प्राप्त उपलब्धि सुदृढ पार्न राष्ट्रपति , उपराष्ट्रपति र प्रधानमन्त्रीको आह्वान : शहीद दिवसको शुभकामना

प्राप्त उपलब्धि सुदृढ पार्न राष्ट्रपति , उपराष्ट्रपति र प्रधानमन्त्रीको आह्वान : शहीद दिवसको शुभकामना


काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवसले सबैलाई शहीदको सपना साकार पार्नका लागि मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

शहीद दिवसका अवसरमा आज सन्देश दिँदै उहाँले विगतमा शहीदले गरेको योगदानको फलस्वरूप नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो जग बसेको जनाउँदै नेपालको संविधान बमोजिम पहिलो पटक स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचन भई प्राप्त ऐतिहासिक उलपब्धिलाई सुदृढ पार्ने प्रक्रियामा जननिर्वाचित संस्था र सरकार कटिबद्ध रहेको बताउनु भएको छ । “प्राप्त उपलब्धिको सदुपयोग गरी सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र सांस्कृतिक रूपले समृद्ध समाज निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान हुने विश्वास मैले लिएको छु”, सन्देशमा भनिएको छ ।

शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई सुदृढ पार्न सम्बद्ध सबैले आआफ्नातर्फबाट खेल्नुपर्ने भूमिका थप प्रभावकारी तुल्याउन सके शहीदप्रति वास्तविक सम्मान हुने राष्ट्रपतिले विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायत उपलब्धि प्राप्तिको मुख्य श्रेय शहीदलाई जाने बताउनुभएको छ । उहाँले आज शुभकामना सन्देश दिँदै नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेको तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेका सन्दर्भमा शहीदको सपना साकार पार्न सबै पक्ष एक भएर लाग्नुको विकल्प नभएको स्पष्ट गर्नुभएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शहीदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले राणाशासविरुद्ध १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको बताउनु भएको छ ।

“पुस्तौँदेखि अनवरत रुपमा लोकतन्त्रका निम्ति सङ्घर्ष गर्दै नेपाली समाज सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “राजनीतिक सङ्क्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रीकृत भएका छौँ ।”

उहाँले समाज रुपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा मात्र शहीदप्रति सच्चा श्रद्धान्जलि व्यक्त गरेको ठहरिने बताउँदै देशको आर्थिक सामाजिक रुपान्तरणको प्रक्रियामा सहभागी भई नेपाल आमाका ती महान् सपूतप्रति साँचो अर्थमा श्रद्धाञ्जलि अर्पण गर्न सबैमा आह्वान गर्नुभएको छ ।

रासस

Logo