प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार


काठमाडौं ।

दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा मिगौलाको प्रत्यारोपण गराएका ओलीको प्रत्यरोपित मिर्गौलाले पनि सामान्य रुपमा काम गर्न थालेको चिकित्सकहरुले बताएका छन् । ओलीलाई आजबाट तरल र नरम आहार दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बताए । खड्काले ओलीका सबै भाइटल र ल्याब सूचकहरु पनि सामान्य अवस्थामा रहेको बताए । प्रधानमन्त्रीलाई मिर्गाैला दिएकी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि स्थिर रहेको बताइएको छ । उनलाई पनि आजबाट तरल र नरम आहार दिन सुरु गरिएको उनले बताए ।

भारत, पाकिस्तान, जापान लगायत देशका प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले बताए । थापाले नेपालका लागि चिनियाँ, जापानी र पाकिस्तानी राजदूतहरुले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको बताए । जापान र पाकिस्तानका राजदूतले अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका छन् भने चिनियाँ राजदूतले टेलिफोन मार्फत स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्रीको ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । १२ वर्ष अघि भारतको एपोलो अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Logo