अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च, नेपालमा के पर्छ असर ?

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च, नेपालमा के पर्छ असर ?


काठमाडौं ।

अहिले विश्व बजारमा सुनको मूल्य आकाशिएको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न मुलुकमा लकडाउन लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा भने दैनिक रुपमा सुनको कारोबार भइरहेको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार (अप्रिल २९) अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १ हजार ७१०.६१ डलरमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य हो ।

कोरोना भाइरसको संक्रमणका कारण अहिले विश्व अर्थतन्त्र शिथिल बन्दै गएको छ । विश्वका पर्यटन, उद्योग व्यवसाय, वैदेशिक लगानी, रेमिट्यान्स लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् । जसका कारण आर्थिक सम्बन्धी सबै कारोबारहरु लगभग ठप्प जस्तै भएका छन् । यस्तो अवस्थामा लगानीकर्ताहरु सुनमा भविष्य देखेकाले त्यसतर्फको लगानीमा आकर्षित भएका कारण सुनको मूल्य आकाशिएको हो । त्यस्तै, लगानीकर्ताहरु डलरमा पनि आकर्षित भएकाले डलरको भाउ पनि दिनैपिच्छे बढ्दै गइरहेको छ ।

नेपालमा के पर्छ असर ?
सामान्यतया अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपालमा देखिन्छ । तर यसपाली अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मूल्यले नेपालमा कुनै असर नगर्ने सुन व्यवसायीहरु बताउँछन् । ‘अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको भाउले अहिले नेपालमा कुनै असर गर्दैन ।’ सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने ।

अहिले मुलुकमा लकडाउनको अवस्था छ । जसका कारण सुन बजार पुरै ठप्प छ । यस्तो अवस्थामा सुनको कुनै पनि कारोबार भएको छैन । कारोबार नभएपछि असर नगर्ने पूर्वअध्यक्ष शाक्यको भनाइ छ । यस बेला सुनको कारोबार खुलेको भए सुनको मूल्यमा असर गर्ने उनको भनाइ छ । बजार खुलेको अवस्थामा प्रतितोला ८६ हजार भन्दा बढीसम्म सुनको मूल्य पुग्ने व्यवसायीहरुको भनाइ छ ।

सरकारले गत चैत ११ गतेदेखि मुलुकभरी नै लकडाउन गरेको छ । सो समयदेखी ठप्प भएको सुन बजार लकडाउन खुलेपछि मात्रै खुल्ने महासंघले जनाएको छ । महासंघका अनुसार पछिल्लो समय छापावाला सुनको मूल्य ७७ हजार रुपैँयाँ रहेको छ भने तेजाबी सुनको मूल्य ७६ हजार ७ सय रुपैँयाँ तोकिएको छ । चाँदीको मूल्य ७ सय २० रुपैँयाँ तोकिएको छ । यो वर्षभरी सुनको भाउ बढेर ९० हजारको हाराहारीमा पुग्ने व्यवसायीहरुको दाबी छ ।

Logo