डिफेन्डर अनन्त तामाङलाई एन्फाको माफी

डिफेन्डर अनन्त तामाङलाई एन्फाको माफी


राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल्न पाउने भएका छन् ।

दुई ठूला क्लबबाट सम्झौता गरेपछि उनी जारी लिग खेल्नबाट वञ्चित हुँदै आएका थिए । अनन्तबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार बाहिर आएपछि लिग खेल्न दुवै थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लबसँग सम्झौता गरेका उनलाई अन्तिम समयमा दुवै क्लबले फुकुवा गर्न सहमति जनाएका हुन् ।

दुवै क्लबले अनन्तको अनुबन्धन सम्झौता आफूसँग रहेको जिकिर गर्दै प्रतिद्वन्द्वी क्लबबाट खेल्न नदिने अडान लिएका थिए । सोही अडानका कारण राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी अनन्तको खेल भविष्य नै जोखिमपूर्ण बनेको थियो ।

आज दुवै क्लबका पदाधिकारी अखिल नेपाल फुटबल सङ्घ (एन्फा) गएर दुवै क्लबको सूचीमा रहेका अनन्तको नाम फिर्ता लिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

दुवै क्लबले खेलाडी दर्ताबाट अनन्तको नाम फिर्ता लिने भएपछि उनी एन्फाको कारवाहीबाट समेत जोगिने भएका छन् । दुवै क्लबसँग अनन्तले सम्झौता गरेको भेटिएपछि एन्फाले उनलाई कारवाहीको तयारी गरेको थियो ।

“खेलाडीको भविष्यलाई हेरेर अनन्तको नाम फिर्ता लिने निर्णय ग¥यौँ” थ्रीस्टार अध्यक्ष अरुणमान जोशीले भने, “फुटबलकै विकासमा लागेको हुनाले खेलाडीले गल्तीलाई माफ दिने विषयमा दुवै क्लबबीच सहमति जुटायौँ ।”

मङ्गलबार साँझ थ्रीस्टार र मनाङका पदाधिकारीको अनौपचारिक बैठक बसेर अनन्तको नाम दुवै क्लबले फिर्ता लिने विषयमा सहमति जुटाएका थिए ।

थ्रीटार र मनाङ दुवै क्लबमा नरहने भएपछि अनन्तले अब लिगका बाँकी चार चरणका खेलहरू ती दुई क्लब बाहेकका क्लबबाट खेल्न बाटो खुलेको छ ।

जारी लिगमा नवौँ चरणका खेल आजदेखि सकिँदै छ । लिगका लागि थ्रीस्टारसँग सम्झौता हुँदाहुँदै उनले यस वर्ष मनाङसँग सम्झौता गरेपछि विवाद शुरु भएको थियो । एउटा खेलाडीले दुईवटा क्लबबाट सम्झौता गरेमा एक वर्षसम्म खेल्न नपाउने गरी कारबाही गर्ने एन्फाको प्रतियोगिता नियमावलीमा छ ।

Logo