चार हजार चार सय विद्यायलको पुनःनिर्माण

चार हजार चार सय विद्यायलको पुनःनिर्माण


काठमाडौं
भूकम्पबाट क्षति भएका चार हजार ४७६ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । सो काम दुई वर्षमा सम्पन्न भएको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का अनुसार एक हजार ७७२ विद्यालय निर्माणाधीन छन् भने ३९८ विद्यालय निर्माणका लागि छनोट भएका छन् । भूकम्पले ३२ जिल्लाका सात हजार ९२३ विद्यालयमा क्षति पुगेको थियो । यस बीचमा साढे तीन सय भन्दा बढी विद्यालय गाभिएकाले छ हजार ६४६ विद्यालय भवन निर्माण गरे पुग्छ ।

इकाइका अनुसार तीन हजार ५८३ भवन विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण गरिएको छ भने १३५ भवन निर्माण व्यवसायीमार्फत र ७५८ विद्यालय गैरसरकारी संस्थामार्फत निर्माण गरिएको छ । चार वर्षअघि भूकम्पले क्षति भएका सम्पूर्ण विद्यालय भवन निर्माण गर्न ४४ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएकोमा हालसम्म १७ अर्ब रुपियाँ खर्च भएको छ । शिक्षा पत्रकार सञ्जालले सोमबार आयोजना गरेको अन्तरक्रियामा इकाइका आयोजना निर्देशक इमनारायण श्रेष्ठले अझै २७ अर्ब रुपियाँ उपलब्ध भए बाँकी विद्यालय पुनःनिर्माणको कार्य सम्पन्न हुने बताउनुभयो ।

उहाँले आगामी आर्थिक वर्ष २०७६/७७ मा एक हजार ८०९ विद्यालय निर्माण गर्न ११ अर्ब रुपियाँ, आव २०७७/७८ मा नौ सय विद्यालय निर्माण गर्न नौ अर्ब रुपियाँ र आव २०७८/७९ का लागि सात अर्ब रुपियाँ माग गरिएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा एक हजार १४३ विद्यालयको निर्माण थालिएको र एक हजार ११९ विद्यालय निर्माण गर्न भर्खरै बजेट प्राप्त भएको छ ।

Logo