भारतको नागरिकता विधेयक, नेपालका लागि खतरा : टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता

भारतको नागरिकता विधेयक, नेपालका लागि खतरा : टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता


छिमेकी भारतको लोकसभाबाट नागरिकता विधेयक पास भएसँगै यसले नेपाललाई पार्न सक्ने असरबारे वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सार्वजनिक रूपमा सरकारलाई सचेत हुन खबरदारी गर्दै आएका छन् । उनै सचेतक भट्टराईसँग केन्द्रबिन्दुका जितेन्द्र रसिकले राखेको ५ जिज्ञासा :

१. भारतको लोकसभाबाट नागरिकताको विधेयक पास भएपछि तपाईँले उक्त विधेयकले नेपाललाई चुनौती दिनेछ भन्नुभयो, खासमा नेपालको लागि के के चुनौती हुनेछ ?

भारतले गत साता पारित गरेको नागरिकता संसोधन सम्बन्धी कानुन नेपालको लागि खतरा छ । ३१ डिसेम्वर २०१४ अघि पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट भारत प्रवेश गर्ने लाखाैंलाख नागरिक छन् । तीमध्ये धर्म र जातीयताको आधारमा केवल हिन्दू, शिख, क्रिश्चियन, बौद्ध र फारसी बाहेक अरूलाई भारतबाट निष्कासन गर्ने भारतको योजना हो । नागरिकता नदिएपछि उनीहरू खुल्ला सीमानाको उपयोग गर्दै नेपाल भित्रनेछन् । लाखौंको संख्यामा रहेका शरणार्थीलाई नेपालले थेग्न सक्ने अवस्था हुन्न ।

२. भारतको यो कदमले नेपालमा अन्य केकस्ता समस्या आउने देख्नुभएको छ ?

थुप्रै समस्या आउँछन् । विशेष गरी यसले हाम्रो राजनीतिक, कूटनीतिक र सार्वभौमसत्तामा उथलपुथल ल्याउनेछ । मुलुकलाई अस्थिर, अशान्त बनाउनेछ । मुलुकको सार्वभौमसत्ता कमजार बनाउनेछ । नेपालका मौलिक संस्कृतिहरू अतिक्रमण हुँदै जानेछन् । हाम्रो नागरिकता कानुनको कमजोर प्रावधानले कालान्तरमा उनीहरू नेपाली नागरिकको दावेदार बन्नेछन् ।

३. त्यसो भए अब यो जोखिमबाट जोगिन नेपाल सरकारले के गर्नुपर्ला ?

यस्ताे गम्भीर विषय सत्तारुढ दलको बैठकमा प्रवेश पाई स्पस्ट धारणा र नीति बनाउनु आवश्यक छ । मन्त्रीपरिषदकै बैठकमा अब खुल्ला सीमानामा कडाइ गर्न भारतसँग कूटनीतिक पहल गर्न आवश्यक छ । नेपालबाट भारत जाँदा होस् वा भारतबाट नेपाल आउने सबै नाकामा भारत सरकार र नेपाल सरकारले लगत राखेरै प्रवेशानुमति दिनुपर्छ । यो खतराप्रति सरकार अहिल्यै सजग हुनु आवश्यक छ ।

४. नेपालमा केही गरी गैह्र शरणार्थी भित्रिहाले भने त्यसलाई नियन्त्रण गर्न नेपालको कानुनी प्रावधान कस्तो छ ?

शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरिसकेकाले नेपालमा शरणार्थी भित्रिएमा निष्कासन गर्न सकिन्न । त्यसैले रोग लाग्नुअगावै उपचारको खोज गर्न सके मात्र भविष्यमा भारतको नागरिकता विधेयकबाट नेपाललाई पर्न सक्ने असरबाट जोगिन सकिन्छ ।

५. त्यसो त नेपालमा प्रत्यक्ष रूपमा वा अप्रत्यक्ष रूपमा अहिले पनि शरणार्थी भित्रिएका छन् भनिन्छ नि ? कारण त खुल्ला सीमाना नै हो नि होइन ?

हो । नेपाल–भारतमैत्री १९५० को सन्धिले खुल्ला सीमानाको व्यवस्था गर्‍यो । यसबाट नेपालका हरेक क्षेत्रलाई फाइदाभन्दा बढी बेफाइदा गरेको छ । अब भारतको त्यो नागरिकता विधेयक माथिल्लो सदनबाट पारित भयो भने खुल्ला सीमानाकै कारण नेपालमा लाखौं शरणार्थी भित्रिन्छन् । त्यसैले सरकारले तुरुन्तै ठोस कदम चाल्न जरुरी छ ।

Logo