कांग्रेस नेपाली जनताको सुख दुःखको साथी हाे -उपसभापति खड्का

कांग्रेस नेपाली जनताको सुख दुःखको साथी हाे -उपसभापति खड्का


नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी पार्टी भएको बताएका छन् । 

कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपसभापति खड्काले अहिले नेपाली जनता र मतदाताले कांग्रेसलाई तीनवटै तहमा पहिलो दल बनाएको उल्लेख गर्दै कांग्रेस पनि त्यहि जनताको मतको सम्मान गर्दै सबै जनताको सुख दुःखको साथी पार्टी भएर काम गर्नुपर्ने बताएका हुन् । 

नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका खड्काले नेपाली कांग्रेसभित्र रुपातन्तरणको कुरा चलिरहेको विषयलाई संकेत गर्दै नेपाली कांग्रेसका हरेक नेता कार्यकर्ता तथा कांग्रेसबाट निर्वाचित सबै तहका जननिर्वाचित प्रतिनिधिले आफैबाट सुधारको सुरुवात गर्नुनै पार्टीको सहि रुपान्तरण हुनेमा जोड दिए । 

उपसभापति खड्काले आफूले गर्ने हरेक काम, आफ्ना प्रतिवद्धता र जनतासमक्ष देखाउने व्यवहारमा नेपाल, नेपाली जनता र मतदाताको हित चिताएर काम गरे कांग्रेसमा सकारात्मक रुपान्तरण हुने बताए । उनले नेपाली कांग्रेसमा कर्णाली प्रदेश त्यसमा पनि जाजरकोट कांग्रेसको ठूलो योगदान रहेको बताए । 

उनले तीनवटै तहका निर्वाचित जनप्रतिनिधिलाई परिवारवाद, नातावाद र भ्रष्टाचारबाट टाढा रहेर नेपाल र नेपाली जनताको हित चिताएर मात्र काम गर्न निर्देशन दिए । सबै तहमा कांग्रेसका उम्मेद्वारलाई जिताउन आम मतदाता र कांग्रेस कार्यकर्ताले ठूलो मेहनत, त्याग र समर्पण गरेको भन्दै मतदाताको चित्त दुख्ने कुनै काम नगर्ने पनि खड्काले आग्रह गरे । 

बदलिँदो युग र प्रविधिको बिकासले सबैका गतिविधि जनताले नजिकबाट नियालिरहेको भन्दै उपसभापति खड्काले इमान्दारिताका साथ काम गरे बिकास, सामाजिक न्याय र सुशासनको चाहने जनताको अपेक्षा पूरा गर्न सकिने उल्लेख गरे । 

मुलकमा अहिलेसम्म भएका लोकतान्त्रिक आन्दोलन र अधिकारको लडाइँ कांग्रेसकै नेतृत्वमा भएको भन्दै उपसभापति खड्काले परिवर्तनको रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेसकै भएको बताए । नेपाली कांग्रेसले अबलम्बन गरेको राजनीति सिद्धान्तप्रति कसैको गुनासो नभएको पनि नेताहरुको कार्यशैली र व्यवहारप्रति गुनासो रहेको भन्दै उनले जनतलाई मन नपरेको जीवनशैली बदल्नुपर्नेमा जोड दिए । 

केही कुरामा नेपाली जनताको गुनासो नेपाली कांग्रेससँग भएपनि जनताको भरोसा पनि काँग्रेससंगै भएको उपसभापति खड्काको भनाइ थियो ।

Logo