मदन पुरस्कार छनौटमा परेका दुई कृतिको चिनारी

मदन पुरस्कार छनौटमा परेका दुई कृतिको चिनारी


  • ज्ञानमणि नेपाल कालोटोपी-

नेपाली साहित्यको सबैभन्दा बढी महत्वपूर्ण मानिने मदन पुरस्कारको छनौटमा यसपटक ७ वटा कृतिहरु परेका छन् । ती मध्ये बिन्दु शर्माको कविता संग्रह ‘ओक्कल दोक्कल पिपल पात’ र कथाकार ध्रुव सापकोटाको कथासंग्रह ‘विचारको लास’ पनि हुन् ।

मदन पुरस्कार–२०७५ का लागि मदन पुरस्कार गुठीले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा सर्ट लिस्टिङ गरिएको हो । छनौटमा परेका अन्य कृतिमा सानु शर्माको ‘एकादेशमा’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’ र योगेश राजको ‘रणहार’ छन् । छनोटमा परेका यिनै कृतिमध्ये एकलाई ‘मदन पुरस्कार–२०७५’ बाट गुठीले पुरस्कृत गर्नेछ ।
आज हामी २ कृतिहरुको यहाँ चर्चा गर्दैछौं । जसमध्ये बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ र ध्रुव सापकोटाको ‘विचारको लास’ छन् । हामी क्रमशः बाँकी कृतिहरुको पनि चिनारी दिने प्रयास गर्नेछौं ।

ओक्कल दोक्कल पिपल पात

यो कविता संग्रह हो । यसले समाजमा व्याप्त नारी शोषणको घतलाग्दो तरिकाले चित्रण गरेको छ । साहित्यकार विन्दुले कवितामा व्यक्त गरेका भावहरू निकै कठोर र निर्भिक छन् । यसमा लेखक शर्मा सकारात्मक अर्थका छुच्ची लेखकको रूपमा उभिएकी छिन् ।

‘ओक्कल दोक्कल पिपल पात’मा २४ वटा छोटा, लामा कविताहरु अटाइएको छ । आकारको हिसाबले निकै सानो यस पुस्तकमा छोरा र छोरीविच समाजमा हुने गरेका विद्यमान असमानताहरु ओकलिएका छन् । आफ्नै भोगाई र आफ्नै परिवेश लेखकका लेखकीय विषय बनेर आएका छन् । समग्र कवितासंग्रह ४ खण्डमा विभाजित भएको छ । पहिलो खण्डमा देशको दृष्य अन्र्तगत ६ वटा कविताहरु छन् । दोस्रो खण्डमा सम्बन्धको यात्राबिम्बभित्र पनि ६ वटा कविता नै समावेश गरिएको छ ।

संबिधानको स्वरुप भन्ने तेस्रो खण्डले पनि ६ वटा कविताको प्रतिनिधित्व गरेको छ । अन्तिम खण्ड नाङ्गिएको समय हो । यसमा पनि बाँकी ६ कविता छन् । सबै कविताहरु गद्यमा लेखिएका छन् । सबैले निकै महत्व बोकेका छन् । एउटा कविताको अनुपस्थितीमा पनि संग्रह नै अपूरो हुने खालको अवस्था पनि भेटिन्छ । कतै बाल्यकालका स्मृतिहरु झल्किएका छन्, कतै युवावस्थाका अनुभूतिहरु छन् । विवाहको दिन जन्मघरलाई माइतीघर बनाउनु पर्दाको स्मरण र पराईघरलाई आफ्नो घर बनाउनु पर्दाका बाध्यताहरु पनि कविताको रुपमा यहाँ उपस्थित भएका छन् ।

थामेर अँजुलीमा
पवित्र जलको पूर्णकलश
अनि
बल्दै गरेका दीपहरुबाट डामिएर
दिंदै चोखी भएको प्रमाण
जुन दिन प्रवेश गरेथें म तिम्रो गृहमा
निहुरेर चुपचाप
हो, त्यही पलबाट प्रारम्भ भएको हो
नयाँ जिन्दगीको मेरो अग्निपरीक्षा
ओ ! मेरो प्रियतमकी आमा !

(प्रियतमकी आमासित बाट)

यस्ता अनेक गुम्सिएका आवाजहरु, जसलाई समाजले वर्षौंदेखि दबाएर राखेको थियो, आवाज भएर पनि बोल्न नपाएका नारीहरुका यथार्थ आवाजहरु ओकलिएका छन् , ओक्कल दोक्कल पिपल पात भित्र । त्यसैले त यो आवाजविहिन नारीहरुको प्रतिनिधी जस्तै बनेको छ । मौनतामा थिचोमिचो सहनुपर्ने अवस्थालाई कविले यसमा अन्त्य गरेकी छिन् । शिखा बुक्स मार्फत बजारमा आएको यो कवितासंग्रह ०७५ सालको मदन पुरस्कार पाउनयोग्य सूचिमा परेको छ ।

विचारको लास

विचारको लास कथाकार ध्रुव सापकोटाको कथासंग्रह हो । यस कथासंग्रहमा संग्रहीत कथाहरू समसामयिक परिवेश झल्किने तथा अनौठा र पृथक विषयवस्तुमा आधारित रहेका छन् । संग्रहका कथाहरूले राजनीतिक विसंगतिप्रति तिखो र सशक्त व्यंग्य प्रहार गरेका छन् ।

प्रतीकात्मक शीर्षक तर आकर्षक कथावस्तु रहेका यस संग्रहका कथाले समाजमा बेग्लै खालको सकारात्मक सन्देश प्रवाह गर्न सक्ने अनुमान पनि गर्न सकिन्छ ।

कथासंग्रह पढ्दै गर्दा लाग्छ कथाकार धु्रव सापकोटा सामान्य जस्ता लाग्ने, तर असामान्य कथा लेख्न सक्ने खुबी भएका कथाकार हुन् । यसमा समाजमा रहेका, हुने गरेका र हुन सक्ने खालका घटनामा आधारित विभिन्न २१ वटा कथाहरु समावेश गरिएको छ ।

मान्छेभित्र लुकीछिपी बसेका छल, कपट र क्रूरता, मानसिक उल्झन, नैतिकता जस्ता विषयमा केन्द्रीत रहेको प्रस्तुत कथासंग्रह समाजको दर्पण जस्तै बनेको छ । विचारको लासले असामान्य चरित्र चित्रण, मानव जीवनको अकर्मण्यता, मूल्यहीनता र नैतिक पतनका साथै क्रूर यथार्थको चित्रण पनि गरेको छ ।

सरल भाषामा मधुर र ग्राह्य व्यंग्य गर्न सक्नु लेखकको खुबी यसमा प्रष्टै देखिन्छ । संग्रहका २१ कथामध्ये फ्रिडम हाउस, विचारको लास, गणतान्त्रिक माछा, मरेको मान्छेका नाममा खानेहरु, गरिबलाई भोक लाग्दैन, आदि कथाहरु नेपाली साहित्यकै ठूला उपलब्धि हुन् भन्दा फरक पर्दैन । यो पनि गतवर्षको मदन पुरस्कार पाउन योग्य ७ कृतिको सुचिमा परेको छ । उल्लेखित दुवै कृतिहरु शिखा बुक्सले बजारमा ल्याएको हो ।

Logo