काभ्रेका अधिकांश क्वारेन्टाइन रित्तिए

काभ्रेका अधिकांश क्वारेन्टाइन रित्तिए


काभ्रे ।

विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि काभ्रेमा गत चैतदेखि व्यवस्थित गरिएका अधिकांश क्वारेन्टाइन हाल रित्तो अवस्थामा छन् । चार स्थानमा रहेका क्वारेन्टाइनमा हाल १२ जनाको उपचार हुँदै थप परीक्षणको तयारी भइरहेको जनाइएको छ ।

धुलिखेल अस्पतालमा चार जनाको आइसोलेशनमा उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ । हालसम्म जिल्लास्थित स्थानीय तहलगायत विभिन्न स्थानका क्वारेन्टिनमा ३४२ शैया (बेड) व्यवस्थित गरिएको हो । धुलिखेल नगरपालिकामा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८, पाँचखालमा ११ शैया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, मण्डनदेउपुर नगरपालिकामा १५, चौँरीदेउराली गाउँपालिकामा १५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा छ र खानीखोलामा १५ तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनका लागि ५२ शैयाको क्वारेन्टाइन व्यवस्थित गरिएको छ । सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले काभ्रेका १३ स्थानीय तहले एकएक क्वारेन्टाइन व्यवस्थित गरेका छन् ।

धुलिखेल अस्पतालमा आठ, बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच र बनेपास्थित नेपाल रेडक्रस सोसाइटीमा पाँच शैयाको आइसोलेसन वार्ड छन् । पोष्टका सदस्य एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले पाँचखाल नगरस्थित क्वारेन्टाइनमा दुई, बनेपास्थित शिर मेमोरियल अस्पतालमा एक, चौँरीदेउराली गाउँपालिकामा सात र नमोबुद्ध नगरस्थित क्वारेन्टाइनमा दुईको उपचार भइरहेको जानकारी दिए । अन्य केही क्वारेन्टाइनमा बसेकाहरुको दोस्रो परीक्षण तथा क्वारेन्टाइन बसाइको समयावधि सकिएपछि घर फर्किएका हुन् ।

झाका अनुसार प्रारम्भिक परीक्षण आरडिटीमा पोजेटिभ देखिएकालाई क्वारेन्टाइनमा राखेर उपचार गरी पिसिआर परीक्षण गर्ने गरिएको छ । हालसम्म आरडिटी गरी पोजेटिभ देखिएकामा पिसीआर गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको पोष्टले जनाएको छ । पोष्टका अनुसार हालसम्म विदेशबाट काभ्रेपलाञ्चोक घर फर्किएकासमेत गरी एक हजार ३३५ जनाको आरडिटी भइसकेको छ भने १७२ को पिसिआर प्रविधिबाट कोरोना भाइरस परीक्षण भएको छ । “कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सबैको परीक्षणका लागि अझै यसको दायरा बढाउँदैछौँ”, झाले भने । उनका अनुसार खानीखोला गाउँपालिकाबाहेक अन्य १२ स्थानीय तहमा कोरोना भाइरसको प्रारम्भिक परीक्षण भइरहेको छ ।

जिल्लाका नागरिकमा सङ्क्रमण तथा प्रारम्भिक परीक्षणमा कोरोना सङ्क्रमण देखिए पनि दोस्रो परीक्षणमा नदेखिँदै क्वारेन्टाइनबाट घर फर्कनु राम्रो अवस्था रहेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनका अनुसार गत हप्ता कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा परीक्षणको दायरा फराकिलो बनाइएको तथा जिल्लामा स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाइएको छ ।रासस

Logo