुझेको छु कि यसले स्वीडेन र युक्रेन दुवैका धेरै मानिसहरूलाई दुःखी बनाएको छ ।”

केन्द्र, ग्रीन, लेफ्ट र लिबरल पार्टीका नेताहरूसहित स्वीडेनका केही प्रमुख राजनीतिज्ञहरूले रूसी राजदूतको उपस्थितिलाई लिएर कार्यक्रम बहिष्कार गर्ने बताएका छन् ।

हरेक वर्ष डिसेम्बर १० का दिन स्टकहोममा चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र अर्थशास्त्रका विधाका विजेताहरूलाई राजा कार्ल सोह्रौं गुस्ताफबाट पुरस्कार प्रदान गरिन्छ । शान्ति पुरस्कार विजेताका लागि सोही दिन ओस्लोमा छुट्टै समारोह आयोजना गरिन्छ । -एएफपी

Logo