धुर्मुस सुन्तलीले मलेसियाबाट उठाए ५० लाख

धुर्मुस सुन्तलीले मलेसियाबाट उठाए ५० लाख


काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ मलेसियामा आयोजित कार्यक्रमबाट ५० लाख भन्दा बढी आम्दानी भएको जनाईएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको क्रिकेट रंगशालाको लागि आर्थिक सहयोगार्थ मलेसियामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली, गायक बद्री पंगेनी लगायतका कलाकारले प्रस्तुती दिएका थिए । उक्त कार्यक्रमबाट ५० लाख भन्दा बढी आर्थिक सहयोग संकलन भएको आयोजनकले जनाएको छ ।

मलेसियामा आयोजित कार्यक्रमप्रति केही व्यक्तिहरुले भ्रम सिर्जना गरेको भन्दै धुर्मुस सुन्तली फाउण्डेशले त्यसको भत्सना गरेको छ । सामाजिक सञ्जालमा उनीहरुले मलेसियामा आयोजित कार्यक्रमबाट नेपाल फर्किने समेत पैसा नउठेको भन्दै चर्चा अफवाह फैलाईएको भन्दै फाउण्डेशनका अध्यक्ष धुर्मुसले सांस्कृति कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिएका हुन् ।

भ्रामक कुराको पछि नलाग्न सबैलाई अनुरोध गर्दै धुर्मुसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलेसियामा रहनुभएका नेपाली दिदिबहिनी दाजुभाईहरुबाट हामीले सोँचे भन्दा पनि राम्रो साथ सहयोग र सदभाव पाएका छौं । यहि अभियानलाई लिएर फेरि केही समयपछि मलेसिया आउने निम्तो पनि पाएका छौं यसले हामिलाई थप हौसला मिलेको छ । यस पटकको यात्रामा प्राप्त सहयोग हामी नेपाल पुगे पश्चात जानकारी गराउने छौं । केही भ्रामक समाचारहरुमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न चाहान्छु।’

कार्यक्रममा आफुहरुलाई राम्रो साथ मिलेको भन्दै अर्को पटक पनि मलेसिया आउने निम्तो आएको धुर्मुसको भनाई छ । उनले हल्लाको पछि नलाग्न सबैलाई अनुरोध समेत गरेका छन् ।

रंगशाला निर्माणको सहयोगार्थ आर्थिक संकलन गर्न मलेसियामा कार्यक्रम गर्न लाग्दा विवाद सिर्जना गरिएको थियो । केही नेपालीहरुले उक्त कार्यक्रममा सहयोग नगर्न पनि सार्वजनिक आह्वान नै गरेका थिए ।

सामाजिक सञ्जालमा धुर्मुस सुन्तली पाउण्डेशनलाई एमालेको भातृ संगठन भनेर सम्बोधन गरिएको थियो । विभिन्न व्यक्तिहरुले फाउण्डेन मलेसियाबाट खाली हात बुङ्गो भएर नेपाल फर्किन लागेको भन्दै प्रचार गरेपछि धुर्मुसले प्रष्टिकरण दिएका हुन् ।

‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ मलेसियाको विभिन्न स्थानमा ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ आयोजना गरिएको थियो ।

फेबु्रअरी ५ देखी १० सम्म मलेसियाका ३ सहरहरुमा आयोजना गरिएको थियो । धुर्मुस सुन्तलीसँगै चर्चित कलाकारहरु बद्री पंगेनी, मेलिना राई, सम्झना भण्डारी लगायतका कलाकार पनि मलेसिया गएका थिए ।

हाल रङ्गशाला निर्माणको काम अघि बढिरहेको छ । नमुना नेपाल परियोजनाको लागि स्वदेशबाट, बिदेशबाट ३६ लाख ८६ हजार ३ सय ३१ रुपैंया ७४ पैसा संकलन भएको थियो ।

प्रारम्भिक तयारी र सर्वेका लागि ७४/७५ मा भएको खर्च २३ लाख १४ हजार २ सय १ सय रहेको छ । हाल फाउण्डेशनमा १३ लाख ७२ हजार १ सय २० रुपैंया ७४ पैसा सुरक्षित रहेको छ भने धुर्मुस सुन्तली फाउण्डेशनलाई मात्रै भनेर स्वदेशबाट बिदेशबाट प्राप्त रकम १ करोड ९५ लाख ५६ हजार ६ सय ६१ रुपैंया २६ पैसा फाउण्डेशनको खातामा सुरक्षित छ ।

सो रकम पनि ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई खर्चेर निर्माण कार्यलाई अगाडि बढाउने निर्णय धुर्मुस सुन्तली फाउण्डेशनले गरेको छ ।

Logo