२९५ वटा बीस वर्ष पुराना सवारी विस्थापन

काठमाडौं

यातायात व्यवस्था विभागले २९५ वटा २० वर्ष पुराना सार्वजनिक सवारीसाधनको लगत कट्टा गरेको छ । यसैगरी ७९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका गाडीको पनि लगत कट्टाको प्रक्रियामा लगिएको छ । गत चैत १ गते देखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन नपाइने व्यवस्था गरी विभागले देशभर अनुगमन गर्दै आएको छ । २० वर्ष पुराना सार्वजनिक सवारी साधनलाई बन्द गर्ने सरकारको निर्णय अनुसार सो अभियान सञ्चालन भइरहेको हो ।

विभागका अनुसार नियन्त्रणमा लिइएका सार्वजनिक सवारीको कर चुक्ता गरी इन्जिन नम्बर नष्ट गरी लागत कट्टा गरिएको छ । हालसम्म यातायात व्यवस्था विभाग मेची अञ्चल कार्यालयले पाँचवटा गाडी नियन्त्रणमा लिएको छ । कोसीले २६ वटा गाडी नियन्त्रणमा लिएको छ भने आठ वटाको लगत कट्टा भइसकेको छ । पाँचवटा लगत कट्टाको प्रक्रियामा रहेको विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

त्यस्तै सगरमाथा अञ्चल कार्यालयले दुई वटा , जनकपुरमा दुई वटा सवारी नियन्त्रणमा लिइएकोमा दुई वटै सवारीका धनी लगत कट्टा प्रक्रियामा आएका छैनन् । नारायणीबाट सातवटा सवारी नियन्त्रणमा छन् । १४ वटा सवारीले लगत कट्टा गरिसकेका छन् ।

गण्डकीबाट हाल १८ वटा गाडी नियन्त्रणमा छन् । १८१ वटा गाडीको लागत कट्टा गरिएको छ । धौलागिरिमा हालसम्म एउटा गाडी पनि नियन्त्रणमा लिइएको छैन । लुम्बिनीमा पाँचवटा गाडी नियन्त्रणमा छन् भने ३४ वटाले लगत कट्टा गरिसकेका छन् । भेरी अञ्चलमा चारवटा नियन्त्रणमा छन् भने आठ वटाले लगत कट्टा गरिसकेका छन् । राप्तीमा दुईवटा नियन्त्रणमा लिइएको छ भने एउटाको पनि लगत कट्टा भएको छैन ।
गोरखापत्रबाट