भारतीय क्वारेन्टाइनमा बसेका नेपालीमा कोरोना पोजिटिभ पुष्टि

भारतीय क्वारेन्टाइनमा बसेका नेपालीमा कोरोना पोजिटिभ पुष्टि


रुपन्देही ।

स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ । नौतनवास्थित माड्रन एकाडेमी स्कूलको क्वारेन्टाइनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक डा. उज्ज्वल कुमारले बताए ।

पच्चीस वर्षीय ती युवक बसेको उक्त क्वारेन्टाइनमा ८२ नेपाली छन् । ती युवक मुम्बईदेखि आएको भारतीय पत्रकार अरविन्दले बताए।रुपन्देहीको सीमापारी रोकिएका एक हजार नेपालीलाई बुधबार नेपाल ल्याउने तयारी गरिरहँदा कोरोना देखिएको हो ।रासस

रुपन्देहीको दक्षिण भेगमा आवतजावतमा रोक

कोरोना सङक्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हुलाकी मार्गको दक्षिण भेगको आवतजावतमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार हुलाकी सडकको दक्षिण क्षेत्रमा बुधबारदेखि लागू हुने गरी आवतजावत गर्न नपाइने र कार्यालयबाट जारी भएको पास रद्द गरिएको जानकारी दिए ।

कपिलवस्तुदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सीमानासम्मको हुलाकी सडकको दक्षिणतर्फ लुम्बिनी सांस्कृतिक नगरपालिका तथा समरीमाई गाउँपालिका, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकाका केही क्षेत्र, सिद्धार्थनगरका केही क्षेत्र, ओमसतिया गाउँपालिकाका केही क्षेत्र र रोहिणी गाउँपालिका पर्छन् ।

रुपन्देहीको हुलाकी सडकको दक्षिण क्षेत्रमा एउटा वडाबाट अर्को वडामा आवतजावतमा समेत रोक लगाइएको प्रजिअ पन्थले बताए । मंगलबार अपराह्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार रुपन्देहीमा नौ जना कोरोना सङ्क्रमित पुष्टि भएको थियो । कोरोना सङ्क्रमित लुम्बिनीस्थित श्रीलंकाली गेष्टहाउसको क्वारेन्टाइनमा बसेकाहरु रहेको उनले जानकारी दिए।

यसअघि सोमबार मात्रै लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासस्थित क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको थियो । मर्चवारको समरीमाईको भैसागाहनस्थित मदरसाको क्वारेन्टाइनमा रहेका चार जनामा कोरोना पुष्टि भएको थियो । रुपन्देहीमा यसअघि दुई हप्ता अगाडि कोटहीमाईको मर्चवार आदर्श माविको क्वारेन्टाइनमा बसेका एक युवकमा कोरोना पुष्टि भएको थियो । रुपन्देहीमा कोरोना पोजिटिभ देखिएका सबै भारतबाट लकडाउनकै अवधिमा लुकिछिपी आएकाहरु हुन् ।रासस

Logo