सुमेरु अस्पतालद्वारा २ जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण

सुमेरु अस्पतालद्वारा २ जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण


काठमाडौं । धापाखेलमा रहेको सुमेरु सामुदायिक अस्पतालले दुई जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरेको छ । नेपाल सरकारको अग्रसरतामा अस्पतालले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखाका विकास गुरुङ र रामेछापका सुकरानी मोक्तानको पूर्ण निःशुल्क रूपमा मिर्गौला प्रत्यारोपण गरेको हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा गठित अंग प्रत्यारोपण समन्वयन समितिको सिफारिसमा उनीहरूको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालले मिर्गौला प्रत्यारोपणबारे जानकारी गराएको हो ।

२०६८ सालमा सुमेरु ग्रुपको पहलमा स्थापना गरिएको सुमेरु सामुदायिक अस्पतालले २०६९ पौषबाट आफ्ना सेवा प्रारम्भ गरेको थियो । सबै किसिमको उपचार सेवा दिने सोचका साथ ३ सय शैंयाको क्षमता भै हाल एक सय शैंयाको स्वीकृति लिई सञ्चालित यस अस्पतालमा एक सय भन्दा बढी विशेषज्ञ चिकित्सकहरु आबद्ध छन् ।

मिर्गौला रोगीहरूको लागि बरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. ऋषि कुमार काफ्लेको नेतृत्वमा पुर्णकालिन अनुभवी ३ जना प्रत्यारोपण सर्जन र थप ५ जना मिर्गौला रोग विशेषज्ञहरु (फिजिसियन) ले सेवा दिँदै आएका छन् ।

हाल करिब २५ वटा हेमोडायलोसिस मेसिनसहित बिरामीहरूलाई डायलोसिस गर्दै आइरहेको छ । प्रा.डा. काफ्लेको संयोजकत्पमा प्रत्यारोपण सर्जनको रूपमा डा. विरेन्द्र यादव, डा. किरण श्रेष्ठ, डा. राकेश बर्मा, डा. डिभी कार्की, डा. वेस अन्सारी रहेका छन् भने नेफ्रोलोजिष्ठको रुपमा डा. राजेन्द्र कुमार अग्रवाल, डा. नविन बस्नेत, डा. वर्षा श्रेष्ठ, डा. सन्तोष गुरुङ, डा. सन्जीव आचार्यसहित प्रत्यारोपण एनेस्थेसिस्टमा डा. महालक्ष्मी देउजा र डा. अनिल ओझा रहेका छन् ।

मिर्गौला सम्बन्धी भावी योजनाः


केही वर्षदेखि बिपन्न नागरिकहरूको लागि राज्यबाट घोषित शुल्कमा डायलोसिस र एक्यूट किड्नी फेलर (अल्पकालिन र दीर्घकालिन मिर्गौला बिरामी) सम्बन्धी सेवा दिँदै आएकोमा अब देशमा रहेका सबै मिर्गौला बिरामीहरुलाई राज्यबाट निर्धारित शुल्क भित्र रहेर प्रत्यारोपण गर्ने अस्पतालको भावी योजना रहेको छ ।

ब्लड ग्रुप म्याच नहुने बिरामीहरूको मिर्गौला प्रत्यारोपणका लागि प्लाज्मा फेरोसिस मेसिन जडान र सुविधा सम्पन्न एचएलए ल्याब टेष्ट सुविधा समेत उपलब्ध गराउने अस्पतालको योजना छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्र बनस्थलीलाई समेत आफ्नो अभियानमा सहभागी गराई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न दुई सय शैंयाको किड्नी अस्पताल, सबै प्रदेशमा मिर्गौला रोग सम्बन्धी सेवा केन्द्र स्थापना गर्ने योजना समेत असपतालको छ ।

अस्पतालबाट प्रदान गरिने सेवाहरूः


सुमेरु अस्पतालबाट विभिन्न किसिमका सेवाहरू प्रदान गरिदैं आएको छ । जसमा आकस्मिक सेवा, विशेषज्ञ ओ.पि.डि. सेवा, डाइग्नोष्टिक सेवा, भेन्टिलेटरसहितको २० शैंयाको आई.सि.यु सेवा, भेन्टिलेटरसहित ५ शैंयाको नवजात शिशु सघन उपचार सेवा, आकस्मिक हेमोडाइलोसिस, अन्तरंग सेवा, शल्यक्रिया सेवा रहेका छन् ।

त्यस्तै अस्पतालले रेडियोलोजी, फार्मेसी तथा सल्लाह सुझाव सेवा, एम्बुलेन्स सेवा, ट्रमा उपचार सेवा, ए.बि.जि. सेवा, प्रसुती सेवा, ब्लड क्रस म्याच सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी सेवा, विभिन्न खोप लगायत सेवाहरू पनि प्रदान गर्दै आएको छ ।

वातावरणीय प्रभावका आधारमा अन्तर्राष्ट्रिय गुणस्तरको ISO 14001:2004 मान्यता प्राप्त सुमेरु अस्पतालले अहिलेसम्म साढे ३ लाख जनालाई बहिरंग सेवा प्रदान गरिसकेको छ ।

ललितपुर पुल्चोकस्थित ५० शैंया क्षमताको सुमेरु सिटी अस्पताल समेत सञ्चालनमा आएको छ । भने पारामेडिकल तथा अन्य जनशक्तिका लागि सुमेरु ग्रुप मातहत एशियन कलेज समेत सञ्चालनमा छ । उक्त कलेजमा नर्सिङ, बिपिएच, बि. फार्मेसी, ल्याब टेक्नेसियन, डिप्लोमा फार्मेसी, रेडियोग्राफी जस्ता कोर्षहरुमा अध्यापन भइरहेको छ ।

Logo