जेलमा क्षयरोगको पीडादेखि दोस्रोपटक मिर्गाैला प्रत्यारोपणसम्म (भिडियोसहित)

जेलमा क्षयरोगको पीडादेखि दोस्रोपटक मिर्गाैला प्रत्यारोपणसम्म (भिडियोसहित)


काठमाडौँ ।

दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले जेलजीवन बिताउँदादेखि नै स्वास्थ्य समस्या झेल्दै आएका हुन् ।

नेकपा माले संस्थापकमध्येका एक उनी पञ्चायत कालविरुद्ध आन्दोलन गर्दा १४ वर्ष जेल बसेका थिए । ओलीलाई त्यसबखत जेलभित्रै अल्सर र पायल्स भएको थियो । उनलाई क्षयरोगले समेत लामो समय दुःख दिएको थियो । उनीसँगै जेल जीवन बिताएका अर्का नेता राधाकृष्ण मैनालीका अनुसार टिभी रोगले ग्रसित हुँदा उनलाई धेरैले आफ्नो खाना ‘सेयर’ गर्थे । मैनालीले लेखेको ‘लुटिएका दुई थुंगा फूल’ मा उल्लेख भए अनुसार टिभी रोगीलाई अरुलाई भन्दा बढी नै खाना चाहिने हुनाले आफ्नो थालको एक–एक गाँस खाना थपिदिने चलन जस्तै थियो जेलमा ।

ठूलो रोगको कुरा गर्दा प्रधानमन्त्री ओलीले २०६४ सालमा पहिलोपटक मिर्गाैलाको प्रत्यारोपण गरेका थिए । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । त्यसबेला ओलीलाई भाइ–बुहारी अन्जना घिमिरेले मिर्गाैला दिएकी थिइन् ।

त्यसपछि २०६९ कात्तिक १७ गते प्रधानमन्त्री ओलीको कडा निमोनियाको संक्रमण भएर फोक्सोमा पानी जमेको थियो । त्यसबेला नेपालमा उपचार सम्भव नभएपछि उनलाई एयर एम्बुलेन्समार्फत भारतको मेदान्त मेडिसिटी अस्पतालमा लगेर उपचार गरिएको थियो । त्यस्तै ७ वर्षअघि ओलीको दायाँ हातमा म्यानेन्जाइटिस् भएको थियो । त्यसबेला उनले सिंगापुरमा एक महिना लामो उपचार गराएका थिए । उनी निकै समयसम्म हातमा सेतो ‘बेण्डेज’ बाँधेर सार्वजनिक भएका थिए ।

२०७५ असोज १२ गते फोक्सोमा इन्फेक्सन भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर पाँच दिन अस्पताल बसेका थिए । प्रधानमन्त्री ओलीले भारतको एपोलो अस्पतालका साथै थाइल्याण्डको वुङरुगाड अस्पताल र सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराउँदै आएका छन् । प्रधानमन्त्री ओलीले गत कात्तिक महिनादेखि नियमित डायलासिस गर्दै आएका थिए ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि गत साउन र भदौमा ओली सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल पुगेर ‘प्लाज्माफेरेसिस’ गरी स्वदेश फर्किएका थिए । ‘प्लाज्माफेरेसिस’ गरेपछि पनि उनको स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्री ओलीलाई यसपटक नाताले भान्जी पर्ने समीक्षा संग्रौला ज्ञवालीले मिर्गाैला दिएकी हुन् । गत मंसिर १३ गते मात्रै प्रधानमन्त्री ओलीको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा एपेण्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । त्यसबेला पनि उनी केही दिन ओछ्यान परेका थिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य बिग्रिनुमा उनको स्वभावलाई पनि एउटा कारण मानिन्छ । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेर फर्किदा पनि उनी केही दिनमै सक्रिय राजनीतिमा लागेका थिए । चिकित्सकले मास्क लगाएर हिंड्न सुझाए पनि उनले ‘म बिरामी देखिन चाहन्न’ भन्दै मास्क नलगाई कार्यक्रमहरूमा सहभागी भएका थिए । यतिमात्रै होइन मृगौला प्रत्यारोपण गरेको केही महिनामै झापा ७ बाट निर्वाचनमा उम्मेदवार बनेका थिए ।

प्रधानमन्त्रीमा देखिएको आत्मविश्वासलाई डाक्टरहरु, उनका साथीभाइहरुदेखि सर्वधारणसम्मले असाधारण र तारिफयोग्य मनोबलको संज्ञा दिईरहेका छन् । तर, त्यही मनोविज्ञानका कारण कहिलेकहीँ उनले आराम नगरिदिँदा वा परेजमा नबस्दा समस्या आउने गरेको अर्काथरी डाक्टरको विश्लेषण रहेको छ । ओली राति अबेरसम्म काममा रहने गर्छन् । जसले गर्दा उनको शरीरलाई आराम पुग्दैन ।

प्रधानमन्त्रीको नियमित स्वास्थ्य उपचारमा डा. अरुण सायमी, डा. दिव्या सिंह, डा दिलिप शर्मा, डा.चक्रराज पाण्डेलगायत संलग्न छन् ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो सामाग्री

Logo