बेञ्च बङ्ग्याएको भन्दै विद्यार्थीमाथि कुटपिट, प्रधानाध्यापकविरुद्ध उजुरी

बेञ्च बङ्ग्याएको भन्दै विद्यार्थीमाथि कुटपिट, प्रधानाध्यापकविरुद्ध उजुरी


पाँचथर । प्रधानाध्यापकको कुटाईबाट घाइते भएका विद्यार्थीका बावुले प्रधानाध्यापकविरुद्ध प्रहरीमा उजुरी गरेका छन् । फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटाईबाट घाइते भएका कक्षा ९ मा अध्ययनरत विद्यार्थी रोहित राईका बुवा सञ्जय राईले प्रहरीमा उजुरी दिएका हुन् ।

छोराको स्वास्थ्योपचारका लागि घाउ जाँचको प्रवन्ध मिलाई आवश्यक कागजात तयार गरिदिन प्रधानाध्यापक खत्रीलाई कानून बमोजिम कारबाही गर्न माग गर्दै राईले प्रहरीमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार कुटपिटबाट घाइते भएका विद्यार्थीलाई उपचारका लागि झापाको बिर्तामोड लगिएको छ ।

विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको आरोपमा कक्षा ९ का विद्यार्थीलाई प्रधानाध्यापक खत्रीले कुटपिट गरेका थिए । यस क्रममा राईले आफू उक्त काममा संलग्न नरहेको बताएपछि प्रधानाध्यापक खत्रीले उनीमाथि थप कुटपिट गरेको विद्यार्थीको भनाइ छ ।

विहीवार भएको घटनापछि विद्यार्थी राईले आफूलाई रिंगटा लाग्ने तथा टाउको दुख्ने समस्या भएको बताएका थिए। उनलाई सहपाठीहरुले पाँचथर जिल्ला अस्पतालमा भर्ना गरेका थिए ।

राईले टाउको दुखेको र रिंगटा लाग्ने समस्या वताउने गरेको अस्पतालका स्वास्थ्यकर्मीहरुको भनाई छ । टाउकोमा गम्भीर प्रकारको असर देखिन सक्ने भन्दै विद्यार्थी राईलाई शुक्रवार सिटी स्क्यानका लागि झापाको बिर्तामोड लगिएको प्रनाउ कुँवरले वताए ।

प्रधानाध्यापक खत्रीले भने आफूले सामान्य कुटपिट गरेको स्वीकारे । यसअघि समेत राईको चरित्र ठीक नभएको खत्रीले जिकिर गरेका छन् । उनले आफू ब्यक्तिगत कामले सदरमुकाम बाहिर गएपछि विद्यार्थी राईलाई अस्पताल भर्ना गरिएको भन्दै घट्ना नियोजित भएको दाबीसहित आफ्नो बचाउ गरे ।

यसैवीच जिल्लाका तीन विद्यार्थी संगठनहरुले प्रधानाध्यापक खत्रीलाई कानूनी कारबाहीको माग गरेका छन् । अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले विज्ञप्ती जारी गर्दै खत्रीलाई प्रधानाध्यापकलाई पदबाट बर्खास्त गर्न माग गरेका छन् । रासस

Logo