एनआरएनएको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छः अर्थमन्त्री महत

एनआरएनएको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छः अर्थमन्त्री महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ विश्व सम्मेलनमा उनले नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेको भन्दै सरकारले यसलाई प्रोत्साहन गर्ने बताएका हुन् । उनले निजी क्षेत्रबाट ३ सय मेगावाट जलविद्युत् उत्पादन भइरहेको भन्दै सयौं आयोजनामा हजारौं नेपालीले लगानी गरिरहेको बताए । 

उनले भने, ‘हाइड्रोपावरमा नेपालले नेटवर्क बनाइसक्यो । अहिले निजी क्षेत्रबाट ३ सय मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । सयौं आयोजनामा हजारौं नेपालीले लगानी गरिरहेका छन् । माथिल्लो अरुण परियोजनामा विश्व बैंकको नेतृत्वमा लगानी हुँदैछ, दुधकोशीमा एसियाली विकास बैंकले लगानी गर्दैछ । हामीले ऋण सहुलियत दरमा मागेका छौं ।’

लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा भएको भन्दै बेलायतलगायत  देशहरुमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुने उल्लेख गर्दै उनले  सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिने बताए । 

उनले देशमा नकारात्मक भावनाहरु बढ्दै गएको भन्दै यसलाई सकारात्मक बनाउन जरुरी भएको पनि बताए । 

उनले भने, ‘नेपालमा धेरै नकरात्मक भावना फैलिएको छ, अब सकारात्मक भावना फैलाऔं । नकारात्मक कुरा गर्दा सामाजिक सञ्जालमा त्यसको फ्लोइङ बढी हुन्छ । यो देशमा केही हुन्न, यिनीहरुले केही गर्दैनन्, यिनीहरु बिगार्न मात्र आएका हुन् । खराब मात्र गर्छन् भन्ने भावना फैलाइएको छ । सबै क्षेत्रमा राम्रा मान्छे पनि छन् । सबै चोरै हुन्, सबै फटाहा हुन् भनेर एउटै बास्केटमा नहालौं । जो इमान्दारपूर्वक काम गरिरहेको छ, उसलाई प्रोत्साहन गरौं । सकारात्मक सन्देश फैलाउन एनआरएनए सही प्लेटफर्म हो । तपाईंहरुको सन्देश नेपालमा बसेका आफन्त, नातागोता र साथीभाइदेखि लिएर छिमेकीसम्म पुग्छ ।’ 

०४६ सालपछि कूल ग्राहस्थ उत्पादनमा ६० गुणाले वृद्धि भएको भन्दै मन्त्री महतले प्रतिव्यक्ति आय ७ गुणाले वृद्धि भएको र औसत आयु ५४ वर्षबाट ७२ वर्ष पुगेको बताए । उनले भने, ‘राजश्व अनुपात कुल ग्राहस्थ उत्पादनको अनुपातमा दोब्बर बढेको छ, विद्युतको पहुँच ९७ प्रतिशतभन्दा बढी छ । गाउँगाउँमा सडक सञ्जाल पुगेको छ, बाल मृत्युदर २७ मा झरेको छ ।’
 
उनले देशमा अवसर रहेको भन्दै त्यसलाई सुष्म दृष्टिले हेर्न आवश्यक भएकोले गैरआवासीय नेपालीहरु फर्किनु पर्ने बताए । 

उनले भने, ‘व्यक्तिको इच्छा, क्षमता र योग्यता पूर्ति गर्न कुनै सीमाले रोकिनु हुँदैन । पासपोर्ट दिएर देश छोड सरकारले भनेको होइन, यो व्यक्तिको स्वतन्त्रता हो । यो स्वतन्त्रता उपभोग गर्दै लाखौं नेपालीहरुले आफ्ना आकांक्षा पूर्ति गर्न मुलुकबाहिर गएका हुन्, तर सधैं बाहिरै जानुपर्दैन । मलाई लाग्छ, गैरआवासीय नेपालीहरु फर्किनु हुन्छ । कतिपय युवास्थामै फर्किनु होला, कतिपय पाकै भएर फर्किनु होला । किनभने यहाँ अवसर छ, यो अवसर हामीले सुष्म दृष्टिले हेर्नुपर्छ ।’

Logo