दार्चुलामा पनि परिवारकै हत्या प्रयास: श्रीमतीको हत्या, श्रीमान र नाति घाइते

दार्चुलामा पनि परिवारकै हत्या प्रयास: श्रीमतीको हत्या, श्रीमान र नाति घाइते


दार्चुला । दार्चुलामा पनि एक परिवारकै हत्या प्रयास गरिएको छ । महाकाली नगरपालिका ३ काटैकी द्रोपति महराको हत्या गरिएको हो । उनका श्रीमान अन्दाजी ७५ वर्षका नरभान महरा र उनका नाती १२ वर्षका लोकेन्द्र महरा घाइते भएका छन् ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा उनीहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । द्रोपतिको टाउँकोमा काठले हिर्काएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।

प्रहरीले घटना के कसरी भयो भन्ने बारे अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुर मगाइएको डिएसपी शाहीको भनाई छ ।

सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिएको महाकाली नगरपालिका –३ का वडाध्यक्ष पदमसिंह महराको भनाई छ । खोला किनार नजिकै पसलमा उनीहरुमाथि कुटपिट गरिएको हो ।

गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको हो। घटनामा नाति भागेर बाँच्न सफल भएका छन्। वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ।

उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन्। बिहान गाउँबाट मान्छे आउँदा वीरभान गम्भीर घाइते र श्रीमती मृतावस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए। धनगढीबाट तालिमप्राप्त कुकुर नआउँदासम्मको लागि प्रहरीले घटनास्थलमा कसैलाई पनि प्रवेश गर्न दिएको छ । घटनास्थल सिल गरिएको छ ।

यसअघि जेठ ६ गते राति पाँचथरको माक्लाजुङमा पनि दुई परिवारका ९ जनाको हत्या गरिएको थियो । त्यसपछि जेठ १० गते झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा पनि एक महिला र उनका छोरीको हत्या प्रयास गरिएको थियो ।

 

Logo