फेरि अर्को आयो महिला समावेशीतामा ‘कार्पेट सलामी’

फेरि अर्को आयो महिला समावेशीतामा ‘कार्पेट सलामी’


काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा टेबुल, पिर्कामा उभिएर सलामी ग्रहण गरेका तस्बिर भाइरल बनिरहेका छन् । नगरपालिका प्रमुख, प्रदेशसभा सदस्यहरुले खेलकूद कार्यक्रममा सलामी ग्रहण गरेको तस्बिर चर्चामा आइरहेका हुन् ।

चर्काको सूचीमा फेरि अर्को तस्बिर परेको छ । यो पटक भने सलामीमा महिला समावेशिता देखिएको छ । सुर्खेतको चौकुने गाउँपालिका उपप्रमुख निर्मला राना मगर सलामी भाइरल सूचीमा जोडिएकी हुन् ।

जगनाथ मावि विजौराले केही महिना पहिला आयोजना गरेको खेलकूद कार्यक्रममा उपप्रमुख मगरले सलामी लिएकी थिईन् । तर यो तस्बिर अहिले आएर सामाजिक सञ्जालमा भाइरल बनेको हो । यसअघि धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपाल, ओखलढुंगाका प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङ, ओखलढुंगाकै प्रदेशसभा सदस्य मोहनकुमार खड्का पनि सलामी ग्रहण प्रकरणमा भाइरल बनेका थिए ।

नगर प्रमुख नेपाल टेबुल सलामी प्रकरणबाट भाइरल बनेका थिए । भने गुरुङ र खड्का पिर्का सलामी प्रकरणबाट भाइरल बनेका थिए । सामाजिक सञ्जालमा निकै भाईरल बनेपछि नगर प्रमुख नेपालले भने विज्ञप्ती जारी गर्दै गल्ती भएको स्वीकार गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपालले खेलकूद प्रतियोगिता सञ्चालक तथा खेलकूद समितिको अनुरोधमा प्लाष्टिकको टेबुलमाथि चढेर खेलाडीहरुको सम्मानमा सलामी दिएको बताएका थिए ।

गाउँपालिका उपप्रमुख मगरले भने कार्पेट सलामी पाएकी हुन् । हुन त यो तस्बिर आजभन्दा दुई महिना पुरानो हो । अन्य सलामी प्रकरण भाइरल भइरहेका बेला महिला समावेशिता भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई विवादमा तानेका हुन् ।

गाउँपालिकाले नै आयोजना गरेको खेलकूद कार्यक्रममा जाँदा आयोजकले सलामी प्रदान गरेको उपप्रमुख मगरले बताईन् । ‘यो त धेरै पुरानो हो । अहिले आएर भाईरल भएछ । म प्रमुख अतिथि बनेकी थिए । आयोजकले नै प्रमुख अतिथिलाई सलामी अर्पण गर्ने रहेको भन्दै सलामी दिएका थिए । तर यसमा मलाई दिन मिल्ने वा नमिल्ने केही थाहा छैन्’ उनले भनिन् ।

सामान्यतया खेलकूद क्षेत्रमा प्रमुख अतिथिलाई खेलाडीले सम्मान स्वरुप सलामी दिने प्रचलन रहिआएको खेलकूद क्षेत्रका विज्ञहरुको भनाई छ । खेलाडीले प्रमुख अतिथि र प्रमुख अतिथिले खेलाडीको सम्मानमा यस्तो सलामी दिने गरिन्छ ।

टेबुल सलामीका भाइरल मेयरले भने, ‘टेबुलमा चढेर सलामी लिनु गल्ती भयो’

Logo