सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’को वास्तविक अनुभूति गर्न बाँकी छः राष्ट्रपति पौडेल

सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’को वास्तविक अनुभूति गर्न बाँकी छः राष्ट्रपति पौडेल


राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नु पर्ने बताएका छन् । 

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले अहिलेका शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जितेर लोकतन्त्रलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नु पर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ ।’

राष्ट्रपति पौडेलले गणतन्त्रिक शासनमा व्यक्तिको परिवर्तनमात्र होइन, जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार समेत भएको बताए । संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै नभई आचरणमा  समेत परिवर्तन आउन जरुरी रहेको उनको तर्क छ । 

उनले भने ‘राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘‘गणतन्त्र’’ हामीले प्राप्त गरेका छौ, तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ । गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन, यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो, यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो ।’

सबै मिलेर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेको बताएका उनले वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको बताए । ‘हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको हो, अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि  ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो ।’ उनले भने । 

Logo