काठमाडौं महानगरको महाविजोग

काठमाडौं महानगरको महाविजोग


काठमाडौँ

आइतबार दिउँसो ४ बजे । काठमाडौं महानगरपालिका टेकु शाखाका कर्मचारी कार्यालय समयमा तास खेलिरहेका थिए । फुटपाथ व्यापारीका रिक्सा, ठेलागाडा र साइकलको डंगुर कार्यालय परिसरमा बग्रेल्ती थियो। नगर प्रहरी र कर्मचारी भने कार्यालयभित्र तास लेखिरहेका थिए । कोही पलेटी कसेर तास खेलिरहेका थिए, कोही उभिएर हेरिरहेका थिए ।

सुन्धारास्थित महानगरपालिकाको भवन भूकम्पले भत्काएको छ । जीर्ण भवनको कोठा नम्बर १०४ मा दुई जना कर्मचारी बसिरहेका थिए । दुई जना सेवाग्राही पनि थिए । कर्मचारी भन्दै थिए, ‘मैले दिने सुझाव यति हो । उमेर बढाएर बनाउनुस् अब । मैले गरेँ भने एक कल फोनको काम हो यो ।’ सेवाग्राही अलमल परे । निरास हुँदै घाम ताप्न निस्किए । चौरमा गएर दुईजना सल्लाह गर्न थाले । महिला सेवाग्राहीले भनिन्, ‘उमेर बढाएर बनाउनु पर्‍यो अब । फेरि उनीहरुलाई खुवाउनु पनि पर्‍यो ।’ एकछिन घाम तापेर फेरि कोठा नम्बर १०४ मा छिरे । निर्देशकलाई भेट्न खोजे । कार्यालयका निर्देशक बसन्त आचार्य दिनभर कार्यालयमा देखिएनन् । कर्मचारीले भने, ‘पल्लो बिल्डिङतिर सोध्दै जानू । उतै भेटिन्छ ।’ उनीहरु निर्देशक खोज्दै गए ।

सेवाग्राहीले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई भेट्न तिन तहको सुरक्षा घेरा पार गर्नुपर्छ । जेडिसी भवनको छैंठौं तलामा उनी अङ्ग रक्षकले घेरिएर बस्छन् । उनलाई भेट्न जाँदा ढोका वरपर ‘वाकीटकी’ बोकेका सुरक्षाकर्मी देखिन्छन् । तिनैले सेवाग्राहीलाई सुरुमा केरकार गर्छन् । त्यसपछि उनले डेस्कमा पठाइदिन्छन् ।

३ चरणको सुरक्षा घेरापछि बल्ल मेयरलाई भेट्ने पालो आउँछ । तर मेयरका पिए र सुरक्षाकर्मीसँग चिनजान छ भने माथिका प्रकृयाहरु पूरा गर्नुपर्दैन। सिधासाधा मानिस वेटिङ रुममा कुरिरहेका भेटिन्छन्, टाइसुट लगाएकाहरु सिधै भित्र पस्छन् ।
अन्नपूर्णबाट

Logo