पूरै मुलुक लोडसेडिङमुक्तः तीन सिफ्ट चल्ने उद्योगलाई बढी फाइदा

काठमाडौँ

सरकारले औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाएको घोषणासँगै निजी क्षेत्रमा उत्साह थपिएको छ । लामो समय सम्म लोडसेडिङको विकराल समस्या भोगिरहेको औद्योगिक क्षेत्रमा उत्पादन थप वृद्धि हुने व्यवसायीले अपेक्षा गरेका छन् ।

डेढवर्ष अघि सर्वसाधरणलाई लोडिसेडिङ हटाएको विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा भने दैनिक सरदर ३ देखि ४ घन्टा लोडसेडिङ गरिरहेको थियो । आइतबार त्यो तीन घन्टाको लोडसेडिङ पनि हटाएको घोषणाले औद्योगिक क्षेत्रमा प्रतिस्पर्धा बढ्ने र उत्पादकत्व बढ्ने व्यवसायीको भनार्इ छ ।‘ औद्योगिक क्षेत्रमा लोडसेडिङ नगर्ने घोषणा खुसीको खबर हो,’ नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भने, ‘जुन मेहनत गरेर प्राधिकरणले सबै क्षेत्रलाई लोडसेडिङमुक्त गरेको छ, यसले धेरै राम्रो प्रभाव पार्नेछ ।’

उद्योग क्षेत्रमा लोडसेडिङ हटाउँदा प्रतिस्पर्धा थप बढ्ने आशा गरिएको छ । स्थापना भएका उद्योगले चाहेको विद्युत पाउँदा उत्पादन पनि बढ्नेछ । यसले प्रतिस्पर्धा बढाउने शर्माको भनार्इ छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि औद्योगिक क्षेत्रमा २४ सै घन्टा विद्युत उपलब्ध हुनु धेरै राम्रो भएको बताए । ‘दैनिक जेनेरेटर चलाउने अवस्थामा विद्युत उपलब्ध हुनु खुसी कुरा हो ।’ दैनिक २४ सै घन्टा चल्ने उद्योगले अहिले सम्म दिनको ३ देखि ४ घन्टा जेनेरेट चालाउनु पर्ने बाध्यता थियो । प्राधिकरणको आइतबारको घोषणाले त्यो समस्या पनि हल गरेको छ ।
नागरिकबाट