‘क्लिनफिड’ बारे सेलिब्रेटी: कसले के भने ?

‘क्लिनफिड’ बारे सेलिब्रेटी: कसले के भने ?


टेलिभिजन सेवा प्रदायक कम्पनीहरुले सोमबार ३ बजेदेखि विदेशी च्यानलहरु २४ घन्टाका लागि बन्द गरेका छन् ।

प्रस्तावित विज्ञापन ऐन २०७६ प्रति असहमति जनाउँदै इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले संयुक्तरुपमा विदेशी च्यानलहरु बन्द गराएका हुन् ।

‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा विज्ञापनसहित आउने विदेशी च्यानलहरु नेपालमा प्रसारण गर्न नपाउने उल्लेख छ । ‘क्लिनफिड’ले नेपाली च्यानलहरुलाई धरासायी बनाउनुको साथै भारतबाट अबैध ढंगले भारतीय डिटीएचका सेटअफ बक्सहरु भित्रिने र त्यसले प्रत्यक्ष रुपमा नेपाली च्यानलहरुलाई प्रभावित पार्ने दाबी समितिले गरेको छ ।

सेलीब्रेटीहरु सकारात्मक 

सरकारको नीतिमा सेलिब्रेटीहरु भने सकारात्मक छन्। हाँस्यकलाकार हरिवंश आचार्यले सरकारी नीतिको पक्षमा स्टाटस लेख्दै  यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिक सहित नेपाली बिज्ञापन उद्योगको हित हुने बताएका छन्।  सरकारको निर्णयलाई हिम्मतिलो भन्दै उनले भनेका छन्, ‘एक पटक हैन पटक पटक सोचौ ।’

‘टेलिभिजन च्यानलका बिक्रेताहरुले २४ घण्टा विदेशी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । के यो विरोधले हामीलाई केहि असर गर्छ ? हामी नेपालीले २४ घण्टा विदेशी च्यानल हेर्न नपाउँदा हामीलाई केहि असर पर्छ ? नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु बिज्ञापन रहित हुनु हाम्रो लागि राम्रो हैन र ?’ उनले प्रश्न गरेका छन्।

त्यस्तै अर्का कलाकार दीपकराज गिरीले पनि सरकारी निर्णयको स्वागत गर्दै व्यंग्य गरेका छन् ।  नेपालीले महका चाका छोडेर डावर हनी खान थालेको भन्दै उनले लेखेका छन्, ‘ हामीले गॉउको महका चाका छोडेर डावर हनी खान थालेको धेरै भो, नेपाली जुत्ता, नेपाली खाना, नेपाली मनोरन्जनको स्थान अहिले बिदेशी ब्रान्डले लिएका छन्। कारण गुणस्तर मात्रै होइन, बिदेशी टेलिभिजनमा आउने बिज्ञापनको असर पनि हो।’ झन्डा बोकेर मात्रै राष्ट्रीयता नहुने भन्दै उनले लेखेका छन्, ‘बिदेशीलाई घुम्न बोलाउने हो यही स्थायी बसोबास गराउने होइन।’

 

 

अर्का कलाकार करिश्मा मानन्धरले पनि क्लिनफिड नीति सधैका लागि लागु हुनुपर्ने बताएकी छन्।  केहि नागरिकको फाइदा भन्दा देशको फाइदा सोच्नु भन्दै उनले लेखेकी छन्, ‘सुका बचाउन खोज्दा रुपिया गुमाए भने झै हुन्छ, दुरदर्शिता राख्यो भने यो देशको हितमा हुनेछ, हो केवल च्यानलहरुलाई अप्ठ्यारो पर्न सक्ला तर केहि नागरिकको फाइदा भन्दा देशको फाइदा सोच्नु पर्छ ।

त्यस्तै सेलेब्रेटी पत्रकार रवी लामिछानेले पनि पैसा तिरेर हेर्नुपर्ने बिदेशी च्यानलमा बिज्ञापन हुनु अन्तर्राष्ट्रिय मान्यता बिपरित भएको भन्दै सरकारी नीतिको समर्थन गरेका छन्। ‘बिज्ञापन हेरेको त उल्टो पैसा पाउनु पर्ने हो । ‘क्लिनफिड’ भयो भने नेपाली बजार चाहिने बिदेशी सामानहरुले नेपालमै बिज्ञापन बनाउछ्न । नेपाली मोडल, कलाकार ,प्राबिधिकले रोजगारी पाउछन् । बिज्ञापन एजेन्सी र नेपाली मिडियाको ब्यापार बड्छ, मुलुकको राजस्व बढ्छ।ब्यापार बढेपछि नेपाली टेलिभिजनहरुको गुणस्तर बड्छ । गुणस्तरीय नेपाली च्यानलबाट चित्त नबुझ्नेले महङ्गै भएपनि बिज्ञापन रहित बिदेशी च्यानल किनेर हेर्छन् । तुलनात्मक रुपमा नेपाललाई कयौ गुणा फाइदा छ ।’ उनले लेखेका छन्।

Logo